साँघुरो सडकपेटी, सडकमै पार्किङ, सर्वसाधारणको घुइँचो अनि असरल्ल तारको गन्जागोल। केही समय अगाडिसम्म काठमाडौंको नयाँ सडक अस्तव्यस्त देखिन्थ्यो। तर अहिले नयाँ सडक फेरिएको छ।
साँघुरो सडकपेटी फराकिलो बन्दै छ। किनारमा रहेका गमलामा फूल फुल्दै छन्। सडकको पार्किङ हटेको छ। बिजुलीका पोलमा टाँगिएका असरल्ल तार निकालिन थालेको छ। सर्वसाधारण मक्ख छन्। ‘हिँड्ने बाटो फराकिलो भएको छ, तार पनि हटाउन थालिएको छ,’ नयाँ सडकमा आइतबार किनमेल गर्न आएकी सुभद्रा रिजालले भनिन्, ‘सहर नौलोजस्तो लागेको छ।’
विगतमा पैदल हिँड्नसमेत सकस हुने नयाँ सडक अहिले केही सुधारिएको महसुस भएको उनले बताइन्।
काठमाडौंको नयाँ सडक (न्युरोड) क्षेत्र बिजुलीका पोल र तार हटाउने कार्यसँगै सुन्दर देखिन थालेको छ। साँघुरो सडकपेटी र तारको गुजुल्टोमा गन्जागोल देखिने यो क्षेत्र अहिले चिटिक्क देखिन थालेको छ।
अव्यवस्थित टाँगिएका तारले जोखिम निम्त्याएपछि काठमाडौं महानगरपालिकाले यसको व्यवस्थापन गर्न थालेको हो। अव्यवस्थित तारले बटुवा, सवारीसाधनलाई असर गर्नुका साथै आगलागीको जोखिमसमेत निम्तिएको महानगरको बुझाइ छ। अव्यवस्थित तारले सहर नै कुरूप बनाएकाले महानगरपालिकाले हटाउन थालेको छ।
काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्ले सडकपेटी विस्तार भएका ठाउँमा रहेका गन्जागोल तार हटाउन थालिएको बताए। नेपाल विद्युत् प्राधिकरणले बिजलीको तारलाई भूमिगत गरेसँगै पोल र तार हटाउने काम सुरु भएको उनले सुनाए।
प्राधिकरण र महानगरपालिकाले संयुक्त रूपमा तार हटाउने काम गरिरहेका छन्। प्राधिकरणले तार भूमिगत गरेसँगै पोलसमेत हटाउन थालिएको हो। भूमिगत तारबाटै विद्युत् प्रवाह भइरहेकाले विद्युत् कटौती नगरीकनै काम भइरहेको महानगरपालिकाले जनाएको छ।
सहरलाई नयाँ अवस्थामा ल्याउन महानगरपालिकाले निकै अवरोधसमेत झेल्नुपरेको थियो। लामो समयको विवादपछि विस्तार गरिएको जुद्ध सालिकदेखि इन्द्रचोकसम्मको सडकपेटी किनारमा रहेका पोल र तार हटाउने कार्य अगाडि बढाए पनि अन्य ठाउँमा सडकपेटी विस्तार गर्न बाँकी छ। ‘अहिले विशालबजार क्षेत्रमा भएको यो काम क्रमशः विस्तार गरिने छ,’ महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्ले भन्छन्, ‘यसबाट सिंगो सहर थप सुन्दर देखिने छ।’
प्रकाशित: ६ मंसिर २०८१ ०५:५४ बिहीबार