१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सुन तस्करी प्रकरणः अनुसन्धानमा सिफारिस भएकालाई कारबाही गर्न छुट्टै समिति

गृह मन्त्रालयले सुन तस्करी प्रकरणको अनुसन्धानमा गम्भीर लापरवाही गरेको आरोपमा कारबाही सिफारिस भएका प्रहरीलाई कस्तो कारबाही गर्न भन्ने विषयमा अर्को समिति बनाएको छ।

कारबाही सिफारिसमा परेका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यसहित एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहालमाथि थप छानबिन र कारबाहीका लागि अर्को समिति बनाएको हो।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले कानुन महाशाखाका सहसचिव भरतमणि रिजालको नेतृत्वमा तीन सदस्यीय समिति बनाइएको बताएका छन्। समितिमा रिजालसँगै नेपाल प्रहरीका डीआईजी भीमप्रसाद ढकाल र गृह मन्त्रालयकै प्रहरी प्रशासन शाखाका उपसचिव रामबहादुर शाही रहेका छन्।

प्रवक्ता भट्टराईले रिजाल नेतृत्वको समितिले उच्चस्तरीय सुन तस्करी जाँचबुझ आयोगले दिएको प्रतिवेदन अध्ययन गरेर कसलाई के कारबाही गर्ने भन्ने सिफारिस गर्ने बताए।

गत २ साउनमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिँदै गरेको ६० किलोभन्दा बढी सुन र विद्युतीय चुरोट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरण अनुसन्धानका लागि छुट्टै स्वतन्त्र आयोग बनाउने माग राख्दै संसद अवरुद्ध भएपछि सरकार आयोग गठनका लागि तयार भएको थियो।

गत चैत १ मा गृह एवं उपप्रधान मन्त्री रवि लामिछानेलाई पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगले प्रतिवेदन बुझाएको थियो। ४८५ पृष्ठ लामो प्रतिवेदनमा सीआईबीका चार प्रहरी अधिकृतलाई विभागीय कारबाहीका लागि सिफारिस गर्नुका साथै अनुसन्धानमा खटिएका सबै प्रहरीहरुको सरुवा गर्नुपर्ने उल्लेख गरेको थियो।

जसअनुसार विभागीय कारबाहीका लागि सिफारिस भएका चारै जनालाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा सरुवा समेत गरिएको छ। उनीहरुले सुन तस्करीका मुख्य अभियुक्त अछामको जीवन चलाउनले बयान गराएर पनि भगाएको आरोप आयोगले लगाएको छ। सीआईबीमै गएर बयान दिएका व्यक्ति चलाउनेलाई भगाएकोदेखि कृष्णबहादुर महरालाई समेत उन्मुक्ति दिएर गम्भीर गल्ती गरेको आयोगले औंल्याएको थियो।

प्रकाशित: ११ चैत्र २०८० १२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App