२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

पौडेलले पदमै रहँदा अमेरिकी पिआर लिएको कुरा लुकाएर जागिर खाए: अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान अयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलले अमेरिकाको कानुनी स्थायी आवासीय अनुमति लिएको विवरण लुकाईरछिपाई गरेको अभियोगमा आइतबार मुद्दा दायर गरेको छ।

पौडेलले अमेरिकाको आवासीय अनुमति लिएको कुरा लुकाएर राष्ट्रसेवक भई लाभ र सुविधा लिएको कार्य भ्रष्टाचार जन्य भएको ठहर अख्तियारले गरेको छ।

पौडेलले संविधानको धारा २९१ को व्यवस्था विपरीत विदेशको स्थायी आवासीय अनुमति पत्र लिएको र स्वयं घोषणा गरी विवरण पेस नगरी झुक्काई सरकारी र सार्वजनिक पदमा बहाल रहेको, पदावधि थप गर्दा अयोग्य व्यक्तिलाई सिफारिस गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अख्तियारले अनुसन्धान गरिरहेको थियो।

‘राष्ट्रसेवकको ओहदामा बहाल रही लाभ र सुविधा पाइरहने उद्देश्यले आफैले स्वः घोषणा गरी विदेशको अस्थायी आवासीय अनुमति पत्र नलिएको भनी विवरण पेस गरेको पाइयो। राष्ट्रसेवकको हैसियतले बहाल रहेको अवस्थामा नै संयुक्त राज्य अमेरिकाको कानुनी स्थायी आवासीय अनुमति लिएर पनि उक्त विवरण लुकाई/छिपाई मिति २०७९।०२।१३ गते पदावधि थप गर्दासमेत उक्त विवरण लुकाई झुट्टा विवरण दिई राष्ट्रसेवक पदमा बहाल रही राष्ट्रसेवकको हैसियतमा लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको छ’, अख्तियारले जनाएको छ।

अख्तियारले आफ्नो आरोप पत्रमा विकल पौडेलको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरजन्य ठहर गर्दै सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजायको माग गरेको छ। 

उनीविरुद्ध यसअघि पनि सुरक्षण मुद्रण केन्द्रमा अनियमितता गरेको आरोपमा दायर भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ। गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा पक्राउ परेका उनलाई विशेष अदालतको अनुमतिमा म्याद थप गरेर अख्तियारले अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ९ वैशाख २०८१ १४:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App