२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

लुम्बिनीमा २३२ घर डुबानमा, दुई जनाको मृत्यु तीन बेपत्ता

बाँकेस्थित खजुराको पेडारी नालामा आएको बाढी । तस्बिर सौजन्य: गणेश राई

शनिबार र आइतबारको वर्षाले लुम्बिनीमा मानवीयसँगै भौतिक रुपमा क्षति पुर्‍याएको छ। यहाँका नदीनालामा पानीको बहाव बढ्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार खोलाले बगाइ दाङमा दुई जनाको मृत्यु भएको छ। सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीमा एक जना, भारतको फकलपरु नालामा बर्दियाका एक जना र बाँकेको डुडुवास्थित राप्ती नदीमा एक जना बेपत्ता भएका लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए।

नेपालगन्ज–२०, मनिकापुरस्थित डुडुवा खोलामा पौडी खेल्ने क्रममा अन्दाजी ४२ वर्षीय सुशिलप्रसाद दाहाल बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख (एसपी) तुलबहादुर कार्कीले जानकारी दिए।

घोराहीस्थित सर्रा, कालीगण्डकी–३, मुल्का, सोही गाउँपालिका–६, बर्लवा र गुल्मीदरबारस्थित बिरभास सडक अवरुद्ध भएका प्रहरीले जनाएको छ। अर्घाखाँचीको सन्धिखर्क–६, दह खोला, शीतगंगा–७ जुवाकोट गच्छे–भालुवाङ सडक पनि बन्द छ।

त्यस्तै प्युठानस्थित सरुमारानी–४ कुरेल–भालुवाङ सडक, राल्पाको परिवर्तन गाउँपालिका–५, ग्रामझिम, सोही गाउँपालिका–१ खरिबोट, माडी गाउँपालिका–२, खोलावाङ–घोराही (रुकुम सहिद मार्ग) सँगै रुकुम पूर्वस्थित सिस्ने गाउँपालिका–६ रानीकोटको सडकसहित लुम्बिनीका १० वडा सडक अवरुद्ध भएका छन्।

दाङको दंगीसरण गाउँपालिका–४ बैबाङस्थित खोलामा निर्माण गरिएको झोलुङ्गे पुलको पिलर बगाएको र केही जमिन कटान भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता श्रेष्ठले जनाए।

‘पाल्पाको रामपुर–१, मधुकोटमा चार पशु चौपायाको मृत्यु भएको छ। रामपुर–१० दुर्गा मन्दिरस्थित हेमराज चापागाईँको एक तले पक्की घर भासिएको र उनीहरु चार जना छिमेकीको घरमा बसिरहेका छन्,’ उनले भने, ‘गुल्मीस्थित रुरु–३, मा घरमा पहिरो झरी एक जना घाइते भएका छन् र उपचारपछि उनी डिस्चार्जसमेत भएका छन्।’

अविरल वर्षाका कारण लुम्बिनीका दुई सय ३२ घर डुबानमा परेका छन्। दाङस्थित लमही–८, धमपुरुवा, बग्रपुर, गिधिनिया र पचकपुरका एक सय ७० डुबानमा परेका छन्।

बाँकेको राप्तीसोनारी–१ कुसुम र जोङपुरका ६० घर पनि डुबानमा परेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता श्रेष्ठले जानकारी दिए। उनका अनुसार पाल्पामा एक घर र एक गोठ बगाउँदा पाँच जना विस्थापित भएका छन् भने ६ पशु चौपायाको मृत्यु भएको छ।

यहाँका राप्ती, तिनाउ, बबईलगायतका नदीमा पानीको बहाव सतहमा पुगेको छ। अविरल वर्षाका कारण लुम्बिनीका पहाडी जिल्लाका धेरै स्थानमा पहिरो गएको छ भने तराईका जिल्ला बाँके, बर्दियालगायतका जिल्ला जलमग्न भएका छन्। बाढीमा बेपत्ता भएकाको खोजी कार्य भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

यहाँका जिल्ला प्रशासन कार्यालयहरूले नदी तटीय क्षेत्र र बाढी पहिरोको जोखिम क्षेत्रका बासिन्दाले उच्च सतर्कता अपनाइ सुरक्षित स्थानमा रहन अपिलसमेत गरेका छन्।

प्रकाशित: २३ असार २०८१ २०:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App