अत्याधुनिक प्रविधिमा आधारित १८ डी सिनेमा सञ्चालनमा आएको छ। नयाँ वर्षको अवसर पारेर १८ डी सिनेमाको औपचारिक उद्घाटन महानायक राजेश हमालले रिबन काटेर गरेका हुन्।
काठमाडाैंको सिटी सेन्टरमा उद्घाटन समारोहमा सहभागी हमालले आफैंले पनि १८ डी सिनेमाको अनुभव लिए। कुराकानीकाे क्रममा उनले भने, ‘१८ डी प्रविधिबाट हरेक दृश्यमा आफू समावेश जस्तै महसुस भयो, यस्तो रोमाञ्चक अनुभव पहिले कहिल्यै भएको थिएन।’
सिटी सेन्टरको तेस्रो तल्लामा सञ्चालनमा आएको यो सिनेमालाई एकपटकमा १० दर्शकले मात्र हेर्न पाउने छन्। फ्लाईओभर इन्टरटेन्मेन्टका राम थापा र हिमाल गुरुङद्वारा सञ्चालनमा ल्याइएको यो सिनेमा मा दर्शकले दृश्य, ध्वनि, गति, हावा र कम्पनको तालमेलसहित फिल्मको वास्तविक संसारमा पसेको आभास पाउनेछन्।
सञ्चालक गुरुङकाे अनुसार यहाँ दर्शकहरूले डायनासोरको युगको यात्रा, समुद्रको गहिराइमा खोजी, अन्तरिक्षको युद्ध र जंगल एडभेञ्चर जस्ता रोचक र साहसिक फिल्महरू ५ देखि ३० मिनेटको अवधिमा हेर्न सक्नेछन्।
काठमाडौंमा मनोरञ्जनको नयाँ आयाम थप्ने विश्वासका साथ सुरु गरिएको यो १८ डी सिनेमा सम्पूर्ण उमेर समूहका दर्शकका लागि रोमाञ्चक गन्तव्य बन्ने अपेक्षा छ।
सबै उमेर समूहका लागि आकर्षक मानिएको यो प्रविधियुक्त सिनेमाको मज्जा लिन दर्शकले तीन सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
प्रकाशित: ३ वैशाख २०८२ १२:०८ बुधबार





