२८ चैत्र २०८१ बिहीबार
image/svg+xml ३:६ पूर्वाह्न
समाज

पाथीभरा केबलकार विवाद: ‘नो केबलकार’ पक्षका १८ जना अझै प्रहरी नियन्त्रणमा

फाइल तस्बिर

ताप्लेजुङ प्रहरीले फागुन १० गते साँझ फुङलिङको वीरेन्द्र चोकमा भएको घटना पछि ‘हुलदङ्गा र आपराधिक उपद्रव’गरेको अभियोगमा ‘नो केबलकार’पक्षका १८ जना नियन्त्रणमा रहेको बताएको छ ।

प्रहरी नियन्त्रणमा रहेका १८ जनामध्ये ४ जना भने विभिन्न कसुरमा यसअघि नै सजाय पाएका व्यक्तिहरू समेत रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार पटके मुद्दामा देखिएका ४ जनामध्ये कसैको सार्वजनिक अपराध,कसैको अभद्र व्यवहार र कसैको लागु औषध विरुद्धको कसुर देखिएको छ । 

प्रहरीले पहिलो पटक १५ जना र विभिन्न समयमा गरी ३ जना गरी १८ जना नियन्त्रणमा रहेको बताएको छ । पछिल्लो पटक पाँचथरको याङवरक गाउँपालिका वडा नं २ का ४३ वर्षीय इन्दिरा शर्मा धौराली,ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ५ बस्ने ३७ वर्षीय सुवास तुम्बाहाम्फे र सोही गाउँपालिका वडा नं ६ बस्ने २९ वर्षीय सन्दीप लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

ताप्लेजुङका ३ सहित पाँचथर, सुनसरी, झापा, मोरङ र तेह्रथुमका समेत गरी १८ जना आफ्नो नियन्त्रणमा रहेको प्रहरीले बताएको छ । मुम्कुमलुङ(पाथीभरा)पदयात्रा सकेर फर्किएको ‘नो केबलकार’पक्षले फुङलिङमा प्रदर्शन गरेको राँके जुलुस नियन्त्रण गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको थियो ।

झडपमा दुवैतर्फका गरी कम्तीमा २४ जना घाइते भएका थिए । आन्दोलनरत पक्षले भने ३० भन्दा बढी आफ्ना कार्यकर्ता पक्राउ परेको दाबी गरेको थियो । प्रहरीले सुरुमा १५ र त्यसपछि ३ जना गरी नियन्त्रणमा रहेका १८ जनाको नाम सार्वजनिक गरेको छ । 

प्रकाशित: १६ फाल्गुन २०८१ १४:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App