१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

‘मिडियामै उपेक्षित दलित महिला’

मूलधारका मिडिया दलित महिलाको समस्या मिडियामै उपेक्षित भएको गुनासो दलित महिला अधिकारकर्मीले गरेका छन्। मंगलबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरूले यस्तो गुनासो गरेका हुन्।

दलित महिला संघकी संस्थापक अध्यक्ष दुर्गा सोवले पिँधमा रहेका र सीमान्तकृत महिलाको समस्या फरक भए पनि मिडियाले बेवास्ता गरेको बताइन्। ‘दलित तथा सीमान्तकृत महिलाले झेलेका समस्या आम महिलाको भन्दा भिन्न छन्, यी समस्यामा अहिले पनि मिडियाको मुद्दा बन्न सकेको छैन,’ उनले भनिन्।

उनले केही समयअघि जातकै कारण मुगुमा डेराबाट निकाला भएकी अनमी तुलना विकको स्मरण गर्दै यस्ता सयांै घटना दलित महिलाले झेलेको बताइन्।  

पछिल्लो समय अन्तरजातीय विवाहको कारण विस्थापित भएका दलित महिलाको संख्या सयौंको संख्या रहेको, उनीहरूमाथि भएको बलात्कार, हत्या, हिंसा र आर्थिक रूपमा झेलिरहेको दुर्दशाको विषय मिडियाले खोजपूर्ण रूपमा बाहिर ल्याउन आवश्यक रहेको सोवले बताइन्।

‘दलित तथा सीमान्तकृत महिलाका मुद्दा उठाउने मात्र हो भने अहिलको अवस्था सुधारमा ठूलो प्रभाव पर्छ,’ उनले भनिन्। संविधानले सीमान्तकृत महिलाको राज्यको हरेक निकायमा समावेशीको सुनिश्चतता गरे पनि कार्यान्वयन नहुँदा समस्या कायमै रहेको उनको गुनासो छ। ‘समावेशीको मु्द्दा कार्यान्वयन भएको छैन, तर यो विषयमा मिडिया नै मौन छन्,’ उनले भनिन्।

३० वर्षदेखि सीमान्तकृत महिलाले लैंगिक, सामाजिक, जातीय तथा आर्थिक विभेद झेलिरहेका महिलाहरूको सशक्तीकरण र अधिकारको क्षेत्रमा काम गरेका छौं, यसको कतै मूल्याकंन छैन,’ सोवले भनिन्।

दलित महिला संघले आम महिला र सीमान्तकृत महिलाका समस्या र सशक्तीकरणमा लामो यात्रामा तय गरेको भए पनि आफ्नो योगदानको कदर हुन नसकेको उनले गुनासो गरिन्।  

सीमान्तकृत तथा आम महिलामाथिको विभेद अन्त्य गर्न र समान विकासको तहमा पु¥याउन अब राज्यले महिलामा लगानीपर्ने उनको अध्यक्ष सोवले सुझाव दिइन्। ‘अबको महिला सशक्तीकरण र विकास उनीहरूमा राज्य र अन्य निकायले गर्ने लगानी नै हौ, अहिले यो विश्वव्यापी अभियान बनेको छ,’ उनले भनिन्।

सञ्चारिका समूहकी उपाध्यक्ष पवित्रा सुनारले नीतिगत रूपमा व्यवस्था भएको समावेशी सञ्चार गृहले समेत पालना नगरेको बताइन्। ‘पछिल्लो समय केही मिडियाले सीमान्तकृत तथा दलित महिला सहभागिता सुरु गरेको देखिन्छ तर पूर्ण समावेशी नीति पालना भएको छैन,’ उनले भनिन्।

दलित महिला संघकी अध्यक्ष कला स्वर्णकारले मिडियाले सीमान्तकृत महिला माथि कायम हिंसा र विभेदको विषयमा उठान नगरेमा समस्या यथावत रहने बताइन्। ‘दलित महिलाको योगदान न नागरिक समाजमा स्वीकार छ न राजनीतिक दलमा,’ उनले भनिन्।

सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले मूलधारका मिडियामा समावेशी संरचना लागु गर्न पहल गर्ने बताइन्। ‘अब हामी मिलेर अनुगमन निकायलाई नै घच्घच्याँउछौं,’ उनले भनिन्।

यसका साथै मिडियामा महिला नेतृत्वको स्थितिको अध्ययन र मूल्याकंनको पैरबी गर्ने उनले बताइन्। सहभागी पत्रकार महिलाहरूले मिडियामा देखा परेको संकटको पहिलो मार पत्रकार महिलामाथि परेको बताएका थिए।

प्रकाशित: २८ चैत्र २०८० ०७:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App