२७ चैत्र २०८१ बुधबार
image/svg+xml १०:५४ पूर्वाह्न
समाज

दमक झडपबारे प्रहरी भन्छ: बन्दकर्ताले ढुंगामुढा प्रहार गरेपछि अश्रृग्यास हान्यौँ

इटहरीको चौरास्त चोकको बिचमा बन्दकर्ता र त्यसको बाहिरी घेरामा सुरक्षाकर्मी । तस्बिर: नागरिक

ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विरोधमा पहिचान पक्षधरले गरेको आन्दोलनका क्रममा झापाको दमकमा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ । प्रहरीले केही राउन्ड अश्रृग्यास प्रहार गरी आठ जनालाई नियन्त्रणमा लिएको छ । 

मुकुम्लुङ संरक्षण अन्तर दलीय संघर्ष समितिले आइतबार र सोमबार गरी दुई दिन अरुणपूर्वका ९ जिल्लामा बन्दको आह्वान गरेको छ । यही क्रममा दमक वडा नं. ६ को गणतन्त्र चोकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनको नेतृत्वमा रहेको समूहले टायर बालेर सडक अवरोध गर्ने क्रममा प्रहरी र बन्धकर्ताबिच झडप भएको हो । झडपका क्रममा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि अश्रृग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी एसपी मिलन केसीले बताए ।

‘बन्दकर्ताले सडक अवरोध गरेको बेला खुलाउन खोज्दा ढुंगामुढा प्रहार गरेकाले गर्दा अश्रृग्यास प्रहार गरिएको हो,’ उनले भने । त्यस क्रममा प्रहरीले आठ जनालाई नियन्त्रण लिएको उनले बताए । उनका अनुसार पक्राउ परेका आठै जनालाई माथिबाट जे निर्णय हुन्छ, सोही अनुसार प्रक्रिया अगाडि बढाउनेछ ।

ताप्लेजुङको पाथीभरा क्षत्रमा नो केवलकार भन्दै आन्दोलनका उत्रिएका आन्दोलनकारीले  सुनसरीको इटहरीमा बिहानैदेखि इटहरीको चौरास्त चोकमा भेला भएर सडक अवरोध गरे । बन्दकर्तालाई चौरास्त चोकमा प्रहरीले कडा सुरक्षा दिएर राखेकाले गर्दा अन्यत्र उनीहरुले कुनै गतिविधि गर्न पाएनन् । बन्दकर्ता चौरास्त चोकमा मात्र सीमित भएकाले गर्दा चौरास्त चोकबाहेक अन्यत्र स्थानबाट बाइपास हुँदै सवारी साधनहरु सञ्चालन भए । बन्दकर्ताको अवरोधले गर्दा लामो तथा छोटो दुरीका अरु दिनजस्तो बाक्लो भने सञ्चालन भएनन् ।

धरानमा बन्दाकर्तामध्येबाटै उच्छृङ्खल कार्य गर्ने सात वटा मोटरसाइकलसहित छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । धरान र इटहरीबाहेक जिल्लाका अन्य स्थानमा भने खासै प्रभाव परेन । 

पूर्वका पहाडी जिल्ला ताप्लेजुङ, धनकुटा, इलाम, पाँचथर, तेह्रथुम र सङ्खुवासभामा बन्दको आंशिक प्रभाव परियो । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङ सडक खण्डमा लामो तथा छोटो दुरीका सवारी साधन कमै मात्रमा सञ्चालनमा भए । पूर्वका नौ जिल्लामा शैक्षिक संस्था, कलकारखाना र बजार भने बिहानैदेखि सञ्चालन भए । 

प्रकाशित: २० माघ २०८१ १८:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App