१७ माघ २०८१ बिहीबार
image/svg+xml
समाज

रेमिटेन्स भित्र्याउनेको कथा: इजरायलमा रमाएका ‘केयरगिभर’ शिवराज

हमास युद्ध सुरु भएदेखि अवरुद्ध हुन पुगेको इजरायलमा काभ्रेका शिवराज खड्का रमाइरहेका छन्। कहिले कोभिड १९ त कहिले हमास युद्धले त्रसित भएका शिवराज अहिले इजरायल भूमिको काममा व्यस्त छन्।

पाइलट प्रोजेक्ट ‘स्याहार क्षेत्र’ अर्थात् केयरगिभरका रूपमा सन् २०१८ मा इजरायल पुगेका उनी आफ्नो कामप्रति संवेदनशील छन्। गाउँबाट काठमाडौं पढ्न झरेका शिवराज आफ्नो पढाइसँगै १० वर्ष उपत्यकामा पसिना चुहाउँदा पनि केही उपलब्धि नभएपछि बिदेसिएका हुन्।

बिदेसिनुपहिले काठमाडौंमा हुँदाको अनुभव इजरायली भूमिमा रमाएका शिवराजले सामाजिक सञ्जालमार्फत नागरिकसँग भने, ‘एक जोर वस्त्र र चप्पलमा गाउँबाट काठमाडौंमा झरेर पढाइ सँगसँगै कामलाई ध्यान दिएँ। १० वर्ष अरूको नोकर भएर काम गर्दा पनि केही सफलता हासिल गर्न सकिएन। सबैजना बिदेसिँदै गर्दा मलाई पनि त्यो लत लाग्यो।’

वैवाहिक जीवनमा बाँधिएका उनी दुई छोरीलाई राम्रो पढाउँछु भन्दै इजरायल पुगेको पनि सात वर्ष भइसकेको छ। आफ्नै देशको आँगनमा रमाउने चाहनाभन्दा धेरै उनलाई छोरीहरूको भविष्यले अझै पिरोलिरहेको छ।

‘मेरा आँखाका नानीहरू हुन्, मेरा छोरी। उनीहरूकै लागि विदेश आएको हुँ। कान्छी छोरी स्कुल लेभल पढ्दै छिन् भने जेठी ‘प्लस टु’ मा साइन्स। उनको चाहना डाक्टर बन्ने छ। छोरीको डाक्टरी बन्ने चाहना पूरा गर्न अझै तीन–चार वर्ष इजरायलमै बस्छु’, छोरीहरूको उज्ज्वल भविष्यका लागि विदेशमा पसिना बगाउँदै गरेका शिवराजले नागरिकसँग भने, ‘विदेश आएपछि सबैको रहर हुन्छ, काठमाडौंमा घर घडेरी जोड्ने। मैले छोरीहरूको पढाइसँगै काठमाडौंमा घडेरी त जोडे अब घर बनाउन पनि बाँकी छ।’

इजरायलमा केयरगिभरका रूपमा अपांग तथा अशक्त बिरामी हेर्ने काममा व्यस्त रहेका उनी शनिबार भने घुम्न पनि निस्कने गर्छन्। ‘यहाँ मैले काम गर्ने भनेको पाँच दिन हो। तर, शुक्रबार र शनिबार काम गरेको ‘ओभर टाइम’ मा गन्ती हुन्छ। यहाँ युद्धले गर्दा बाहिर निस्कने माहोल त्यस्तो राम्रो नभएर पनि मैले काम गर्ने घरनजिकै कतै पार्कतिर गएर रमाउने गरेको छु’, उनले भने। यहाँ घरभित्रै काम गर्ने भएकाले आफूलाई निकै सहज भएको शिवराजले बताए।

इजरायलमा कामदारका लागि सेवासुविधा धेरै राम्रो छ। नेपालीलाई यहाँ केयरगिभरको काममा बढी अवसर र राम्रो व्यवस्थासँगै सुविधा छ। इजरायलमा केयरगिभर मात्रै नभई कृषि र अन्य क्षेत्रमा पनि नेपालीका लागि राम्रो सुविधा भएको उनले आफ्नो अनुभव सुनाए।

इजरायली मासिक सात हजार (नेपाली दुई लाख करिब ७० हजार रूपैयाँ) कमाउने शिवराजलाई बाह्य देशबाट त्यहाँ पुगेका श्रमिकलाई गरिने व्यवहार र अधिकार मन परेको बताउँछन्। ‘इजरायलमा श्रमिकलाई कुनै शोषण, तलब नदिने, काममा धेरै दलाउने त्यस्तो केही छैन’, उनले भने, ‘यदि त्यस्तो भएको अवस्थामा यहाँ श्रमिकको पक्षमा लड्ने कवलावेद भन्ने सामाजिक संस्था छ। उक्त संस्थाले श्रमिकै पक्षमा निःशुल्क रूपमा बहस गरेसँगै सरकारी वकिलसमेत खटाउने व्यवस्था छ। पीडित कामदार भएसँगै उनीहरू सुविधाबाट वञ्चित छन् भने श्रमिककै पक्षमा यहाँ अधिकार पनि छ।’

विदेशी कामदार होस् वा स्वदेशी सबैका लागि कानुन बराबरी छ। कहिलेकाहीं कामदार मानसिक तनावमा जान सक्छन्। त्यस्तो बेलामा रोजगारदाताले एजेन्सीलाई सम्पर्क गराएर सामाजिक कार्यकर्ता (सोसियल वर्कर) घरमै आएर परामर्श दिने गरेको शिवराजको अनुभव छ। श्रमिकको हक अधिकारका लागि रोजगारदातासँग लडेर श्रमिकका पक्षमा बोलिदिने सबैभन्दा राम्रो वातावरण इजरायलमा रहेको उनले बताए।

नेपालमा एक करोडभन्दा बढी विप्रेषण भिœयाएका शिवराजलाई घरपरिवारले अब दुःख गर्नुपर्दैन भने पनि केही समय अझै विदेश बस्ने निर्णयमा पुगेका छन्। ‘नेपाली परम्पराअनुसार बिदेसिएकाले केही पैसा कमाएपछि स्वदेश फर्कन आग्रह गर्छन्। अब धेरै विदेश बस्नु पर्दैन भन्छन्, तर मेरो इच्छा र चाहना पूरा नगरी नेपाल फर्कन मन छैन’, सबल र सक्षम भएर नेपाल आउन मन भएको प्रवासी नेपाली मञ्च इजरायलका उपाध्यक्ष रहेका शिवराजले नागरिकसँग बताए।

नेपालले वर्षौंदेखि इजरायलमा केयरगिभरका रूपमा कामदार पठाउँदै आएको छ। प्रायः नेपाली त्यहाँका ज्येष्ठ नागरिकको स्याहारका लागि जाने गरेका छन्।

युद्धका कारण अवरोध हुनुअघि कोभिड महामारीका बेला पनि त्यस्ता कामदार पठाउने प्रक्रिया रोकिएको थियो। भाषा तथा दक्षतालगायतका परीक्षण पूरा गरेका नेपाली कामदारलाई सरकारले इजरायल जान अनुमति दिएको छ।

इजरायल सरकारी सूचनामा जनाइएअनुसार इजरायल जाने कामदारले त्यहाँको नियमानुसार साताको ६ दिन कुल ४२ घन्टा काम गर्नुपर्ने हुन्छ। त्यसबाहेक अतिरिक्त समय काम गर्दा इजरायलको सरकारी नियमानुसार उनीहरूले थप पारिश्रमिक पाउने व्यवस्था छ। साथै सुरुमा एक वर्षको करारमा जाने कामदारले त्यो अवधि थप गर्न सक्छन् र अधिकतम पाँच वर्षसम्म काम गर्न पाउने सूचनामा उल्लेख गरिएको छ। नेपाली कामदारले मासिक तलब नेपाली मुद्रामा दुई लाख रूपैयाँ हाराहारीमा र केहीले काम गरेको समयावधि बढी भएकाले त्योभन्दा बढी पाउने गरेका छन्। इजरायल नेपालीका लागि आकर्षक गन्तव्य मुलुक हो।

तर सुरक्षित र पारिश्रमिक तथा सेवा–सुविधाका हिसाबले आकर्षक मानिने इजरायलमा अपेक्षाअनुसार नेपाली श्रमिक जान पाएका छैनन्। विभागका अनुसार ९० प्रतिशत नेपाली जोखिमपूर्ण तथा न्यून पारिश्रमिक पाउने खाडी तथा मलेसिया लगायत मुलुक पुग्छन्।

केयरगिभर’ मा इजरायल कहिलेदेखि जान पाइन्छ?

वैदेशिक रोजगार विभागका अनुसार यही माघको अन्तिम साता देखि आगामी फागुनको पहिलो साता भित्रमा पहिलो लटका नेपाली श्रमिक इजरायल ‘केयरगिभर’ मा जान पाउने भएका छन् । इजरायल जान तयारीमा रहेका एक हजारले तालिम लिई रहेको विभागको सूचना अधिकारी गुरुदत्त सुवेदीले बताए ।  

‘मागको अन्तिम साता देखि फागुनको पहिलो सातासम्म तालिम लिइरहेका एक हजार जना इजरायल जान सक्नेछन्,’ उनले भने, ‘इजरायलको रोजगारदाताबाट हाल २४ जनाको मात्रै ‘कनट्याक्ट पेपर’ आएको छ । तिनीहरूलाई करार सम्झौता गरेर पठाउनु पर्नेछ ।’  

प्रकाशित: १६ माघ २०८१ ०८:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App