२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

धार्मिक–पर्यटकीय सम्भावनाको अध्ययन गर्न १५ दिने पदयात्रा

१५ दिने पद्यात्राको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की ।

पूर्वको नाम चलेको धार्मिक स्थल बराहक्षेत्रसँगै आसपासका सुनसरी सहित उदयपुर र धनकुटालाई समेटेर धार्मिक र पर्यटकीय सम्भावनाको अध्ययन गर्नका निम्ति धार्मिक अगुवाले आज शुक्रबारदेखि १५ दिने पदयात्रा सुरु गरेका छन् । बराहक्षेत्र नगरपालिका वडा नं १ स्थित कुम्भ स्थल चतराधामबाट पदयात्राको शुभारम्भ गरिएको हो । जसको औपचारिक उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गरे।

नेपालका प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्यको अगुवाईंमा सुरु गरिएको पदयात्रामा सहभागीले पहिलो दिन सप्तकोसी नदीको पश्चिम तटीय क्षेत्र उदयपुरको बेलका नगरपालिका वडा नं. ७ मा रहेको महाकाली भगवतीको दर्शन गर्नेछन् । टोली त्यहाँबाट उत्तर कौशिकी नदीको किनारै किनार कालिन्दी गङ्गाको तटमा राति बास बस्नेछ । यसैगरी, पदयात्रामा सहभागी टोलीले २५ गते बिहान उदयपुरकै कालिन्दी मैनकोट पर्वतमा रहेको मैनादेवी भगवतीको दर्शन गर्नेछ।२६ गते कालिन्दी मैनबाट उकालो लागेर त्रिवेणी धाममा पदयात्रामा रहेको टोली बास बस्ने तय भएको छ।  

टोलीले २७ गते धनकुटाको सफाइटारमा रहेको शिव मन्दिरमा दर्शन गर्नेछ। यसैगरी, पदयात्रामा रहेको टोली २८ गते मूलघाट विश्रान्तीधाम पुग्नेछ। २९ गते तिहारको भाइटिका परेकाले गर्दा पदयात्रामा सहभागीसँगै अन्यलाई समेत डाकेर विश्रान्तीधाममै टिका लगाउने कार्यक्रम तय भएको छ।  

 टोलीले कार्तिक ३० गते धनकुटाको बेलहरा, सागुरीगढी, नमस्ते झरनालगायतका क्षेत्र यात्रा गर्नेछ । यसैगरी, मंसिर १ गते धरानको शिवजट्टाधाम पुगेर २ गते त्यहीबाट यात्रा प्रारम्भ भएर धरानको बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर मन्दिरको दर्शन टोलीले गर्नेछ। मंसिर ३ गते तरहरा हुँदै इटहरीको बुढी खोलाको पूर्व मोरङ सुन्दरहरैँचा क्षेत्रमा रहेको विश्वरुपेश्वर महादेव मन्दिर आइ पुग्नेछ।

धार्मिक अगुवाको टोली मंसिर ४ गते रामधुनी मन्दिर पुग्नेछ। रामधुनीको वडा नं. ४ मा रहेको मन्दिर इतिहास त्रेता युगमा भगवान् राम आएर बसेको स्थानका रूपमा चिनिन्छ। त्यही भएर त्यही एक रात बास बसिने वालसन्तले बताए। रामधुनीमा अस्ना प्रजातिका मुढा निरन्तर जलाइन्छ। त्रेता युगदेखि अहिलेसम्म त्यहाँ आगो ननिभेको विश्वास गरिन्छ।

भगवान् राम भारतको आयोध्यापुरबाट जनकपुर हुँदै पूर्व आएका बेला बास बसेको स्थान रामधुनी भएको किंवदन्तीमा रहेको छ । रामले बालेको आगो निभ्न नदिईकन बाबा वनखण्डीले त्यसलाई उजागर गरेको पाइन्छ। यसको काठको बिगुत प्रसादका रूपमा लगाउने चलन छ । सखुवामा आँप फल्छ भन्ने किंवदन्ती पनि रहेको पाइन्छ।

रामधुनीपछि पदयात्रा प्रकाशपुर, राजाबास हुँदै ६ गते चक्रघट्टीमा यात्रामा सहभागीले विश्राम लिनेछन्।मंसिर ७ गते चतराधाम हुँदै ८ गते बराहक्षेत्र पुगेर यात्रा टुंगिनेछ।  

बालसन्तका अनुसार बराहक्षेत्रसँगै आसपासका धार्मिक स्थलको पहिचान गरि सम्भावनाको अध्ययन गर्दा सुनसरी, उदयपुर र  धनकुटामा रहेका धार्मिक क्षेत्रलाई कसरी विकास गर्न सकिन्छ ? भनेर एउटा महत्वपूणं अध्ययन हुने बताए।

बराहक्षेत्रको चतरामा १२/१२ वर्षमा महाकुम्भ मेला र ६/६ वर्षमा अर्ध कुम्भमेला लाग्ने गर्छ।मेलाबाहेक वराहक्षेत्र मन्दिर पनि नाम चलेको मन्दिर हो । कुम्भ मेलाबाट साराका लागि पुण्यप्राप्ति हुने विश्वास छ। कुम्भ भनेकै स्नानको महत्व हो।त्यसैले गर्दा कुम्भमा आएर स्नान गर्दा जीवनमा वरदान प्राप्ति हुने विश्वास छ। महाकुम्भ मेलाको पूर्वसन्ध्यामा एउटा महत्वपूर्ण अध्ययन गरेर सरकारलाई सुझाव दिनका लागि पनि यो पदयात्रा महत्वपूर्व हुने बालसन्तले बताए । यात्रामा नेपालसहित भारतका गरि दुई सय हाराहारी धार्मिक अगुवाको सहभागिता रहनेछ।

महाकुम्भ आगामी चैत २७ गतेदेखि २०८० वैशाख २७ गतेसम्म आयोजना हुने भएको छ।पूर्ण महाकुम्भ मेलालाई महाकुम्भलक्षित पदयात्राले भक्तजनलाई सहभागिताको आमन्त्रण समेत गर्ने  जगतगुरु बालसन्तले जानकारी दिए।  

प्रकाशित: २४ कार्तिक २०८० ०९:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App