तेह्रथुमको लालीगुराँस नगरपालिकाले नेपालको संविधानले स्थानीय तहलाई उपलब्ध गराएको आधारभूत र माध्यमिक शिक्षासम्बन्धी एकल अधिकारलाई आत्मसात् गरी संघीय शिक्षा ऐन जारी हुनुपर्ने बताएको छ।
नगरप्रमुख अर्जुन मावोहाङले माध्यमिक तहसम्मको शिक्षाको नियमन, नियन्त्रण र व्यवस्थापनको दायित्व संविधानमै स्थानीय तहको एकल अधिकारको रूपमा रहेको स्मरण गराउँदै संविधानले दिएको व्यवस्था विपरित संघीय शिक्षा ऐन जारी हुनै नसक्ने जिकिर गरेका छन्।

नगरप्रमुख मावोहाङले विद्यार्थीको पढ्न पाउने नैसर्गिक अधिकार कुण्ठित हुन नहुने भन्दै आम सामुदायिक बिद्यालयका शिक्षक तथा कर्मचारीलाई विद्यालयमा फर्किएर दैनिक पठनपाठन क्रियाकलापमा समाहित हुन अपिल समेत गरेका छन्।
यता ताप्लेजुङको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले शिक्षकहरूको जायज मागको सम्बोधन हुने विश्वसनीय वातावरण तयार पारी शिक्षकलाई विद्यालयका फर्काउने वातावरणमा ढिलाइ गर्न नहुने बताएका छन्। उनले आन्दोलनरत शिक्षक तथा कर्मचारीलाई लाखौं बालबालिकाको भविष्यप्रति जवाफदेही र जिम्मेवारबाेध गर्न समेत अपिल गरेका छन्।
प्रकाशित: ३ वैशाख २०८२ १२:२३ बुधबार





