२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

महानगरको झारा टार्ने फोहोर व्यवस्थापन

राजधानीको फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न नसक्दाको विकराल स्थिति अघिल्लो बर्खामै काठमाडौंले भोगेको हो। नुवाकोटको बन्चरेडाँडास्थित डम्पिङसाइटसम्म जान सक्ने बाटो बिग्रँदा त्यतिबेला राजधानी नै ‘डम्पिङ साइट’ बन्न पुग्यो। महानगरले फोहोर फाल्न साइटसम्मको बाटो त फराकिलो बनायो तर फोहोरको  

उचित व्यवस्थापन गर्ने सोच फराकिलो बनाउन सकेन। फोहोर फ्याँकेर होइन, पुनप्र्रयोगबाट मात्र व्यवस्थापन हुन्छ भन्ने मोफसलले अपनाइरहेको सामान्य ‘मन्त्र’ पनि उसले बुझेन।  

झारा टार्ने फोहोर व्यवस्थापनले कुनै पनि बेला पोहोरको नियति दोहोरिन सक्छ भन्ने उसले बुझेन। नबुझेर नियति नदोहोरिने होइन। साउनको पहिलो दिनबाटै नियति दोहोरियो। एक वर्षअघि काठमाडौं महानगरपालिका र स्थानीयबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै त्यहाँका स्थानीयले यही साउन १ देखि फोहोर व्यवस्थापनमा अवरोध गरेपछि राजधानी दुर्गन्धमा घेरियो।  

प्रहरीको बलसँगै स्थानीयसँगको मौखिक सहमतिले फेरि तत्कालका लागि झारा टार्ने काम भएको छ। काठमाडौं उपत्यकाको फोहोर उठ्न थालेको छ। काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले त्यहाँका स्थानीयसँगको सहमतिपछि फोहोर व्यवस्थापन पुनः सुरु भइसकेको जानकारी दिए। उनका अनुसार रोकिएको फोहोर व्यवस्थापन तीन दिनभित्र पूरा भइसक्ने बताए।  

सुरक्षाकर्मीको सहयोगमा फोहोर व्यवस्थापन गरिएको उनले बताए।  फोहोर रोकिएपछि समस्या समाधानका लागि जुनसुकै वाचा गर्ने तर उठ्न थालेपछि बेवास्ता गर्ने सरकारी पाराले समस्या छिट्टै बल्झिने डर देखाएको छ। फोहोर नउठ्दा आइतबार सरोकारवाला सबै निकायको मिटिङ राखेर समाधानको बाटोमा जाने भनेर गरिएको वाचा फेरि तोडिएको छ। ‘हामी मन्त्रालयबाट बोलाउलान् भनेर आइतबार दिनभरि बाटो कुर्यौं,’ ककनी गाउँपालिकामा अध्यक्ष सुमन तामाङले भने, ‘तर हामीलाई बोलाइएन।’  

महानगरपालिकासँग भएको बाँकी सहमति बिस्तारै कार्यान्वयन गर्ने सर्तमा तत्कालका लागि अवरोध हटाउने सहमति भएको थियो। अन्तिम फोहोर व्यवस्थापनस्थल बन्चरेडाँडामा यसअघि थुपारेको फोहोरलाई क्यापिङ (फोहोरलाई माटोले पुर्ने) गरी औषधि राखेर दुर्गन्ध हटाएपछि स्थानीयको अवरोध हटेको धुनीबेंसी नगरपालिका–१ का अध्यक्ष मानबहादुर तामाङले बताएका थिए। ‘गरेको वाचा पूरा गर्ने बेलामा फेरि झारा टार्ने काम थालिएको अनुभव भएको छ,’ गाउँपालिका अध्यक्ष सुमन भन्छन्, ‘यस्तो भयो भने राज्यप्रति जनताको विश्वास हट्दै जान्छ। कुनै पनि बेला फेरि विरोध हुन्छ, फोहोरको समस्या बल्झन्छ।’  

यसमा पनि मुख्य सरोकारवाला काठमाडौं महानगर र अन्य सरोकारवाला निकायबीचका राम्रो समन्वय नभएको प्रस्ट देखिन्छ। केही समय अगाडि फोहोर व्यवस्थापनका लागि प्रधानमन्त्रीले बोलाएको बैठकमा महानगरका मेयय बालेन साहको उपस्थिति रहेन। यस्तै आइतबार हुने भनिएको मिटिङमा पनि महानगरको उपस्थिति नभएका कारण रोकिएको हुन सक्ने अनुमान गर्न सकिन्छ। ‘हामीलाई मिटिङमा बोलाएको थाहा भएन,’ महानगरका प्रवक्ता नवीन मानन्धर भन्छन्, ‘त्यसैले हामी जाने कुुरा भएन।’

सरोकारवाला निकायबीच राम्रो समन्वय नहुँदा आर्थिक रूपमा सशक्त काठमाडौं महानगरपालिका फोहोर व्यवस्थापनको बाटोमा चुकेको छ। उसले फोहोर फाल्ने साइटसम्मको बाटो त फराकिलो बनायो। तर फोहोरको सही व्यवस्थापन गर्ने सोच फराकिलो बनाउन सकेन।  

सहरी विकास मन्त्रालयका प्रवक्ता प्रदीप परियारले उपत्यकामा रहेका विभिन्न नगरका मेयरको उपस्थितिमा मन्त्रालयमा फोहोर व्यवस्थापनको विषयमा छलफल भएको बताए। ‘हामीले अगाडि सारेका कार्ययोजनामा मेयरसाबहरूको रायसुझाव संकलन गर्ने काम भयो,’ परियारले भने। तर उक्त छलफलमा महानगरका मेयर बालेन साहको भने उपस्थिति नरहेको उनले बताए। ककनी गाउँपालिकासँग यसअगाडि नै छलफल गरेकाले आजको छलफलमा नबोलाइएको प्रवक्ता परियारले बताए।  

त्यतिबेला महानगरका मेयर उपस्थित नभए पनि प्रधानमन्त्रीले जेठ २१ गते सरोकारवाला निकायसँगै सहरी विकास मन्त्रालयलाई समेत समस्या समाधानका लागि निर्देशन दिएका थिए। तर त्यो निर्देशन अझै पालना नभएको ककनी गाउँपालिकाले जनाएको छ। 

फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीले दिएको निर्देशनसमेत पालना नभएपछि स्थानीय तह सक्रिय हुनु स्वाभाविक हो। त्यसैले ककनी गाउँपालिकाले फोहोरको शुल्क उठाउनेसमेत निर्णय गर्यो। उसले प्रतिगाडी ठुलोको १ हजार ५०० र सानोको १ हजार लिने निर्णय गरेको थियो अदालतको अन्तरिम आदेशले उक्त नियम तत्काल लागु भएन। ‘हामीले फोहोर क्षेत्रका अत्यन्त पीडितलाई राहत मिलोस् भनेर फोहोरको गाडीबाट पैसा उठाउने निर्णय गरेका थियौं,’ ककनी गाउँपालिका सूचना अधिकारी सुनिल आचार्य भन्छन्, ‘अदालतको आदेशपछि पालिकाले तत्कालका लागि रकम उठाउने निर्णय स्थगित गरेको छ।’

बन्चरेडाँडामा सामान्यतया काठमाडौं उपत्यकाका १८ स्थानीय तहका ३०० गाडी फोहोर दैनिक रूपमा व्यवस्थापन हुँदै आएको छ। विगत १५ वर्षसम्म सिसडोलमा फोहोर व्यवस्थापन हुँदै आएको गत भदौ ७ गतेदेखि बन्चरे डाँडामा अन्तिम व्यवस्थापन हुँदै आएको हो। फोहोर व्यवस्थापन फ्याँकेर होइन, पुनर्प्रयोगबाट मात्र सम्भव छ भन्ने कुरा मोफसलमा रहेका कतिपय नगरपालिकाले देखाएका छन्। स्याङ्जाको वालिङ र रूपन्देहीको तिलोत्तमा यसका उत्कृष्ट उदाहरण हुन्। 

फोहोरलाई डम्प गर्न हुन्न भन्ने चेतनाका कारण उनीहरूले विगतमा पुरेका फोहोरलाई समेत डोजरले उप्काएर बेच्न थालेका छन्। उनीहरूले कुहिने फोहोरलाई मल र नकुहिने फोहोरलाई विभिन्न तरिकाले अलग गराएर पुनर्प्रयोगका लागि बेच्ने गरेका छन्। जसले फोहोरको समाधान हुनुका साथै नगरले आम्दानीसमेत जुटाएको छ। ‘यस्तोमा काठमाडांैले पनि केही सिक्नुपर्ने हो,’ तिलोत्तमाका मेयर रामकृष्ण खाण भन्छन्, ‘फोहोरको दीर्घकालीन समाधानका लागि भोलि भन्दै झारा टार्ने होइन, आजैबाट नयाँ सोचका साथ नयाँ कामको थालनी गर्नु जरुरी छ। अन्यथा भगवानले पनि काठमाडौंको फोहोरको भयावह स्थिति धान्न सक्दैनन्।’

प्रकाशित: १० श्रावण २०८० ००:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App