नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको निकासका निम्ति कार्यकारी राष्ट्रपतिमा जानुपर्ने सुझाव दिएका छन्। ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलसँग संवाद गर्दै भट्टराईले राजावादी गतिविधि र नेपालको अविकासलगायतका विविध पक्षबारे विश्लेषण गरेका छन्। संवादको सम्पादित अंश।
काठमाडौंको प्रदूषणले धेरैलाई अस्वस्थ बनाइरहेको छ, तपाईंलाई कस्तो छ?
एउटा योजनाको विद्यार्थी भएको नाताले म एकदमै चिन्तित छु। काठमाडौं सहर योजनाबद्ध विकसित होस् भनेर उपत्यका विकास प्राधिकरण बनाएँ। बस्तीहरू पनि योजनाबद्ध हुन् भन्ने विषय पढेको मान्छे म आँखा अगाडि यस्तो प्रदूषण देख्दा चिन्ता लाग्छ।
भूमिगत राजनीतिका बेला वार्तामा आउनुभएका डा. बाबुराम भट्टराई र अहिलेका डा. बाबुराम भट्टराईबिच के अन्तर छ?
केही पनि अन्तर छैन। म चेतनशील बनेदेखि नै सत्य र न्यायका निम्ति जीवन समर्पण गर्नु नै सार्थकता हुन्छ भन्ने मेरो प्रतिबद्धता छ। संसार परिवर्तनशील छ, चिजहरू गतिशील हुन्छन्। त्यसकारण सत्य पनि सापेक्ष विकसित हुँदै जान्छ। तत्कालीन सत्यको पक्ष लिने, न्यायका निम्ति समर्पित हुने र संघर्ष गर्ने त्यही नै मेरो जीवन हो। हिजो संघर्षको रूप फरक थियो, आज फरक छ, तर मेरो जीवनको यात्रा एउटै छ।
भूमिगत हुनुअघिका बौद्धिक डा. भट्टराई र शान्तिपूर्ण राजनीतिमा आएका सबैको आकर्षण रहेका भट्टराईभन्दा अहिले अस्थिर राजनीति गरिरहेका नेताको परिचय त बनिरहेको छैन?
त्यो गलत बुझाइ हो। नयाँ चिज अगाडि ल्याउँदा थोरै मान्छेले मात्रै बुझ्छन्। र ग्रहण गर्ने मान्छे झन् थोरै हुन्छन्। २००७ सालबाट बिपी कोइराला र पुष्पलाल श्रेष्ठले जुन विचारको प्रतिवादन गर्नुभयो, उहाँलाई आफ्नो जीवनकालमा सफल कसरी भन्ने? बिपी कोइराला १८ महिना प्रधानमन्त्री हुनुभयो।
कति समय जेल बस्नुभयो। २०३९ सालमा उहाँको निधनअगाडि अस्पतालमा भेटेको थिएँ। निराश मुद्रामा दिवंगत हुनुभयो। २०३५ सालमा पुष्पलाल बित्नुभयो। उहाँ पनि दिल्लीमै बित्नुभयो। त्यहीं पढ्दै थिएँ। उहाँ त झन् एक्लो हुनुहुन्थ्यो। पुष्पलाललाई गद्दार र बिपीलाई दलाल भन्थे, तर अहिले पनि उहाँहरू महान् हुनुभएको छ। त्यसकारण तत्काल मान्छेले के भन्छ भन्दा पनि सत्य र न्याय महत्वपूर्ण कुरा हो। म त्यसमा छु भन्ने ठान्छु।
आफ्नो विचार र अडानमा उभिइराख्नुपर्छ र गरिराख्नुपर्छ भन्ने हो?
हैन। ढिपीपूर्ण विचारभन्दा पनि म विज्ञानको विद्यार्थी हुँ। समाज विज्ञान र राजनीतिक अर्थशास्त्रको विद्यार्थी हुनुको नाताले तथ्यबाट सत्य खोज्ने चिजलाई गतिमा बुझ्नुलाई म उचित ठान्दछु। अहिले एक्काइसौं शताब्दीसँगसँगै विश्व चौथो औद्योगिक क्रान्तिमा प्रवेश गरेको मानिन्छ। हिजोका मूल्य मान्यता, विचार दर्शन, राजनीतिक प्रणाली, आर्थिक प्रणाली सबै रूपान्तरित भएका छन्। नयाँ संसार बन्दैछ। त्यो अनुकूल नेपाललाई जोड्ने भन्ने चिन्ताले म नयाँनयाँ प्रयोगमा लागेको हुँ। त्यसकारण मान्छेलाई सुरुमा बुझ्न अलि कठिन हुन्छ।
पछिल्लो अवस्थाबारे मात्रै चर्चा गर्ने हो भने तपाईं करिब आधा दर्जन दल तथा समुहमा आबद्ध भइसक्नुभयो। माओवादी, नयाँ शक्ति, जसपा नेपाल, फेरि नेपाल समाजवादी अनि अहिले नेपाल समाजवादी पार्टी नयाँ शक्ति। किन यति धेरै गति?
गर्मीमा एउटा लुगा लगाउँछु, जाडोमा अर्को लगाउँछु। तैंले हिजो अर्कै कोट लगाएको थिइस्। आज अर्को किन भन्नुभएन। मान्छे के हो भन्ने कुरा प्रमुख हो। विचारमा हेर्ने हो भने २०३३/३४ सालदेखि नेपालको इतिहास बुझ्दै जाँदा र नेपाल पछि पर्नुको कारण हेर्दा विश्वमा जसले बेलैमा राज्यको प्रणाली बदलेर लोकतान्त्रिक गर्यो र निरंकुश राजतन्त्रजस्ता प्रणाली अन्त्य गर्यो। आधुनिक विज्ञानलाई आत्मसात गरी प्रयोग गरे उनीहरू विकसित भए। जो पुरानै सामन्तवादी, राजतन्त्रवादी प्रणाली अपनाएर बसे, तिनीहरू पछाडि परे भन्ने बुझेपछि मैले २०३५ वैशाख १ गते डायरीमा पनि लेखेको छु– राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना। नेपाललाई समृद्ध बनाउने र त्यो मार्गमा निरन्तर लागिरहने। मेरो त्यो प्रतिबद्धताअनुसार नै २०७२ सालमा संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जारी नहुञ्जेल मेरो त्यो यात्रारत रह्यो।
२०७२ असोज ३ गते संविधान जारी भइसकेपछि नेपाली इतिहास अब आर्थिक विकास र समृद्धिको नयाँ युगमा प्रवेश गरेको छ। अब विकास र समृद्धिलाई केन्द्रमा राखेर नयाँ ढंगको राजनीति गर्नुपर्छ भनेर नयाँ शक्तिमा लागियो। त्यसयता विभिन्न रूप मिलाउँदै जाँदा विभिन्न समुहमा साथीलाई लिएर जाँदा तिनको व्यवस्थापन त गर्नुपर्यो। विचार हेर्नुभयो भने २०७२ सालमा नयाँ शक्तिको खाँचो अभियान जुन सुरु गरेको थिएँ। अहिले पनि त्यसैमा नेपालको समस्या र समाधानका उपाय रहेका छन्। त्यसैले बाटो फेरेको छैन। बाटोमा हिँड्दै जाँदा मौसमअनुसारको लुगा फेरेको हो, तर काम विचार यात्रा फेरिएको छैन।
तपाईं जताजता जानुहुन्छ, उतैउतै कार्यकर्ता छाडेर आउनुहुन्छ?
मैले छाडेको होइन। २०३५/३६ सालमा पञ्चायतविरोधी आन्दोलनमा गणतन्त्रको शक्ति एक हुनुपर्छ भन्ने पक्षको थिएँ। त्यसैले सुरुवातमा कांग्रेस र कम्युनिस्टहरूको समदुरीमा थिएँ। अल इन्डिया नेपलिज एसोसिएसनको अध्यक्ष थिएँ, जुन साझा थियो। त्यहींबाट मेरो राजनीतिक जीवन सुरु भएको हो। त्यसकारण सुरुदेखि नै मैले कुनै विचार समातेको होइन। गणतन्त्र र लोकतन्त्र ल्याउनुपर्छ भन्नेका निम्ति सबैलाई लिएर जानुपर्छ भनेर सुरु गरें।
पछि विशेषगरी बिपीले गणतन्त्रको लाइन छाड्नुभयो। राजासँग मिल्ने नीति लिएपछि कम्युनिस्टहरूले गणतन्त्र समातेकाले म यता लागें। त्यसबाट जनयुद्ध हुँदै २०६२/६३ को जनआन्दोलन, बाह्रबुँदे समझदारी हुँदै पछिल्लो संविधानसभाबाट जुन संविधान बनायौं, त्यो त सबै आएर बन्यो। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि २००७ सालदेखिको प्रक्रिया पूरा भयो।
कहिलेकाहीं नेपालको राजनीतिका लागि डा. बढी भएको महसुस हुन्छ? किनभने यहाँ पढेर भन्दा परेर आएका नेता बढी सफल भएका छन्।
पढ्नु नि पर्छ, पर्नु नि पर्छ। म गाउँले गोठालो मान्छे। परिस्थितिले अवसर पाएर मैले अध्ययन गरें। दुइटै गर्नुपर्छ। सिद्धान्त र व्यवहार दुवै हुनुपर्छ। म त्यसैको प्रयोगमा छु।
तपाईंमा देश बनाउने हुटहुटी थियो। क्षमता थियो। ठाउँमा पनि पुग्नुभएकै हो तर किन सक्नुभएन? कि टिक्न दिइएन?
ठिक ठाउँमा आउनुभयो। पहिले त संविधानसभाबाट संविधान जारी गरेर जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउनु थियो। अब हामी कोही पनि राजा–महाराजाहरूको शासनमा थिचिएर बस्दैनौं। नेपाली जनता आफ्नो भविष्य आफैं निर्धारण गर्न सक्छन् भन्ने कुरा टुंगिएपछि अब देशको मानवीय र प्राकृतिक साधनस्रोतको पूर्ण सदुपयोग गरेर देशलाई १०/१५ वर्षभित्र विकास र समृद्धिको पथमा लैजानुपर्छ भन्ने जुन नयाँ यात्रा छ, त्यसका निम्ति राजनीतिक स्थिरता चाहिन्थ्यो। संविधान निर्माण गर्ने बेलामा नै मैले अन्तिमसम्म पनि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा नगएसम्म नेपालजस्तो जटिल भूराजनीति र हिमाल, पहाड, तराई भएको देशमा स्थिरता आउँदैन भनेकै हो। त्यसकारण मैले संविधान जारी भएकै दिन यो संविधान अपूर्ण छ भनेकै हो। अब संविधानलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जानुपर्छ।
हाम्रोजस्तो देशमा जहाँ सन्तुलन र नियन्त्रणको व्यवस्था त्यति बलियो छैन। कुनै एउटा संस्थामा अलिकति अधिनायकवादी सोच भएको व्यक्ति जानेबित्तिकै अप्ठ्यारो हुँदो रहेछ। त्यस्तो ठाउँमा कार्यकारी राष्ट्रपति ल्याउँदा अर्को संकटतर्फ उन्मुख त भइँदैन?
हुँदैन। किनभने लोकतान्त्रिक तरिकाले गर्छौं नि त। प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली भएपछि सबै जनता प्रत्यक्ष निर्वाचनमा भाग लिन्छन्। यसमा सबै जनताको अपनत्व र स्वामित्व रहन्छ। दोस्रो कुरा, संसद्लाई पूर्ण समानुपातिक र प्रत्यक्ष निर्वाचित गर्छौं। त्यसो गर्दा हिमाल, पहाड र तराई÷मधेसका सबै जनताको सहभागिताले नियम कानुन बन्छन् र तिनले राष्ट्रपतिलाई पनि आवश्यक परे महाअभियोग लगाएर नियन्त्रणमा राख्न सक्छन्। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले केही व्यक्तिलाई लिएर मन्त्रीमण्डल बनाउँछ र बल्ल त्यसले सुशासन र काम गर्न सक्छ। यसको सन्तुलन मिलाएरै हामी जान सक्छौं।
भनेपछि हामी प्रणाली मात्रै फेरिराख्ने?
लोकतन्त्र मास्ने भनेको छैन नि। लोकतन्त्र मासेर राजतन्त्र ल्याउने कुरा हो भने त्यो प्रणाली फेर्नु हो। प्रधानमन्त्रीय प्रणाली गर्ने कि राष्ट्रपतीय प्रणाली गर्ने वा संसदीय प्रणाली गर्ने कि समावेशी प्रणाली गर्ने भन्ने लोकतन्त्रकै भिन्नभिन्न रूपहरू हुन्। संसदमा सबैको प्रतिनिधित्व हुनुपर्छ तर कार्यकारीलाई पूर्ण अधिकार दिइनुपर्छ। त्यो सन्तुलन भए स्थिरता आउँछ। र, त्यसले विकासको बाटो लिन्छ। यो नभएसम्म नेपाल समृद्ध बन्न सक्दैन।
क्षमता भए पनि ठुलो पार्टी किन बनाउन सक्नुभएन?
बनाएकै त हो नि। माओवादी पार्टी कसले बनायो ? २०४६÷४७ सालअघि प्रचण्ड, निर्मल लामादेखि मोहन वैद्य किरण हामी सबै फरक–फरक ठाउँमा थियौं। पछि हामी एक ठाउँमा आएर माओवादी पार्टी बनायौं। बाबुराम त संस्थापक हो माओवादीको। बाहिर देखिने चेहरा त माओवादीको थियो। त्यसले त्यत्रो विद्रोह गरेर संविधानसभासम्म पुर्यायो। त्यो अध्याय पूरा भयो अब। अब विकासका निम्ति माओवादी विचार र भाष्यले पुग्दैन। अगाडि बढेको विचार चाहिन्छ, जसलाई हामीले लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवाद भनेका छौं। संविधानले पनि त्यही परिभाषित गरेको छ।
२०७२ सालमा संविधान जारी भएलगत्तै माओवादी अध्यक्ष प्रचण्डसँगको सहकार्य तोड्नुभयो, तर २०७९ को निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र सुम्पिनुभयो र जिताउनु पनि भयो, किन?
माओवादी भनेर उहाँ (पुष्पकमल दाहाल) लाई छाडेको होइन। माओवादी पार्टीलाई नै समाजवादी पार्टीमा रूपान्तरण गरौं भनेर त्यतिबेलै भनेको छु। नाम र विचार फेरौं भन्ने मेरो प्रस्ताव थियो। उहाँहरू पहिले एमालेतिर मिल्न जानुभयो। माओवादी पार्टी त उहाँले नै विघटन गर्नुभएको हो। त्यहाँ मिल्न नसकेपछि त्यहाँभित्रका साथीले नयाँ ढंगले जाऊँ विचार तपाईंकै सही हो भने। ‘त्यतिबेला हामीले बुझेका थिएनौं, पार्टीले बुझेको थिएन, पछि बुझेर आयो। तपाईंले पुरानो माओवाद भनेर हुँदैन। नयाँ ढंगको समाजवादी पार्टी बनाउनुपर्छ जुन भन्नुहुन्छ त्यही दिशामा जान्छ त्यसमा सहकार्य गरौं’ भन्ने साथीहरूले भन्नुभयो र मैले सदासयतापूर्वक त्यो कुरा छाडें, तर चुनाव जितिसकेपछि प्रचण्डजी फेरि कहिले एमाले त कहिले कांग्रेस हुन थाल्नुभयो। बाटो उहाँले छाडिदिनुभयो। मैले छाडेको छैन।
माओवादीसँग एकताको सम्भावना देख्नुहुन्छ?
कहाँ छ माओवादी पार्टी ? माओवादी पार्टी नै छैन। त्यसको काम त सकिइसक्यो। उहाँहरू रूपान्तरित भएर यो बाटोमा आउनुपर्यो। नयाँ युगसुहाउँदो, नयाँ विचारसुहाउँदो नयाँ वैकल्पिक शक्ति बनाउँदै छौं। भविष्य यसैको छ।
पछिल्लो समय प्रचण्डसँग कस्तो सम्बन्ध छ?
व्यक्तिगत सम्बन्ध राम्रै छ। भेटघाट हुन्छ। हाइहेलो हुन्छ। दुस्मनी कसैसँग गर्दिनँ। वैचारिक लडाइँ सबैसँग हुन्छ। व्यक्तिगत दुस्मनी कसैसँग छैन।
प्रचण्ड तपाईंलाई किन विश्वास गर्नु हुन्न? समाजवादी मोर्चामा विप्लव अटाउने तपाईं नअटाउने किन?
यो उहाँलाई नै सोध्नुपर्छ। समाजवादी मोर्चाका नाममा उहाँले ठगी धन्दा गरिरहनुभएको छ। पार्टीचाहिँ कम्युनिस्ट पार्टी, माओवादी पार्टी भन्नुहुन्छ मोर्चाको नाम समाजवादी राख्ने ? यो त ठगी धन्दा नै भयो। कि पार्टीको नाम फेर्नुपर्यो कि त पार्टीको सिद्धान्त।
भूमिगतका बेला प्रचण्डसँगको सम्बन्ध कस्तो थियो?
सधैं राम्रो सम्बन्ध छ। जमेर निरन्तर बहस हुन्थ्यो। व्यक्तिगत दुस्मनी कहिल्यै पनि भएन। अन्ततः प्रचण्डजी मेरै लाइनमा आउनुहुन्छ। किनभने उहाँ सुरुमा संविधानसभाको पक्षका हुनुहुँदैनथ्यो। गणतन्त्रको पक्षमा पनि हुनुहुँदैनथ्यो, तर आउनुभयो त।
तर राजनीति सम्भावनाको खेल हो भन्छन्, माओवादीमा फर्कने सम्भावना छ?
त्यो त जन्मिइसकेको बच्चालाई आमाको पेटमा फर्कन्छौ भनेजस्तै हो। त्यो असम्भव कुरा हो।
त्यसो भए नेपालमा कम्युनिस्ट पार्टीको आवश्यकता छैन?
छैन। विस्तारै बुझ्नु हुन्छ उहाँहरूले। कांग्रेस र कम्युनिस्ट भन्ने विचार खास समयमा बनेका हुन्। पुँजीवाद र बजार असन्तुष्ट पक्षधर कांग्रेस पार्टी र राज्यले नै सबै थोक नियन्त्रण र नियमन गर्ने भन्ने कम्युनिस्ट पार्टीसित युद्धमा स्थापित भएका हुन्।
अब त शीतयुद्धको पनि अन्त्य भएर एक्काइसौं शताब्दीमा चौथौ औद्योगिक क्रान्ति सँगसँगै नयाँ विचार, नयाँ सिद्धान्त र नयाँ प्रणाली आविष्कार भइरहेका छन्। एआईलगायतले मानिसभन्दा मेसिन जान्ने अवस्थामा संसारमा ठुलो उथलपुथल भइरहेको छ। यस्तो बेलामा हिजोकै पार्टी र हिजोकै विचार समातेर बस्यौं भने हामी धेरै पछाडि पर्छौं।
मैले दसबर्से जनयुद्ध लडें, तर अहिले म विदेशमा छु। मलाई गणतन्त्रले के दियो भन्ने तपाईंका पुराना कार्यकर्तालाई के भन्नुहुन्छ?
यति बलियो अधिकार दियो। यो पाउनुभयो, तर यो पर्याप्त छैन। पहिले त यति बोल्न नि पाइँदैनथ्यो। बाहिर जान पासपोर्ट पनि पाइँदैनथ्यो। गणतन्त्रले यति चेतना दियो। अब नयाँ ढंगले देशमा सुशासन र राजनीतिक स्थिरता हुनुपर्छ। त्यसका लागि हामीले भनेजस्तै संविधान संशोधन गर्नुपर्छ।
राजावादीको प्रदर्शनलाई कसरी लिइरहनुभएको छ?
संसारमा तीनथरीका प्रवृत्ति हुन्छन्। समाजलाई निरन्तर अगाडि लिएर जाने अग्रगामी प्रवृत्ति हुन्छ। उन्नत चेतना भएका मान्छे थोरै हुन्छन्। उनीहरूले बाटो देखाउँछन् र समाजलाई अगाडि लैजाने कोसिस गर्छन्। एकथरी पिछडिएका सोच राख्ने हुन्छन्। पुरातनपन्थीहरू आजभन्दा हिजो राम्रो थियो भन्ने गर्छन्। हिजोकै गुणगान गएर पछाडि फर्कन खोज्छन्। ती पनि थोरै हुन्छन्। बिचमा धेरै मान्छे हुन्छन्, जो प्रस्ट हुँदैनन्। जसले भन्यो त्यसको पछि लाग्ने खालका हुन्छन्, जसलाई यथार्थवादी शक्ति भनिन्छ।
त्यसैले राजावादी भनेका पुरातनवादी शक्ति हुन्। त्यो युग नै सकिइसक्यो। थोरै मान्छे छन्, तिनले आफ्ना कुरा भन्छन्, तर त्यो प्रमुख हुँदैन। प्रमुख कुरा अग्रगामी शक्तिहरूले के भन्छन् ? संघीय लोकतान्त्रिक गणतन्त्रमा टेकेर देशलाई सुशासनसहितको समृद्धि लिएर जाने जुन पाटो हो, त्यो अग्रगमनको बाटो हो। यसलाई पनि भत्काएर पुरानोमै फर्कौं भन्ने त मुठीभरका मान्छेका कुरा मात्रै हुन्। त्यसलाई महत्व दिनु हुँदैन।
पञ्चायतमा तपाईंहरूलाई पनि मुठीभर भन्थे, त्यस्तै भन्नुभएन?
मुठीभर नै हो। त्यो केले नाप्छ ? चुनावमा पनि उहाँहरू (राजावादी) को तीन÷पाँच प्रतिशतभन्दा बढी भोट छैन। सडकमा पनि जुन खालको उद्दण्डता ल्याउने काम गरिरहनुभएको छ, त्यो त उन्नत चेतना भएका त देखिँदैनन। आन्दोलनले गर्ने तरिका पनि त्यो होइन।
जनतामा जुन असन्तुष्टि छ, त्यसको दुरूपयोग गरेर पछाडि फर्कन सकिन्छ कि भनेर दाउ छोपेका हुन्। त्यसले कहीं पुर्याउँदैन। सफल पनि हुँदैन। सम्भव पनि छैन र आवश्यक पनि छैन। महत्व पनि दिनु हुँदैन।
तर यति छिटै यस्तो होला भनेर सोच्नुभएको थियो?
त्यो जहिले पनि हुन्छ। इतिहासमा जहिले पनि भएका छन्। समाजमा सयजनामध्ये ५/१० जना मान्छे खराब खालका हुन्छन् नै। अधिकांश अगुवा जो छन्, तिनलाई डोर्याउनुपर्छ। हाम्रो प्रयत्न भनेको ती पुराना शक्तिसँग अल्झने र तिनीहरूसँग वादविवाद गर्ने होइन। उनीहरूले गलत गर्छन् र संविधानको व्यवस्थाको विरुद्धमा जान्छन् भने कानुनअनुसार कारबाही गर्न नियन्त्रणमा लिनुपर्छ, नत्र हामीले विकल्प दिएर देशलाई अगाडि बढ्नुपर्छ।
दोस्रो जनआन्दोलनपछि पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुन पठाउनुभयो, २० वर्षपछि बेला भयो अब मलाई दिनुपर्यो भनिरहेका छन्। त्यतिबेला के सहमति भएको थियो?
लोकतन्त्रमा कुनै गोप्य सहमति भन्ने हुँदैन। हामीले यस्तोमा बग्नु हुँदैन। लोकतन्त्र खुला पारदर्शिता हो। नियम, कानुन र विधानले बाँधेको हुन्छ। सबै कुरा निर्णय अभिलेख गरिएको हुन्छ। कुनै व्यक्तिले यस्तो भनेको थियो भन्नेमा जानु हुँदैन। केही पनि भएको थिएन। उनलाई जनताको त्यत्रो आन्दोलनले हटाएको हो। ज्ञानेन्द्रकै कुरा गर्ने हो भने उनी राजा हुने पालोका मान्छे पनि होइनन्। सत्तामा आए। त्यसपछि लोकतन्त्रविरुद्ध हर्कत गरे। तिनको विरुद्धमा यत्रो आन्दोलन भयो।
निर्वाचित संविधानसभाले ९५ प्रतिशतभन्दा बढी मतले विधिवत्रूपमा उनलाई हटाएको छ। अनि आउँछु भनेर हुन्छ ? भन्न पाउँछन्। तर संविधान नै तोड्छु भन्न पाउँदैनन्। उनले अहिले गरेको हर्कतको राज्यले छानबिन गरोस्, उनको पक्षधर लिनेले जुन हत्या, हिंसा र आतंक गरेका छन्। मिडिया, पार्टी कार्यालयमा आक्रमण गर्ने, जनताका निजी सम्पत्ति तोडफोड गर्ने जुन काम गरेका छन्, यो त आपराधिक काम हो। यसलाई सरकारले प्रभावकारिताका साथ नियन्त्रणमा लिनुपर्छ। ज्ञानेन्द्र शाह सामान्य नागरिक भएर बस्छन् भने ठिक छ। अब पनि आफूलाई राजा–महाराजा दाबी गर्छन् भने यो त सीधै ठगी धन्दा हो।
तर राजा–महाराजकै रूपमा निरन्तर वक्तव्य आइरहेको छ, त्यसलाई सबैले स्वीकार गरेजस्तो मौन सम्मति जस्तो। उहाँलाई जे गर्न पनि छाडेको हो र?
मैले त अस्ति पनि प्रश्न उठाएँ सबैका अगाडि। त्यो त गलत गरिराख्नुभएको छ। उहाँले त्यसो भन्न मिल्दै मिल्दैन। मैले आफ्नै पनि उदाहरण दिएँ। म प्रधानमन्त्री छँदा पो त्यो कर्तव्य निर्वाह गरेको थिएँ। त्यो जिम्मेवारीमा थिएँ, त्यो अधिकार थियो। म पूर्वप्रधानमन्त्री भइसकेपछि फेरि प्रधानमन्त्रीको हैसियतले म प्रधानमन्त्री हुँ भन्दै गलत हर्कत गर्दै हिँड्ने हो भने त मलाई कानुनले छाड्दैन। सामान्य नागरिक भइसकेको मान्छेले म अहिले पनि राजा–महाराजा नै छु भन्नेजस्तो गरेर वक्तव्य दिने र केही मान्छेले उनलाई राजै भनेर बोकेर हिँड्ने र लगेर नारायणहिटीमा राख्छु भन्ने। मान्नुस् मलाई सयजना मान्छेले आएर बाबुरामलाई बोकेर सिंहदरबारमा राख्छु भने भने मैले पछि लागेर जान मिल्छ ? त्यो त मिल्दैन। यस्ता हावादारी कुरा गर्नुभएन। उनलाई बेलैमा नियन्त्रणमा लिएर सिकाउनुपर्छ। राज्यले एकपटक बोलाएर बयान लिनुपर्छ।
अहिले धेरै मान्छे असन्तुष्ट भएर उहाँहरूको पछाडि लाग्ने संख्या बढेको भन्ने छ नि?
असन्तुष्टिको समाधान भनेको पछाडि फर्कने होइन। भोक लागे विष खाने त होइन नि। भोक लागे त सबैभन्दा राम्रो पौष्टिक चिज खाने, भएन भने कम पौष्टिक तत्वको खाना खाने। विषाक्त चिज त खानुभएन। त्यसकारण पछाडि फर्कनु विकल्प होइन। अहिले शासनसत्तामा रहेका दल र नेताहरूले सुशासन दिन सकेका छैनन्। भ्रष्टाचार अगाडि बढेको छ। आसेपासे र बिचौलियाको हालीमुहाली भएको छ। त्यसबाट जनता दिक्क छन्। त्यसको विकल्प हामी हौं भनेका छौं।
कुनै बेला तपाईंहरू राजालाई स्वीकार गरेर राजनीतिमा आउने चर्चा नभएको होइन। केही दिनअघि हामीसँगको संवादका क्रममा माओवादी नेता जनार्दन शर्माले समेत कम्बोडियाका राजा नरोद्दम सिहानुकजस्तो हुन चाहेको भनी पार्टीभित्रै नेताहरूबिच छलफल भएको खुलासासमेत गर्नुभएको थियो। कुरा के हो?
त्यो गलत कुरा हो। राजतन्त्रकै विरुद्ध हामीले घोषित ढंगले युद्ध सुरु गरेका छौं। ४० सूत्रीय माग मैले नै प्रस्तुत गरेको छु। जनगणतन्त्रात्मक संविधान बनाउन पाउनका निम्ति भनेर जुन शब्द लेखिएको छ। अनि त्यसो भनेर जाने र गणतन्त्रका निम्ति ज्यान हत्केलामा राखेर हिँड्ने मान्छेले राजा मान्छु भन्ने खोज्या थे कसैले भन्छ भने यो त सरासर झुटो कुरा हो। कसैलाई भ्रम पर्न सक्छ। कसैले नबुझेर भन्यो होला। नेतृत्वमा हामी नै छौं नि त।
धर्मनिरपेक्षता र गणतन्त्रको विषयमा संविधान निर्माणका क्रममा किन जनमत संग्रह गरिएन?
संविधानसभा भनेको जनताले निर्वाचित गर्ने र जनप्रतिनिधिले संविधान बनाउने हो। संविधानसभाबाट नै यो पारित भएको हो। प्रत्येक विषयमा जनमत संग्रह गर्ने भन्ने कुरा संसारमै कतै चलन पनि छैन र कहीं लेखेको पनि छैन। चुनिएका प्रतिनिधिले निर्णय गर्ने हो।
कतिपयले यो माग नै थिएन भन्छन्। उनीहरूले ४० सूत्रीय माग हेर्नुपर्यो। गणतन्त्र पनि त्यहीं छ, धर्म निरपेक्षता पनि त्यहीं छ। सबैथोक छ त्यहाँ। कहाँबाट आयो प्रश्नै छैन। नेपालीकै दिल दिमागबाट आएको हो। नेपालीले नै रगत–पसिना बगाएर ल्याएको हो। त्यसैले यसको रक्षा गरेर अगाडि बढौं। फेरि अनावश्यक ढंगले समय र शक्ति बर्बाद नगरौं। संसार यति तीव्र गतिमा अगाडि बढिसकेको अवस्थामा फेरि पछाडि फर्कने कुरा गरेर हामीले समय खेर फाल्नु हुँदैन।
राजावादी गतिविधिमा विदेशीको पनि हात छ?
घरमा झगडा भए छिमेकीले के भयो भनेर उक्साउन त खोजिहाल्छ नि। यो जता पनि हुन्छ। गाउँमा पनि हुन्छ। परिवारमा पनि हुन्छ। र, राजनीतिमा पनि हुन्छ। त्यसैले हामी आपसमा देशभित्रै बाझाबाझ गर्न थाल्यौं भने त स्वतः विदेशीले खेल्न खोज्छन्।
देशको राजनीतिलाई उहाँबाहेक कसैले बाटो देखाउन सक्दैनन्। त्यसकारण देशको स्वाधीनतालाई जोगाउन सम्पूर्ण गणतन्त्रवादी दलहरूको विदेशी कूटनीति एउटै अवधारणाको बनाउन मिल्छ कि मिल्दैन? मिल्छ भने किन नबनाएको ? बनाउन नमान्ने कोको छन्?
चार/पाँचवटा कुरामा राष्ट्रिय सहमति गरौं भनेको छु। एउटा त हामी जटिल भूराजनीतिक भारत र चीनजस्तो ठुला देशको बिचमा छौं। अमेरिकाजस्तो विश्व शक्तिले पनि चासो राख्छ। त्यसकारण कसैसँग पनि दुस्मनी नराखीकन नेपाललाई केन्द्रमा राखेर कुनै प्रस्थ नबनीकन नेपाल प्रस्थ बनेर एउटा साझा राष्ट्रिय नीति बनाऔं। दोस्रो– हिमाल, पहाड, तराई, जाति र समुदायका बिचमा एकता कायम राख्ने गरी संविधानको व्यवस्थापन गरौं। तेस्रो कुरा– भ्रष्टाचारले व्याप्त भएको हाम्रा कर्मचारीतन्त्रदेखि लिएर आयोगहरूसम्मलाई बलियो संस्था बनाऊँ र भ्रष्टाचार रोकौं। चोथौं कुरा– प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गरौं। यसो गरे देश बन्छ।
के नेपाल आर्थिक रूपमा सक्षम बन्न सक्छ भन्ने लाग्छ? हुन्छ भने कसरी?
बिलकुल लाग्छ। किनभने हामीभन्दा कमजोर देश, हामीभन्दा कम साधनस्रोत भएका देशहरू समृद्ध भए नि त। त्यसैले पहिले त राजनीतिक प्रणाली सही हुनुपर्यो।
परम्परागत कृषि प्रणाली अर्थतन्त्रले रोजगारी दिन नसकेर हाम्रा युवा विदेश पलायन भएका छन्। हामी श्रम निर्यात र वस्तु आयात गरेर खाने अर्थतन्त्रको प्रवृत्ति र साङ्लोमा बाँधिएका छौं। यसलाई उल्ट्याउनका निम्ति विभिन्न देशले यस्तो ऐतिहासिक कालखण्डमा के गर्छन् भने आफ्ना सम्पूर्ण साधनस्रोतलाई केन्द्रित गरी अर्थतन्त्रलाई रूपान्तरण गरेर जान्छन्। त्यसलाई ‘टेक अप’ भन्छन्। त्यस्तो गर्नका निम्ति अर्थशास्त्रको सूत्रअनुसार कुल ग्राहस्थ उत्पादनको ४० प्रतिशत विकास खर्च गर्नुपर्यो। निजी र सरकारी सबै ठाउँबाट। त्यसो गरे उत्पादन बढाउँछ र दुई अंकको आर्थिक वृद्धिदर हासिल हुन्छ। त्यो दुई अंकको आर्थिक वृद्धि एकदुई दशकसम्म रोक्न सके अर्थतन्त्रले गुणात्मक फट्को मार्छ भन्ने नियम हुन्छ। सुरुमा रूस, युरोप र अमेरिकाले त्यो गरेका हुन्।
पछिल्लो चरणमा सिंगापुर, दक्षिण कोरिया, चीनलगायत पछि भारतले त्यो गरिरहेका छन्। तर हाम्रो अर्थतन्त्र हेर्दा गत ६० वर्षयता एक वर्ष पनि दुई अंकको आर्थिक वृद्धिदर भएको छैन। मैले अर्थमन्त्री हुँदा पनि त्यही भनेको छु। सर्पजस्तो घिस्रने होइन भ्यागुताजस्तो उफ्रनुपर्छ भन्ने विम्ब मैले त्यतिबेला नै भनेको थिएँ। त्यही भएर ठुला–ठुला पूर्वाधारका आयोजना पनि सुरु गरेको थिएँ।
हरेक वर्ष बजेट कार्यान्वयन कमजोर देखिन्छ विकास खर्च होस् वा पुँजीगत खर्च। राजस्व संकलन होस् वा परिचालन। के हामी हचुवाका भरमा बजेट बनाइरहेका छौं?
छमहिने एकबर्से सरकारले यस्तै हो गर्ने। त्यति समयमा मन्त्रीले पनि मेसो पाउँदैन। कर्मचारी पनि छिटोछिटो सरुवा गरेको हुन्छ। कुरा त राजनीतिक स्थायित्वमै जान्छ। त्यसकारण भएन। बहुवर्षीय योजना सुरु हुन्छन्, ठेक्का लाग्छ, बिचमा सरकार ढल्छ। सचिव परिवर्तन हुन्छ। फेरि उसले आफ्नो स्वार्थमा अर्कै कुरा गरिदिन्छ। त्यो काम अड्किन्छ अनि विकास खर्च नहुने पनि कारण त्यही हो।
तपाईं त देखिने गरी भ्रष्टाचारविरोधी मान्छे। स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ भन्ने मान्छे। देशमा भ्रष्टाचार कुन तहसम्म पुगेको छ?
प्रत्येक वर्ष अन्तर्राष्ट्रिय संघसंस्थाले निकाल्ने प्रतिवेदनको सूचकांक हेर्नुभए पनि हामी सयमा ३०/३५ भन्दा माथि उठेकै छैनौं। पास मार्क भएको छैन हाम्रो। ४०/५० त ल्याउनुपर्यो नि पास हुन। फेल भइरहेका छौं। त्यसले पनि देखाउँछ हामी धेरै भ्रष्टाचार हुने मुलुकमा पर्छौं भनेर। त्यसैका निम्ति राजनीतिक स्थिरतापछि केही संस्थामा सुधार गर्नुपर्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई स्वायत्त र अधिकारसम्पन्न बनाउनुपर्छ। त्यसलाई राष्ट्रपति, प्रधानमन्त्रीसमेतको छानबिन गर्ने सक्ने अधिकार दिनुपर्छ। सँगसँगै स्थानीय तहमा जनलोकपाल पनि गठन गर्ने। र, अदालतलाई पनि स्वायत्त बनाउने। यी तीनवटै क्षेत्रको सुधार गरे भ्रष्टाचार नियन्त्रण हुन्छ। सँगै परम्परागत नोकरशाहीतन्त्रलाई पनि सुधार गर्नुपर्छ।
बुढीगण्डकीमा नौ अर्ब घोटाला भएको कुरा उठाउनुभएको थियो। प्रमाण नै छ भन्नु हुन्थ्यो। फेरि मौन बस्नुभयो किन?
म त कराएको करायै छु। अहिले त अलपत्र पर्यो। मेरै पालामा मैले नै राष्ट्रिय गौरवका आयोजना भनेर १७ वटा घोषणा गरेको थिएँ, जसमध्येको त्यो एउटा हो। त्यो काठमाडौं, पोखरा, भरतपुरजस्ता ठुला महानगरको बिचमा छ। धेरै बिजुली खपत हुने ठाउँ पनि यहीं हो। जलाशययुक्त त्यो आयोजना बन्न सके १२ महिना २४ घण्टा बिजुली निकाल्न सक्छौं र नेपालको विकासमा यसले ठुलो फड्को मार्छ भनेर त्यो आयोजना बनाइयो।
नेपाल आफैंले बनायो भने त्यसले हाम्रो क्षमता पनि अभिवृद्धि हुन्छ र व्यवस्थापकीय क्षमता पनि बढ्छ भनेर सुरु गरिएको थियो। पछिल्लो सरकार प्रचण्डजी प्रधानमन्त्री भएका बेला अपारदर्शी ढंगले विदेशी कम्पनीलाई दिने काममा जानुभयो। त्यो रहस्यमय थियो। पछि हल्लाखल्ला भएपछि त्यो रोकियो।
अहिलेसम्म अगाडि बढेको छैन। त्यही क्रममा खोजीनीति गर्दा कमिसनको चलखेल भएर विदेशी कम्पनीलाई दिन लागियो भनेको त त्यतिबेलै आएको हो। त्यही कुरा मैले भनेको हुँ। अहिले अगाडि बढेको छैन। त्यसले पनि पुष्टि गर्छ। त्यसैले छानबिन गर्नुपर्छ भनेको हो। अनि बाबुरामले गल्ती गर्यो भन्न मिलेन नि। मलाई प्रश्न गर्ने होइन सम्बन्धित मान्छेलाई गर्ने हो मैले सघाउनुपर्ने बेला सघाउँछु।
प्रकाशित: २२ चैत्र २०८१ ०९:१० शुक्रबार