अत्यावश्यक सवारी चालक अनुमति पत्र (लाइसेन्स) को छपाइ कार्य अनिश्चितकालका लागि रोकिएको छ।
यातायात व्यवस्था विभागले आइतबार सार्वजनिक सूचना जारी गर्दै प्रिन्टिङ प्रणालीमा समस्या देखिएको कारण लाइसेन्स छपाइ बन्द गरिएको जानकारी गराएको हो।
प्रिन्टिङ मेशिनमा देखिएको प्राविधिक समस्याका कारण विदेश अध्ययन, रोजगारी, शान्ति सैनिक मिसन तथा गैरआवासीय नेपालीका लागि जारी गरिँदै आएको अत्यावश्यक लाइसेन्सको छपाइ कार्य गत बिहीबारदेखि स्थगन गरिएको विभागले जनाएको छ।
विभागका सूचना अधिकारी गणेशमानसिंह राईका अनुसार हाल सर्वसाधारणका लागि समेत सवारी चालक अनुमति पत्रको छपाइ सेवा प्रभावित भएको छ। ‘अत्यावश्यक लाइसेन्स मात्र होइन, सबै सेवाग्राहीको लाइसेन्स छपाइ नै रोकिएको छ,’ उनले बताए।
विभागले समस्या समाधानका लागि प्राविधिक प्रयास जारी रहेको जनाउँदै अर्को सूचना प्रकाशित नभएसम्मको लागि लाइसेन्स छपाइ कार्य बन्द नै रहने स्पष्ट पारेको छ।

प्रकाशित: २८ वैशाख २०८२ १५:२४ आइतबार





