३ वैशाख २०८२ बुधबार
image/svg+xml २३:३७ अपराह्न
राजनीति

तीनकुने प्रदर्शनमा दुर्गा प्रसाईंको अराजक भूमिकाले स्थिति बिगार्‍यो : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले गत शुक्रबार (चैत १५) गते तीनकुनेमा भएको प्रदर्शनमा कमान्डर तोकिएका दुर्गा प्रसाईंको अराजक भूमिकालाई जिम्मेवार ठहर्‍याएका छन्। प्रसाईंका कारण नै स्थिति अनियन्त्रित बनेको उनको आरोप छ। 

शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले प्रसाईंमाथि शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउन मुख्य भूमिका खेलेको आरोप लगाएका छन्।  

उनका अनुसार प्रसाईंले बा प्र ०१–०२८ च ०२०१ नम्बरको गाडी हाँकेर अश्लील शब्द प्रयोग गर्दै भिडलाई उत्तेजित बनाएका थिए। प्रसाईं सुरक्षाकर्मीमाथि किच्ने नियतले सुरक्षा घेरा तथा ब्यारिकेडमा गाडी कुदाउन पुगेको उनको भनाइ थियो। 

‘यो घटनाले माहौल बिग्रियो, भिडले सुरक्षाकर्मीमाथि ढुंगामुढा र सिसाका बोतल प्रहार गर्‍यो,’ उनले भने। प्रहरीले मौखिक चेतावनी दिँदा पनि उक्साहट नरोकिएपछि स्थिति नियन्त्रण गर्न बल प्रयोग गर्नुपरेको जवाफ उनको छ।  

गृहमन्त्रीले प्रसाईंको यस्तो गैरजिम्मेवार कार्यले संविधानले दिएको शान्तिपूर्ण भेलाको अधिकारको अवमूल्यन गरेको पनि स्पष्ट पारेका छन्। उनले अराजक गतिविधिको कानुनी जिम्मेवारी प्रसाईंसहित संलग्न व्यक्तिहरूले लिनुपर्नेमा जोड दिए। 

साथै, दोषीमाथि कडा कारबाही गर्न सरकार प्रतिबद्ध रहेको विश्वास पनि उनले दिलाएका छन्। आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चालिने भन्दै गृहमन्त्री लेखककले सर्वसाधारणलाई अराजक गतिविधिमा संलग्न नहनु अनुरोध गरेका छन्। 

प्रकाशित: २२ चैत्र २०८१ १५:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App