२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

झरी पर्ने दिन क्रमशः घट्दै

काठमाडौँ– नेपालमा विगत तीन दशक बढी समयको मौसमी तथ्याङ्क केलाउँदा झरी पर्ने दिन क्रमशः घट्दै गएको देखिएको छ। एक्कासि मुसलधारे पानी पर्ने क्रम भने बढ्दो छ।     

कम्तीमा तीन दिनसम्म लगातार एकदेखि १० मिलिमिटरसम्म निरन्तर वर्षा हुने क्रमलाई सामान्यतया झरी भनिन्छ। यो मौसमी अवस्था सन् २००० देखि त झन तीव्ररुपमा घटेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कले देखाउँछ।     

सन् १९८० देखि २०१५ सम्मको मनसुन अवधि (जुनदेखि सेम्टेम्बर) को प्राप्त विवरण विश्लेषण गर्दा त्यस्तो प्रवृत्ति देखिएको विभागका वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेल बताउछिन्। विभागले मुलुकभरका २८ मौसमी सूचना केन्द्रबाट लिएको तथ्याङ्कलाई विश्लेषण गरेको हो।

उनी भन्छिन्, “पहिलेको तुलनामा झरी पर्ने दिन क्रमशः घट्दो छ, एक्कासी वर्षा हुने क्रम भने बढ्दो छ। जुन तथ्याङ्कमा पनि स्पष्ट हेर्न सकिन्छ।”     

नेपालमा यस वर्ष हालसम्म एकै दिनमा सबैभन्दा बढी वर्षा जनकपुरमा भएको तथ्याङ्क अभिलेख छ। यस वर्ष जुलाई १३ मा जनकपुरमा २ सय ८३ दलमलव आठ मिलिमिटर पानी परेको थियो।

त्यस्तै जुन १५ मा एकैदिन सबैभन्दा बढी वर्षा सुनसरीको तरहरामा १ सय १५ दशमलव पाँच मिलिमिटर र अगष्ट १७ लुम्लेमा १ सय ८० दशमलव नौ मिलिमिटर वर्षा भएको तथ्याङ्क छ।     

मुसलधारे वर्षाले विपद बढ्दै     
जलवायु परिवर्तनका असरका कारण विगतको तुलनामा लगातार झरी पर्ने दिन घटेको र मुसलधारे पानी पर्ने दिन बढेको मौसमविद्को भनाइ छ। एकै दिनमा एक सय मिलिमिटरभन्दा बढी वर्षा हुने क्रम बढेको छ। त्यसले विपदका घट्नासमेत बढेको बताइएको छ।     

जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशकसमेत रहिसकेका जल तथा ऊर्जा आयोगका सहसचिव ऋषिराम शर्मा मुसलधारे वर्षाले नेपालको भू–उपयोग, विकास निर्माण, अव्यस्थित बस्तीमा ठूलो असर पार्ने गरेको बताउँछन्।    

उनी भन्छन्, “एक्कासी ठूलो पानी पर्नाले कृषि बालीनालीमा असर पर्ने, बाढी पहिरोलगायत विपदका घटना बढेका छन्। शहरका ढलको क्षमताले धान्न नसकेर बाटाघाटा जलमग्न हुने गरेका छन्। साना खोलामा एक्कासी बाढी नै आउने गरेको छ।” वर्षामा आएको यो परिवर्तन जलवायु परिवर्तनका असरको परिणाम भएको सहसचिव शर्मा बताउँछन्।     

विश्वव्यापीरुपमा तापक्रम र हरित ग्यास उत्सर्जनमा भएको वृद्धिले जलवायुमा आएको परिवर्तनबाट मौसमी प्रणालीमा समेत असर देखिएको हो। नेपाल जस्तो कमजोर पहाडी भू–भागमा एक्कासी पर्ने मुसलधारे वर्षाले एकातिर पहिरो जानेक्रम बढेको र अर्कोतिर पानीका मूलमा पनि पानीको मात्रा घटेको भूगर्भविद्को भनाइ छ।     

विस्तारै र निरन्तर वर्षा हुँदा जमीनले पानी सोस्ने र त्यो पानी विस्तारै मुल फुटेर बग्ने गरेको बताउँदै भूगर्भविद डा. कृष्ण देवकोटा भन्छन्, “आकाशबाट एक्कासी ठूलो वर्षा हुँदा जमीनले सोस्न नसकेपछि पहिराको जोखिम बढ्छ। ठूलो पानीको व्यवस्थापन नहुने र पहिरोसँगै लेदो माटोसमेत बगेर जाने त्यसपछि तत्लो तटीय क्षेत्रमा समेत विपद निम्तिने गरेको छ।”     

एक्कासी पर्ने मुसलधारे वर्षाका कारण जमीनले पानी सोस्न नपाएर मूलमा पनि पानीको मात्रा घट्ने र यसले पानीका स्रोतमा समेत असन्तुलन हुने भूगर्भविद् डा. देवकोटाको भनाइ छ।

साथै अहिले पहाडमा जथाभावी सडक खन्ने प्रवृत्ति बढेको र त्यो खनेको जमीनमा एक्कासी हुने ठूलो वर्षाले माटो बगाइ पहिरो जानेक्रम बढेको छ।    

मनसुन प्रवेश गर्नेक्रम पछाडि धकेलिँदै   
सामान्यतया नेपालमा मनसुन प्रवेश गर्ने मिति जुन १० मानिन्छ भने सेप्टेम्बर २३ सम्म मनसुन कायम रहन्छ। यो वर्ष नेपालमा मनुसुन १० दिन ढिला अर्थात् जुन २० मा प्रवेश गरेको हो।     

विगत १८ वर्षको अवधि हेर्दा नेपालमा पाँच वर्ष मात्र जुन १० अघि मनसुन प्रवेश गरेको छ भने अरु वर्ष ढिला नै प्रवेश भएको छ। त्यस्तै मनसुन कायम रहने मिति पनि पछाडि धकेलिएको छ। मौसमविदले यसलाई पनि जलवायु परिवर्तनको असर हो भनेका छन्।

मनसुन प्रवेश गर्ने र कायम रहने मितिमा आएको परिवर्तनले खासगरी कृषिमा असर पारेको छ भने मानिसको जीवनशैलीलाई प्रभावित पारेको छ।     

गत १८ वर्षको मौसमी तथ्याङ्क हेर्दा सन २००२ बाहेक सबै वर्ष मनसुन औसतभन्दा ढिलासम्म सक्रिय रहेको छ। सन् २०१३ मा त नेपालमा अक्टोबर १९ सम्म मनसुन सक्रिय रहेको विभागका वरिष्ठ मौषमविद् डा. कँडेल बताउछन्।     

नेपालमा मुख्यगरी मनसुन बङ्गालको खाडीबाट प्रवेश गर्छ। केहीमात्रामा अरेबियन सागरबाट समेत प्रवेश गर्ने गरेको छ। दुवै क्षेत्रबाट नेपाल प्रवेश गर्ने जलवाष्पयुक्त मनसुनी हावा नेपालमा एकैसाथ प्रवेश हुँदा भीषण वर्षा हुने गरेको छ। नेपालमा हिउँदमा वर्षा गराउने पश्चिमी वायु भने भूमध्यसागरबाट प्रवेश गर्छ।     

नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको चार महीनामा मनसुनको समयमा कूल वर्षाको ८० प्रतिशत वर्षा हुन्छ। यसैगरी प्रि मनसुनको समय (मार्चदेखि मेसम्म) मा करीब १२ प्रतिशत, मनसुनपछि (अक्टोबर र नोभेम्बर) चार प्रतिशत र हिउँद (डिसेम्बरदेखि फेब्रुअरी) तीन दशमलव पाँच प्रतिशत वर्षा हुने गरेको छ।रासस

प्रकाशित: १२ भाद्र २०७६ १०:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App