२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एकपटक मन्त्री फेरिँदा क्वाटरका लागि हुन्छ ६ लाख खर्च

एकपटक मन्त्री फेरिएमा मन्त्री निवासका लागि तयार गरिएको क्वाटरमा सरसफाइ, रंगरोगन तथा सामान फेरबदल गर्न ६ लाखभन्दा बढी खर्च हुने गरेको छ। मन्त्री क्वाटरको रेखदेख, तथा व्यवस्थापन गर्न र मन्त्री निवासमा बस्ने मन्त्रीका परिवारका सदस्यले कुनै सामान माग गरेमा तुरुन्तै उपलब्ध गराउने प्रयोजनका लागि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय गठन गरिएको छ।

व्यवस्थापन कार्यालयले मन्त्री फेरिएपछि नयाँ मन्त्रीका लागि नयाँ सामान उपलब्ध गराउने गर्छ। व्यवस्थापन कार्यालयका कार्यालयका कर्मचारीले मन्त्री तथा मन्त्रीका सदस्यहरूले प्रयोग गर्ने गलैंचा, पर्दा, सोफा सिरकलगायतका सबै सामान नयाँ फेर्ने गर्छन। यसरी नयाँ सामान फेर्दा एउटा निवासका लागि पाँचदेखि ६ लाख खर्च हुने गर्छ।

मन्त्री निवास पुल्चोकमा बस्ने मन्त्री र उनीहरूका परिवारका सदस्यहरूलाई चाहिने दैनिक सामान उपलब्ध गराउन व्यवस्थपान कार्यालयले मन्त्री क्वाटरमै एउटा युनिट राखेको छ। मन्त्रीका परिवारका सदस्यहरूले आफूले प्रयोग गर्ने कुनै पनि सामान माग गर्नबित्तिकै सचिवालयका कर्मचारीहरूले तुरुन्त उपलब्ध गराउने गर्छन्।

मन्त्री निवास पुल्चोकमा मन्त्रीका लागि १९ वटा मात्र ब्लक छन्, जसमा १९ जना मन्त्री मात्र त्यहाँ अट्छन्। बाँकी मन्त्री क्वाटरबाहिरै बस्नुपर्छ। संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय स्रोतका अनुसार मन्त्रीमण्डल पुनर्गठनपछि मन्त्री निवास पुल्चोकमा रहेका १९ वटै ब्लक बुक भइसकेका छन्।

अब जनता समाजवादी पार्टी (जसपा) बाट उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रीमा सिफारिस भएका उपेन्द्र यादव भने मन्त्री क्वाटरमा बस्न नपाउने भएका छन्।

व्यववस्थापन कार्यालय स्रोतका अनुसार बिहीबार यादवका परिवारका एकजना सदस्यले मन्त्री निवासभित्र रहेको एउटा ब्लक बुक गर्न सचिवालयका कर्मचारीसँग सोधपुछ गरेका थिए। तर, सचिवालयका कर्मचारीले ‘सबै ब्लक बुक भइसकेका छन्। अब प्रधानमन्त्री नै आए पनि ब्लक बुक गर्न सकिन्न,’ भनी जवाफ फर्काएको सचिवालय स्रोतले बतायो।

सचिवालयका एक कर्मचारी भन्छन्, ‘अब उहाँ (यादव) मन्त्री निवासबाहिरै बस्नुपर्‍यो। या निवासमा रहेका कुनै एक मन्त्रीलाई निवासबाहिर बस्न लगाएर खाली रहेको ब्लकमा आफू बस्नु प¥यो।’

मन्त्री निवासमा रहेका १९ वटा ब्लकमध्ये १४ वटा पुराना र ५ वटा नयाँ ब्लक छन्। नयाँ ल्बकमा सामान्यता उपप्रधानमन्त्री, गृहमन्त्री तथा महत्त्वपूर्ण मन्त्रालय सम्हालेका मन्त्रीहरू बस्ने गर्छन्। नयाँ ब्लक पुराना भन्दा केही सुविधासम्पन्न छन्।

सचिवालय स्रोतका अनुसार निवर्तमान शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले अझै मन्त्री क्वाटर छाडेकी छैनन्। उनका परिवारका सदस्यले मन्त्री क्वाटर छाडेको बुझबुझारथ अझै नगरेको सचिवालयका अर्का एक कर्मचारीले बताए। सामान्यता मन्त्रीबाट हटेको एक हप्तासम्म क्वाटरमा बस्न पाउने सुविधा हुन्छ।

सचिवालय स्रोतका अनुसार गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेका परिवारका सदस्यहरूले डी १ ब्लक बुक गरेका छन्। यसअघि पनि लामिछाने पुस ११ मा उपप्रधानसहित गृहमन्त्री बनेका थिए। मन्त्रीको हैसियतमा उनी ३३ दिन गृह मन्त्रालयमा बसेका थिए। त्यतिबेला पनि उनी मन्त्री निवासमै बसेका थिए।

यसैगरी, उपप्रधान तथा परराष्ट्रमन्त्रीका परिवारका सदस्यहरूले डी ४ ब्लक बुक गरेका छन्। यसैगरी उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठका परिवारका सदस्यहरूले डि १, अर्थमन्त्री वर्षमान पुनले डी २, ऊर्जा जलस्रोतमन्त्री शक्ति बस्नेतले बी ४, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सी २, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बी १ ब्लक बुक गरेका छन्।

सचिवालयका कर्मचारीका अनुसार निवर्तमान शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले क्वाटर छाडेमा उक्त ब्लकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बस्ने भएका छन्। अर्यालका परिवारका सदस्यहरूले उक्त ब्लक बुक गरिसकेका छन्। सचिवालयका कर्मचारीहरूको बुक गरिएको ब्लकमा अस्थायी प्रकृतिको नेमप्लेट टाँसिसकेका छन्।

सहरी विकास मन्त्रालयले मन्त्री निवासका लागि ललितपुरको भैंसेपाटीमा आधुनिक र सुविधासम्पन्न भवन निर्माण गरिरहेको छ। भैंसेपाटीमा भवन निर्माणको काम पूरा भएमा त्यहाँ सबै मन्त्री अट्ने भएका छन्।

प्रकाशित: २८ फाल्गुन २०८० १०:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App