२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पृथ्वीको इतिहासमा नयाँ अध्याय: ‘एन्थ्रोपोसेन’ सुरुवातको बलियो प्रमाण फेला परेको दाबी

क्यानडाको अन्टेरिओस्थित क्र्याफोर्ड ताल। यसै तालमा फेला पारेका प्रमाणका आधारमा वर्तमानलाई एन्थ्रोपोसेन युग भन्न सकिने वैज्ञानिकको दाबी छ। तस्बिर: एजेन्सी

वैज्ञानिकले एन्थ्रोपोसेन (मानव युग) लाई आधिकारिकता दिन सकिने नयाँ प्रमाण फेला पारेका छन्। पृथ्वीमा मानवीय गतिविधिका आधारमा वर्तमान समयलाई एन्थ्रोपोसेन भनिँदै आएको छ। पृथ्वीको सुरुवातदेखि हालसम्मको अवधिलाई विभिन्न भौगर्भिक युगमा विभाजन गरिएको छ। यसै आधारमा सन् २००० यता विभिन्न प्राज्ञिक विषयसँग सम्बद्ध विज्ञले वर्तमानलाई ‘एन्थ्रोपोसेन’ भन्नुपर्ने प्रस्ताव अगाडि सार्दै आएका छन्।  

एन्थ्रोपोसेन कार्यगत समूह (एडब्लुजी) ले हालै क्यानडाको अन्टेरिओस्थित क्र्याफोर्ड तालमा फेला पारेका प्रमाणका आधारमा वर्तमानलाई एन्थ्रोपोसेन युग भन्न सकिने दाबी वैज्ञानिकको छ। तालको पिँधमा जम्मा भएको थेगरको समीक्षा गर्दा वातावरणीय अवस्थामा भइरहेको परिवर्तनको भौगर्भिक अभिलेख फेला परेको दाबी गरिएको छ। एडब्लुजी आबद्ध वैज्ञानिकले अन्य ११ स्थानबाट पनि पृथ्वीको गर्भबाट विभिन्न नमुना संकलन गरेका छन्। तर पछिल्लोपटक क्र्याफोर्ड तालको गहिराइबाट संकलित नमुनाले पृथ्वीको अवस्थामा अकस्मात् परिवर्तन भएको देखिएको छ। विशेषगरी तालको पिँधमा जम्मा भएको थेगरमा प्लुटोनियमको उपस्थिति पाइएको छ। प्राकृतिकरूपमा प्लुटोनियम नपाइने भएकाले सन् १९५० ताका गरिएको आणविक परीक्षणका कारण प्लुटोनियम जम्मा भएको तर्क वैज्ञानिकको छ।

प्राप्त प्रमाणलाई इन्टरनेसनल युनियन अफ जिओलोजिक साइन्सले स्विकारेमा ११ हजार ७ सय वर्षअघि सुरु भएको होलोसेनको अन्त्य हुनेछ र विश्व नयाँ एन्थ्रोपोसेनमा प्रवेश गरेको मानिनेछ। ग्रिक भाषामा एन्थ्रोपोको अर्थ मानव हुन्छ। ‘८ अर्ब जनसंख्याले पृथ्वीमा कुनै न कुनै प्रभाव पारिरहेको हुन्छ, त्यतिबेला यसका प्रमाणहरू पनि देखिन्छन्,’ लेस्टर विश्वविद्यालयका प्राध्यापक तथा समूहका अध्यक्ष कोलिन वाटर्सले भने, ‘हामी पृथ्वीको नयाँ चरणमा प्रवेश गरेका छौं र यसलाई भौगर्भिक हिसाबले पनि परिभाषित गर्नुपर्ने हुन्छ।’

एडब्लुजीमा विश्वका ३५ भूगर्भशास्त्री आबद्ध छन। यो समूहले सन् २००९ देखि एन्थ्रोपोसेनलाई पृथ्वीको आधिकारिक समयरेखा बनाउने दिशामा अनुसन्धान गर्दै आएको छ। यो समूहले सन् १९५० देखि एन्थ्रोपोसेनको सुरुवात भएको दाबी सन् २०१६ मै गरेको थियो। सन् १९५० ताका आणविक हतियारको परीक्षण अत्यधिक मात्रामा भएको थियो। यिनै परीक्षणका कारण पृथ्वीको भूगर्भमा रासायानिक प्रभाव पर्न थालेको मानिन्छ। यी वैज्ञानिकले आफ्नो प्रस्तावलाई प्रमाणित गर्न विश्वका १२ स्थानबाट खास प्रमाण संकलन गरेका थिए। यी स्थानमध्ये क्र्याफोर्ड तालबाट संकलित प्रमाणले एन्थ्रोपोसेन युगको भौगर्भिक प्रभावलाई प्रमाणित गरेको वैज्ञानिकको भनाइ छ।  

तर एन्थ्रोपोसेनको भौगर्भिक वास्तविकतालाई स्वीकार गर्न आनाकानी गर्ने कतिपय वैज्ञानिकले यसका लागि अझ थप प्रमाण आवश्यक रहेको बताएका छन्। इन्टरनेसनल युनियन अफ जिओलोजिकल साइन्सका महासचिव तथा क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक स्टान फिन्लेले एन्थ्रोपोसेनलाई छुट्टै युगको हिसाबमा नलिईकन होलोसेनको चौथो चरण मान्न सकिने बताएका छन्।  

पृथ्वीको उत्पत्तिको साढे ४ अर्बयताको पछिल्लो चरणअन्तर्गत ११ हजार ७ वर्षअघि हिमयुग (आइस एज) को समाप्तिसँगै होलोसेनको सुरुवात भएको मानिन्छ। मानव युगहरूको नामकरण पहिलोपटक जुन स्थानमा अध्ययन भएको हो, त्यही स्थानका आधारमा गरिँदै आएको छ। उदाहरणका लागि फ्रान्सको जुरा माउन्टेनमा प्राप्त अवशेषका आधारमा ‘जुरासिक पिरियड’ भनेर नामकरण गरिएको थियो। एन्थ्रोपोसेन आधिकारिकरूपमा अनुमोदन भएमा यो क्वार्टेनरी पिरियडको तेस्रो इपोक (युग) हुनेछ।  

एन्थ्रोसेनको जन्मस्थान

क्र्याफोर्ड तालको पिँधमा पाइएको प्लुटोनियम अवशेषका कारण यो युगको नामकरण भएमा यसको सुरुवात पनि यही तालबाट भएको मानिनेछ। झन्डै साढे २ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त ताल ७८.७ फिट अर्थात् २४ मिटर गहिरो छ। बेलायतको साउथहम्प्टन विश्वविद्यालयका वातावरणीय रेडियोकेमेस्ट्रीका प्राध्यापक एन्ड्रु कन्डीका अनुसार तालको भित्री थेग्रोमा प्लुटोनियम पाइनु भनेको मानवले पृथ्वीमा पारेको सबैभन्दा महत्वपूर्ण पदचिन्ह हो। तर एन्थ्रोपोसेन युगको उद्गमस्थलबारे अन्तिम निर्णय लिन छिट्टै एडब्लुजीले प्रस्ताव गर्ने र क्वार्टेरनरी स्ट्राटिग्राफीसँग आबद्ध वैज्ञानिक समुदायले निर्णय लिने बताइएको छ।  

क्वार्टेरनरी स्ट्राटिग्राफीका वैज्ञानिकले बहुमतले एडब्लुजीको प्रस्ताव स्विकारेमा यसलाई इन्टरनेसनल कमिसन अन स्ट्राटिग्राफीमा पठाइनेछ। क्वार्टेरनरी स्ट्राटिग्राफी र इन्टरनेसनल कमिसन अन स्ट्राटिग्राफी दुवै निकाय विश्वका १० लाख भूगर्भविद् सदस्य रहेको इन्टरनेसनल युनियन अफ जिओलोजिक साइन्ससँग आबद्ध संस्था हुन्। यो विषयमा अन्तिम निर्णय दक्षिण कोरियोको वुसानमा अगस्तमा हुन लागेको इन्टरनेसनल जिओलोजिकल कंग्रेसले लिने बताइएको छ।

प्रकाशित: २५ श्रावण २०८० ०१:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App