‘सामचे सामचके आबिहे हो
जोतला खेतमे बैठिए हो
सब रङ पटिया ओछाइहियै हो
तै पटियामे के–के सुते रु
छोटे बरहे लादहैन सुते ।’
नेपालीमा यसको अर्थ हुन्छ– सामाचकेवा सधैं आउनू है, जोतेको खेतमा बस्नू है, सबै रङको गुन्द्री ओछ्याउनू है, त्यो गुन्द्रीमा को को सुत्ने ? सानोदेखि ठुलो, सबै भाइ सुत्ने ।
मिथिलावासीको महान् पर्व छठ सकिएसँगै यस क्षेत्रमा सामाचकेवासम्बन्धी गीतले गाउँबस्ती मुग्ध छन्। सामाचकेवा पर्वलाई मिथिला क्षेत्रका आदिवासीसँगै मधेसी समुदायले आस्था र उत्साहका साथ मनाउँछन्। दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै सामाचकेवा पर्व मनाउँछन्। मधेसका गाउँबस्तीमा बाँसको नाङ्लोमा काँचो माटोबाट विभिन्न आकारका मूर्ति बनाइएका छन्। जसमा सामाचकेवा, चुगला, बिरदाबनी, मौहौतिया/मालिन, कुत्ता, नाह खैबैया, तितिर (समाको साथी), नटुवा, न्याक्दी भलाजी, ढोलकिया/झाइल बजिया र भमरा राखेर सामाचकेवा खेलिरहेका छन् ।
कात्तिक शुक्ल पञ्चमी तिथिदेखि पूर्णिमासम्म मनाइने यो लोकपर्वमा दिदीबहिनीले प्रत्येक साँझ टोलटोलमा गीत, भजनकीर्तन गर्दै हर्षोल्लास साथ सामाचकेवा नचाउँछन् ।
यो पर्व मधेसमा त मनाइन्छ नै, अहिले काठमाडौंमा पनि मनाउन थालिएको छ। काठमाडौंमा बसोबास गर्न थालेका थारू तथा अन्य समुदायका महिला सामाचकेवा खेल्ने गरेका छन् ।
मधेसका सहरमा हराउँदै गए पनि गाउँघरमा यो पर्व अझै जीवन्त रहेको मधेस प्रदेशसभा सदस्य सन्जिलाकुमारी यादव बताउँछिन्। यहाँको संस्कार र संस्कृतिलाई जीवन्तता दिँदै व्यापक बनाउन सांस्कृतिक जागरण अभियान चलाउनुपर्ने उनको भनाइ छ। जहाँ बसे पनि संस्कृति र मौलिकता नहराओस् भनेर गाउँदेखि सहरसम्म सांस्कृतिक जागरण सुरु गर्नुपर्ने उनले बताइन् ।
सामाचकेवा पर्व मुख्यतया चेली र माइती पक्षबीच रहेको अटुट श्रद्धा एवं प्रेमको प्रतीक हो। त्यसैले होला सहरमा यो पर्व हराउँदै गए पनि मधेसका गाउँगाउँका महिलाले यो लोकपर्वलाई जोगाइरहेका छन्।
यसको बहुआयामी स्वरूप, गायन–विविधता, प्रकृतिप्रतिको अगाधप्रेम, माइती र चेलीबीचको स्नेहपूर्ण सम्बन्ध, चुगला (समाजविरोधी) प्रतिको सामूहिक–संगठित विरोध, लोककल्याणको भावना, संस्कारगत प्रशिक्षण जस्ता अनेक खण्डमा बाँडेर यस पर्वलाई विश्लेषण गर्न सकिने प्रदेशसभा सदस्य यादव बताउँछिन्। विशेषगरी छठ पर्वको भोलिपल्टदेखि मनाइने यो पर्व कहिलेदेखि सुरु भएको हो भन्ने ऐतिहासिक पृष्ठभूमि स्पष्ट छैन। यो पर्वका सम्बन्धमा संस्कृतिविद्हरूबीच पनि मतभिन्नता पाइन्छ। पद्म पुराण, स्कन्द पुराण र शाम्ब पुराण जस्ता विभिन्न पुराणमा यो पर्वको सम्बन्धमा चर्चा गरिएको पाइन्छ। ‘सामाचकेवा’ लोक पर्वको शुभारम्भ द्वापर युगमा भगवान् कृष्णको समयदेखि सुरु भएको पाइन्छ। यो पर्व भगवान् श्रीकृष्णकी छोरी शाम्बा र छोरा शाम्बको कथामा आधारित छ। यस कथा प्रसंगअनुसार भगवान् श्रीकृष्णकी पत्नी जाम्बवतीतर्फ १० भाइ छोरा र एउटी छोरी गरी एघारजना सन्तान थिए। तीमध्ये जेठा छोराको नाम शाम्ब र छोरीको नाम शाम्बा थियो।
शाम्बा सुशील, चरित्रवान्सँगै सुन्दर पनि थिइन्। शाम्बाको सौन्दर्यमा मोहित भई भगवान् श्रीकृष्णकै पुरी द्वारिकामा बसोबास गर्न ‘चुडक’ लठ्ठ भएको थियो। तर उसले आफूलाई प्रेम गर्छ भन्ने शाम्बालाई थाहै थिएन। उता शाम्बाको ‘चारुवाक’ नामक युवकसित गान्धर्व विधिले विवाह सम्पन्न हुन्छ। त्यसपछि उनी पतिको घरमा बस्न थाल्छिन्। शाम्बालाई प्राप्त गर्न नसकेपछि चुडकले श्रीकृष्णको दरबारमा गएर शाम्बाको चरित्रबारे चियोचर्चो गर्न थाल्छन्।
वृन्दावनको दिव्य जंगलबीचमा गोपेश्वर महादेवको मन्दिर थियो। उनले आफ्नो दाम्पत्य जीवनमा उतारचढाव नआओस् र दीर्घ सौभाग्य प्राप्ति होस् भन्ने उद्देश्यले उनी पति चारुवाकको आज्ञा लिई नित्यदिन उक्त मन्दिरमा गई पूजा आराधना गर्थिन्। उक्त पूजाअर्चनाको प्रभाव तथा भगवान्को असीम अनुकम्पाले शाम्बाका पति चारुवाकको स्वरूप देवतातुल्य मनोहर र दिव्य हुन पुग्छ। त्यसपछि उनी पति चारुवाकसँगै विभिन्न सुरम्य स्थलमा वनविहार पनि गर्न थाल्छिन्। तर यसै प्रसंगलाई बिगारेर चुडकले ‘शाम्बाले पतिको हत्या गरी परपुरूषसँग वृन्दावनमा विहार गर्दै गरेको’ भन्दै भगवान् श्रीकृष्णलाई पोल लगाउँछन्।
चुडकको कुरामा विश्वास गरी श्रीकृष्णले छोरी शाम्बालाई पक्षी हुने श्राप दिन्छन्। पत्नी पक्षी भएको देखेर चारुवाक रुँदैकराउँदै भगवान् श्रीकृष्णको शरणमा पुग्छन् र वास्तविकता सुनाउँछन्। कृष्णलाई आफ्नो निणर्यप्रति पछुतो हुन्छ र चुडकलाई चुगलखोरी गरेवापत देश निकालाको सजाय हुन्छ। चारुवाकले आफू पत्नीबिना बाँच्न नसक्ने भन्दै श्रीकृष्णसँग विलाप गर्छन्। श्रीकृष्णले आफूले दिएको श्राप आफंैले फिर्ता लिन नमिल्ने बताउँछन्। पत्नी पक्षी नै रहने भएपछि चारुवाकले आफूलाई पनि पक्षी बनाइदिन अनुरोध गर्छन्। त्यसपछि श्रीकृष्णले चारुवाकलाई पनि पक्षी बनाइदिए। यसरी पक्षीका रूपमा शाम्बाका दम्पती रहन लागे। यो समाचार थाहा पाएपछि दाजु शाम्बले निर्दोष बहिनी–ज्वाइँलाई पक्षीबाट मुक्त तुल्याउन पिता श्रीकृष्णसँग अनुनय–विनय गर्छन्। तर श्रीकृष्णले राजधर्मको बाध्यता र विवशताका कारण उक्त श्राप फिर्ता लिन नसक्ने बताउँछन्। अनि शाम्बले बहिनी–ज्वाइँ पक्षीबाट मुक्त हुने उपाय बताउन श्रीकृष्णलाई आग्रह गर्छन् ।
श्रीकृष्णले समस्त ब्रज क्षेत्रका साध्वीहरूलाई शाम्बाको पतिप्रतिको धर्म डगेको छैन भनी विश्वस्त तुल्याई ती सम्पूर्णले कार्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म प्रत्येक दिन सायंकालमा गोपेश्वर महादेवको मन्दिर परिसरमा गीत र नृत्य गरी भगवान् भोलेनाथलाई प्रशन्न तुल्याएमा शाम्बा दम्पती पक्षी योनीबाट छुट्कारा पाउने बताउँछन् ।
यसै उपायलाई अनुसरण गरी शाम्बले महिलाहरूलाई संगठित गर्छन् र भगवान् शिवको घनघोर तपस्या गर्छन्। ती संगठित साध्वी स्त्रीहरूले शिवालयको परिसर र श्रीकृष्णको दरबार जाने चौबाटोमा प्रत्येक साँझ गीत र नृत्य प्रस्तुत गछैन्। शाम्ब र द्वारिका पुरीका समस्त साध्वी स्त्रीको आराधनाले शिव प्रशन्न हुन्छन् र शाम्बाका जोडीलाई पक्षीबाट मुक्त गरिदिन्छन्। स्त्रीहरूको संगठित प्रतिरोध, चेली र माइतीबीचको अटुट प्रेम र घुसघुसे एवं पोल्याहा (चुगला) हरूलाई सजाय दिने सन्देश बोक्ने यही उत्सव हो– सामाचकेवा पर्व ।
सामाचकेवा पर्वमा यो र यसै कथासँग जोडिएका पात्रहरू शाम्बा (सामा), चकेवा (चारुवाक) का अतिरिक्त शाम्ब, सतभैया, खडरीच, चुगला (चुडक), वृन्दावन, चौकीदार, झांझी, कुकुर (कुत्ता) आदिको माटोको मूर्ति निर्माण गरी रोचक अभिनय गर्ने चलन मधेसका गाउँगाउँमा रहेको सिरहा क्याम्पसमा मैथिलि भाषाका सहप्राध्यापक उमेशकुमार झा बताउँछन्। ‘दाजु र दिदीबहिनीबीचको आत्मीय प्रेमको प्रतीकको रूपमा मनाइने यो पर्वमा दिदीबहिनीले आफ्नो दाजुभाइको सुस्वास्थ्य र दीर्घायुको कामना गर्छन्’, झा भन्छन्, ‘यो पर्वमा दुईवटा प्रमुख पात्र हुन्छन् सामा र चकेवा। सामा स्त्री पात्र हुन् भने चकेवा पुरुष। त्यसैगरी समाजको खलपात्र चुगला हुन् ।’
प्रकाशित: २५ कार्तिक २०८१ ०७:०५ आइतबार