जिल्लाको पश्चिमी प्रशासनिक तथा व्यापारिक केन्द्रको सुरक्षा जिम्मा पाएको इलाका प्रशासन कार्यालयका लागि अत्याधुनिक भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । इलाका प्रशासनका लागि कटारी नगरपालिका ३ कटारीस्थित कान्छी बजारमा साढे ३ तले भवन निर्माण सम्पन्न भएको हो ।
२ वर्षअघि शिलान्यास भएको उक्त भवन सङ्घीय सरकारको ५ करोड ६३ लाख २० हजार ९ सय ८१ रुपैयाँ ७६ पैसामा ठेक्का सम्झौता भएको हो । जिल्लाको पश्चिमी भेगका कटारी नगरपालिका, ताप्ली गाउँपालिका तथा उदयपुरगढी गाउँपालिकाका केही वडा बासीको सहज सेवाका लागि कटारीमा दशकअघिदेखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आएको हो ।
इप्रका प्रमुख उपसचिव कोपिला थुलुङ राईका अनुसार भवन लगभग सम्पन्न भईसकेको छ भने उद्घाटन गर्ने तयारी भइरहेको छ । ‘भवन बनिसक्यो भन्दा हुन्छ, तर ठेकेदारले हामीलाई हस्तान्तरण भने गरेको छैन’ प्रमुख राईले भनिन् ‘केही दिनभित्रै हस्तान्तरण गर्ने भनिएको छ, हस्तान्तरणपछि उद्घाटन गछौँ र कार्यालय सञ्चालन हुन्छ ।’ निर्माण कम्पनीलाई उद्धृत गर्दै उनले बताए अनुसार भवनको अन्तिम किस्ता भुक्तानी बाँकी रहेकाले हस्तान्तरण हुन समय लागेको हो ।
भवन निर्माणको जिम्मा मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, नयाँ वानेश्वरले २ वर्षभित्र निर्माण सक्ने गरी २०७९ असारमा सम्झौता गरेर काम थालेको थियो । निर्माण प्रतिनिधि इन्जिनियर सुरेन्द्र जयसवालले भवन निर्माण सम्पन्न भईसकेको र हस्तान्तरणको तयारी भइरहेको बताए । जयसवालका अनुसार अन्तिम किस्ता भुक्तानी पाउन पनि बाँकी रहेकाले भुक्तानी पाउने बित्तिकै भवन हस्तान्तरण गर्ने तयारी भइरहेको छ ।
कटारीमा २०६९ चैत्रदेखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आएको हो । सदरमुकाम गाईघाटसँग भौगोलिक दूरी टाढा हुँदा पश्चिम पहाडी भेगका सर्वसाधरणलाई सेवा सहज बनाउन कटारीमा इलाका प्रशासन कार्यालय खोलिएको हो । त्यहाँबाट प्रशासनिक काम सुरु भएपछि पश्चिमी भेगका सर्वसाधारणलाई सेवा लिन सहज भएको हाकिम राईले बताइन् । उनका अनुसार सरदर दिनमा २ दर्जन बढी सर्वसाधारण लाभान्वित हुँदै आएका छन् ।
प्रकाशित: २३ पुस २०८१ १८:३७ मंगलबार