१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पक्राउ परेका व्यक्ति अस्पताल भर्ना हुँदा पनि बेखुसी छन् सर्वसाधारण

बाँसबारी छाला जुत्ता कारखाना जग्गा प्रकरणमा पक्राउ परेका उद्योगी अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई अस्पताल भर्ना  गरियो। थापालाई मुटुको समस्या र चौधरीलाई सुगर प्रेसरको समस्या रहेको भन्दै चिरायु अस्पताल भर्ना गरिएपछि सर्वसाधारणले यसलाई नाटकको संज्ञा दिएका छन्।

‘रामे–श्यामे’ पक्राउ पर्दा नदुख्ने, धनी पक्राउ पर्दा  किन दुख्छ मुटु?  सामाजिक सन्जालमा मनोहरी कार्की लेख्छन्, ‘हिरासतबाट बच्न  प्रयोग गरिएको अर्को अपराधिक बाटो हो यो।’

चौधरी र थापालाई बिहीबार दिउँसो सिआइबीले पक्राउ गरी अनुसन्धान सुरु गरेको हो। जिल्ला अदालत, काठमाडौँले उनीहरूलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिए लगत्तै जेल बस्न छाडेर उनीहरूले बिरामी भएको बहाना बनाएको सर्वसाधारणको टिप्पणी छ। 
‘यो नाटक हो, जेलको चिसोमा सुत्नुपर्ला भनेर भिआइपी अपराधी बनेको,’ सामाजिक सञ्जालमा वासुदेव अधिकारी  लेख्छन्, ‘धनीलाई जेल जानबाट बच्न तुरुन्तै समस्या सिर्जना हुँदो रहेछ, धन्यवाद डाक्टर साप।’

अधिकारीले भनेजस्तै  कतिपय भिआइपीहरू पक्राउ पर्ने बित्तिकै अस्पतालमा भर्ना हुने चलन नौलो होइन। यस अघि पनि विभिन्न प्रभावशाली व्यक्ती पक्राउ परेलगत्तै मुटु दुख्ने, प्रेशरको समस्या लगायतका बहाना बनाएर अस्पताल भर्ना भएका उदाहरण रहेका छन्।

यसमा उद्योगी, व्यापारी मात्र हैन, राजनेता र अभिनेताले पनि यस्ता नाटक दोहोराएका छन्। आपराधिक विश्वासघातको आरोपमा असोजको दोस्रो साता पक्राउ परेका नायक अनमोल केसी पनि त्यति बेला  नर्भिक अस्पताल भर्ना भएका थिए। पक्राऊ परेलगत्तै  केसीको स्वास्थ्यमा अचानक समस्या आएपछि अस्पताल भर्ना भएको बताइयो।

‘ठुलाबडाहरू पक्राउ पर्ने वित्तिकै अस्पताल भर्ना हुने फेसनजस्तै भइसक्यो,’ कमल पराजुली लेख्छन्, ‘यही हो,गरिबलाई ऐन ठूलबडालाई ‘चेन’ भनेको।’

प्रकाशित: १९ माघ २०८० १०:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App