नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले शिक्षकहरूको मागलाई गम्भीरतापूर्वक सुन्ने, बुझ्ने र समाधान गर्ने प्रयास गरिनुपर्ने बताएकी छन्।
'सरकारलाई मेरो स्पष्ट आग्रह छ- शिक्षकसँग संवाद गरियोस्। मागहरूलाई गम्भीरतापूर्वक सुन्ने, बुझ्ने र समाधान गर्ने प्रयास गरियोस्। आन्दोलनको वातावरणभन्दा वार्ता र सहमतिमा आधारित समाधान नै राष्ट्रको हितमा हुन्छ,' अध्यक्ष श्रेष्ठ शिक्षक आन्दोलनबारे धारणा सार्वजनिक गर्दै भनेकी छन्।
शिक्षकहरूको मागलाई राजनीतिक चश्माले नभइ दूरदर्शी र नीतिगत दृष्टिकोणबाट हेर्नु आवश्यक रहेको पनि बताएकी छन्।
'शिक्षकहरूको मागलाई राजनीतिक चश्माले हैन, दूरदर्शी र नीतिगत दृष्टिकोणबाट हेर्नु आवश्यक छ। शिक्षकहरूको स्थायित्व, पेशागत अधिकार, सरुवा प्रक्रिया, सेवा सुरक्षालगायतका विषयमा स्पष्ट र न्यायपूर्ण व्यवस्था आवश्यक छ,' उनले भनेकी छन्।
यस्तै शिक्षकहरूलाई पनि शान्तिपूर्ण ढङ्गले आफ्ना मागहरू अगाडि राख्न उनले भनेकी छन्।
'आन्दोलनरत शिक्षक साथीहरूलाई पनि म सम्मानपूर्वक अनुरोध गर्न चाहन्छु- शान्तिपूर्ण ढङ्गले, गरिमामय व्यवहारका साथ, आफ्ना मागहरू अगाडि राख्न सहयोग गरिदिनुहोस्। हामी सबैको साझा चाहना भनेकै शिक्षाको गुणस्तर वृद्धि र शिक्षकको सम्मान हो,' उनले भनेकी छन्।
विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक- २०८० प्रतिनिधि सभामा पेस भएकोमा त्यसलाई यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले गत चैत २० गतेयता काठमाडौंमा आन्दोलन गरिरहेका छन्।
प्रकाशित: २६ चैत्र २०८१ १८:५५ मंगलबार



-600x400.jpg)

