२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

हिलोमा सवारी फसेपछि पृथ्वी राजमार्गमा सकस

पहिरोको भन्दा हिलोको सकस बढी

काठमाडौंबाट पोखरा पुग्न झन्डै २२ घण्टा

तनहुँको म्याग्दे–४ मनहरिमा हिलोमा फसेका सवारीको लाम । तस्बिर सौजन्यः भीमलाल श्रेष्ठ

शनिबार बिहान सातबजे काठमाडौंबाट छुटेका पर्यटक बस सरासर आउन पाएको भए त्यहीदिन दिउँसो तीनबजे पोखरा आईपुग्नुपर्ने हो। तर, ती बस आइतबार बिहान ५ बजे मात्र पोखरा आइपुगे। काठमाडौंबाट पोखरा आउन ती बसलाई झन्डै २२ घण्टा लाग्यो।  

बेलैमा पोखरा आउन पाएको भए ती बस आइतबार बिहान सातबजे फेरि पोखराबाट काठमाडौंका लागि छुट्ने थिए। तर, निर्धारित समयमा आउन नसकेपछि केही बसको आइतबारको पोखरा–काठमाडौंको यात्रा रोकियो। कतिपयले भने चालक फेरेर गाडी पुन काठमाडौं पठाए।  

बिस्तारको क्रममा रहेको पृथ्वी राजमार्ग (पोखरा–आँबुखैरेनी) मा यतिबेलाको यात्रा कतिसम्मको सकसपूर्ण छ भन्ने पर्यटक बसको यो यात्राले देखाउँछ। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारीका अनुसार झन्डै १२ घण्टा त ती बस तनहुँको म्याग्दे गाउँपालिका–६ मौरिमा रोकिएका थिए, जहाँ अविरल वर्षापछि शनिबार बिहान पहिरो खसेको थियो।  खसेको पहिरो केही घण्टामै पन्छाएपनि मनहरी क्षेत्रको हिलोका फसेका सवारीका कारण राजमार्ग घन्टौ ठप्प भएको थियो। सडकको हिलोमा फसेका सवारी पन्छाउन नसक्दा यात्रा अवधि लम्बिएको थियो। 

‘सरासर आउन पाएको भए शनिबार दिउँसो ३ बजे नै ती बस पोखरा आइसक्थे। तर, सडकको सकसपूर्ण अवस्थाले झन्डै २२ घण्टा लगाएर यात्रु पोखरा आए,’ अधिकारीले भने, ‘बेलैमा आउन नसकेपछि कपितयले आइतबार तिनै गाडी काठमाडौं पठाउन सकेनन। केही व्यावसायीले चालक फेरेर सवारी पठाए।’ 

अधिकारीका अनुसार पहिरो कटेपनि हिलोमा सवारी फस्दा बढी समस्या भएको हो । ‘साना सवारीलाई त झनै सकस छ। हिलोमा भार बोकेका सवारी फसेपछि अरु गुड्न पाएनन,’ उनले भने।  

पृथ्वी राजमार्गको तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीमा शनिबार बिहान पहिरो गएको थियो। केही घण्टापछि पहिरो पन्छाएपनि बिस्तारको क्रममा रहेको राजमार्गको हिलोमा लामो समयसम्म सवारी फसेका थिए। आइतबार पनि राजमार्गको अवस्था उस्तै रहेको उनले बताए। 

राजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिकाको थर्पुदेखि करिब पाँचकिलोमिटर परको सेरासम्मको खण्ड झनै सकसपूर्ण थियो। सडकमा खसेको पहिरोले भन्दा पनि बिस्तारको क्रममा रहेको सडकको हिलोमा फसेका सवारीका कारण यात्रा असहज बनेको उनले सुनाए।  

‘यतिबेला पृथ्वी राजमार्गको यात्रा निकै नै सकसपूर्ण छ। राजमार्गको पोखरादेखि आँबुखैरेनीसम्मको यात्रा सहज छैन,’ चितवनको सौराहाका पर्यटन व्यावसायी सुमन घिमिरेले भने, ‘पहिरो जाने र डाइभर्सन बगाउँदा केही अप्ठेरो त छ। तर, पहिरो र डाइभर्सनको समस्या नभएको ठाउँमा हिलोको कारण यात्रा अनिश्चित छ।’ पोखरा आएर शनिबार चितवन फर्किदै गरेका घिमिरेलाई सौराहा पुग्न शनिबार १० घण्टा लागेको थियो। बिहान नौ बजे पोखराबाट निजी गाडीमा फर्केका घिमिरे सौराहा पुग्दा बेलुकी सात बजेको थियो।  

‘सबैतिर पहिरोको अवरोध होईन, हिलोमा भासिएका सवारीका कारण ओहोरदोहोर सकसपूर्ण बनेको हो,’ उनले भने, ‘साना गाडी त झनै पार लगाउन गाहे छ।’ घिमिरेका अनुसार बिस्तारको क्रममा रहेको राजमार्गको भित्तातिर खनिएको छ, जसले गर्द सानोतिनो ढिस्को सडकमा खसिरहेको छ। 

‘अविरल वर्षाले बगेको लेदोमा सवारी फस्ने गरेका छन। सडकमा फसेका तिनै सवारी पन्छाउन समय लाग्दा राजमार्गको यात्रा निकै नै सकसपूर्ण बनेको छ,’ उनले भने, ‘सडकको छेउतिर कटान भएको र भित्तातिर माटो खसेको छ। त्यही माटोमा पानी मिसिँदा लेदो बनेर सडकमा बगेको छ। लेदोमा सवारी फस्ने गरेका छन।’  

पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्ड अन्तर्गत पोखरा–आँबुखैरेनी (८० किमि) सडक अहिले बिस्तार भईरहेको छ। दुईखण्ड (पूर्विखण्ड आँबुखैरेनी–जामुने ४१ किलोमिटर र पश्चिमखण्ड जामुने–पोखरा ३९ किलोमिटर) मा बाँडेर यो सडक बिस्तार भईरहेको छ। अहिले पश्चिम खण्डमा समस्या रहेको उनले सुनाए।  

‘तनहुँको खैरेनीटारदेखि जामुनेसम्मको खण्डमा अधिक समस्या छ। सबैतिर माथिबाट पहिरो खसेको होइन। सडकको छेउमा कटान हुँदा जोखिम छ भने भित्तातिर माटोको ढिस्को खसेको छ। त्यही ढिस्कोमा पानी मिसिएर सडकभर लेदो बगेको छ,’ उनले भने, ‘धान रोप्न ठिक्क पारेको खेतजस्तै सडक बनेको छ । त्यस्तो ठाउँमा गाडी गुडाउन सकस छ।’  

तनहुँ उद्योग बाणिज्य संघ तनहुँको कोषाध्यक्ष भीमलाल श्रेष्ठ म्याग्दे गाउँपालिका–४ थर्पुमा बस्छन। थर्पु क्षेत्रमा कतैपनि पहिरो गएको छैन। तर, राजमार्गमा सवारीको लाम छ। ‘पहिरोले भन्दा पनि लेदोमा फसेका भार बोकेका सवारीले गर्दा समस्या भएको हो। ‘

हेभि’ सवारी हिलोमा फसेका छन, कतैकतै त सडक नै भासिएको पनि छ,’ श्रेष्ठले भने, ‘पहिरो कटेपनि हिलो कट्न सवारीलाई सकस भएको छ।’ राजमार्गको पूर्वि भन्दा पनि पश्चिम खण्डमा बढी समस्या भएको उनले बताए।  

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी श्रवणकुमार बिकका अनुसार राजमार्ग बिस्तारको क्रममा रहँदा कालोपत्रे हुन बाँकी रहेको खण्डमा लेदो थुप्रिएको छ। त्यही लेदोमा सवारी फसेको उनले बताए। ‘पहिरोका कारणले राजमार्ग बन्द भएको होईन। बिस्तारको क्रममा रहेको राजमार्गमा माथिबाट बगेर आएको लेदोमा सवारी फसेका हुन्। कतैकतै खाडल पनि तिनै खाडलमा गाडी भासिएका छन,’ विकले भने, ‘पहिरोले भन्दा हिलोले सवारीलाई सकस पारेको हो।’  

पोखरा–मुग्लिन राजमार्गको पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलका अनुसार राजमार्गको म्याग्देस्थित मनहरीमा हिलोमा सवारी फस्दा बढी समस्या परेको छ। ‘मौरी बजार नजिकै शनिबार पहिरोले केही बेर अप्ठेरो पारेको हो। नत्र समस्या पहिरोले भन्दा राजमार्गमा रातो माटो सहितको हिलोले पारेको हो,’ पौडेलले भने, ‘लामो समयसम्म सवारी सडकको रातो माटोको लेदोमा फस्ने गरेका छन। गहै सवारी फसेपछि पन्छाउनै सकस छ।’  उकालोमा हिलोमा गडेका गाडी पन्छाउनै सकस भएको उनले बताए।

प्रकाशित: २३ असार २०८१ १६:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App