२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

इतिहास रचेकी एक महिने मुख्यसचिव गड्तौला

नेपालको निजामती प्रशासनको उच्च पद मुख्यसचिवमा महिलाले नेतृत्व गर्ने अवसर पहिलोपटक जुरेको छ। कायममुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई मन्त्रिपरिषद्को बैठकले मुख्यसचिवमा नियुक्त गरेसँगै उनी नेपालको निजामती प्रशासनमा पहिलो महिला मुख्यसचिव भएकी हुन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिवमा बढुवा गर्ने निर्णय गरेको थियो।

केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई मुख्यसचिवमा बढुवा गर्ने निर्णय गरेपछि नेपालको निजामती प्रशासनमा गड्तौलाले इतिहास रचेकी हुन्। गत असार ३१ गते कायममुकायम मुख्यसचिव बनेकी उनलाई मन्त्रिपरिषद्ले साउन १० गते मुख्यसचिवमा बढुवा गर्ने निर्णय गर्‍यो। ५८ वर्षे उमेर हदका कारण आगामी भदौ १४ गते घर जाने भए पनि सरकारले मुख्यसचिव बनाई ‘करिअर’ उच्च पदमा पुर्‍याउने अवसर दिएर न्याय गरेको छ।

तत्कालीन मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वरिष्ठतम सचिवको हैसियतमा गड्तौलाले गत असार ९ गते निमित्त मुख्यसचिवको जिम्मेवारी सम्हालेकी थिइन्। 

सरकार परिवर्तन भएसँगै ओली नेतृत्वको सरकारले असार ३१ गते उनलाई पहिलो महिला कायममुकायम मुख्यसचिव बनाएको थियो। त्यो नै आफैंमा गड्तौलाका लागि इतिहास थियो। त्यसको ११ दिनपछि बसेको मन्त्रिपरिषद् बैठकले पहिलो महिला मुख्यसचिव नियुक्त गरेपछि प्रशासनको सर्वोच्च पदमा पुगेकी हुन्।

नेपालमा राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुखजस्ता महत्त्वपूर्ण पदको नेतृत्व महिलाले गरिसकेका छन्। निजामती प्रशासनमा भने महिलाको नेतृत्व बाँकी थियो। छोटो समय भए पनि मुख्यसचिवको जिम्मेवारी गड्तौलाले प्राप्त गरेकी छन्। 

उनी २०७७ कात्तिक २७ गते न्याय सेवा कानुन समूहको सचिवमा बढुवा भएकी थिइन्। निजामती प्रशासनमा गड्तौलाभन्दा तोयानारायण ज्ञवाली, रामकृष्ण सुवेदी, दिनेश भट्टराई, एकनारायण अर्याल, अर्जुनप्रसाद पोखरेल, उदयराज सापकोटा र मधुकुमार मरासिनी वरिष्ठ सचिव भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी वरिष्ठ सचिव भएकाले गड्तौला निमित्त र कामु दुवै जिम्मेवारीमा थिइन्। त्यसपछि उनलाई बिहीबार मुख्यसचिवमा ‘कन्फर्म’ गरिएको हो।

हालको कोसी प्रदेशको तेह्रथुम जिल्लामा जन्मिएकी मुख्यसचिव गड्तौला भदौ १४ गते ५८ वर्ष पुग्दैछिन्। सचिवको अवकाश दुई कारणबाट हुन्छ। सचिवको पाँच वर्षको कार्यकाल पूरा भए वा ५८ वर्ष उमेरहद पूरा भए सेवाबाट अवकाश पाउने व्यवस्था निजामती सेवा ऐन २०४९ मा छ । पाँच वर्षे कार्यकाल पूरा गरेर नभई ५८ वर्षे उमेरहदका कारण उनी अवकाशमा जान लागेकी हुन् । जन्मघर तेह्रथुम भए पनि उनको कर्मघर भने सोलुखुम्बु हो। गड्तौलाका पति वरिष्ठ अधिवक्ता मात्रिका निरौला हुन्।

पूर्वकानुनमन्त्री शिवमाया तुम्बाहाम्फेकी सहपाठीसमेत भएकाले पनि उनका लागि परिस्थिति सहज बनेको अनुमान गरिएको छ। यद्यपि उनी क्षमतावान् कर्मचारीका रूपमा परिचित हुँदै उच्च पदमा पुगेकी हुन्। २०५२ सालमा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरेकी गड्तौला २०६३ कात्तिक ३ गते उपसचिव भएकी थिइन्। २०७० माघ ९ गते सहसचिव बनेकी उनी २०७७ कात्तिक २७ गते नेपाल सरकारको सचिवमा बढुवा भएकी थिइन्।

गड्तौलाको बिदाइको दिनसम्म अन्य कोही सचिव मुख्यसचिव हुने अवस्था छैन। आगामी भदौ २१ मा राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीको अवकाश हुनेछ। त्यतिबेला उनी मुख्यसचिव हुने छैनन्  उनी आगामी भदौ २२ मा सचिवमा बढुवा भएको पाँच वर्ष पुग्नेछ। 

निजामती सेवा ऐन २०४९ को दफा १९ मा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव पदमा बढुवा गर्दा बहालवाला सचिवहरूमध्येबाट नेपाल सरकारले ज्येष्ठता र कार्यकुशलताका आधारमा छनोट गरी बढुवा गर्ने उल्लेख भएअनुसार त्यसपछि रामकृष्ण सुवेदी, दिनेश भट्टराई र एकनारायण अर्यालमध्येबाट एक जना मुख्यसचिवमा नियुक्त हुनेछन्। ज्ञवालीपछिका वरिष्ठमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव सुवेदी र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव भट्टराई छन्।

कात्तिक ५ मा अवकाश हुने सुवेदीलाई अहिलेको सरकारले सकारात्मक दृष्टिकोण राख्न सकेको छैन। माघ २९ मा अवकाश हुने सचिव भट्टराईको प्रधानमन्त्री केपी ओली र अन्य मन्त्रीहरूसँग पनि राम्रो सम्बन्ध र विगतको कार्यकुशलताका आधारले मुख्यसचिव हुने सम्भावाना बढी रहेको छ। विभिन्न समयमा एमालेका मन्त्रीहरूसँग राम्रो सम्बन्ध बनाएर काम गरेका कारण प्रधानमन्त्री ओलीले चाहेमा भट्टराई मुख्यसचिव बन्नेछन्।

भट्टराईपछिको वरिष्ठतामा हालका गृहसचिव एकनारायण अर्याल छन्। उनी पनि एमालेका नेताहरूसँग नजिक छन् । एमालेका नाममा धेरै अवसर लिने सचिवका रूपमा अर्याललाई लिने गरेका कारण उनको मुख्यसचिव हुने सम्भावना ५०/५० प्रशितत रहेको बताइन्छ। 

फागुन १८ मा सचिवबाट अवकाश पाउने अर्याल प्रधानमन्त्री ओलीसँगको सम्बन्ध कमजोर छैन। गड्तौलापछि भट्टराई र अर्यालमध्ये को मुख्यसचिव हुने भन्ने चर्चा कर्मचारीवृत्तमा चर्चा चले पनि यकिन गर्न सक्ने अवस्था छैन। ‘को मुख्यसचिव हुन्छ भन्नेचाहिँ प्रधानमन्त्रीलाई मात्र थाह छ, यो वा त्यो हुन्छ भन्नु बेकारको हल्ला हो,’ प्रधानमन्त्री कार्यालयका एक सचिवले भने।

प्रकाशित: ११ श्रावण २०८१ ०७:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App