८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

प्रेस चौतारी नेपालका अध्यक्ष बस्नेतविरुद्धको उजुरी फिर्ता लिन महासंघको आग्रह

नेपाल पत्रकार महासंघले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्ध गृह मन्त्रालयका तर्फबाट नेपाल प्रहरीमा दर्ता भएको साइबर क्राइमको उजुरी फिर्ता लिन आग्रह गरेको छ।

प्रेससँग सम्बन्धित प्रेस यूनियन लगायतका संगठनहरुले पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराउदै सो उजुरी फिर्ता लिन आग्रह गरेका छन्। महासंघसहित प्रेस चौतारी नेपाल, प्रेस युनियनलगायतका सञ्चारसम्बद्ध संगठनहरूले विज्ञप्ति प्रकाशित गरी उजुरी फिर्ता लिएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न माग गरेका हुन्।

महासंघका सचिव गोविन्द चौलागाईंले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत प्रकट गरेको अभिव्यक्तिविरुद्ध गृह प्रशासनको नेतृत्व नै प्रहरी कारबाहीमा उत्रिनु उचित नभएको बताएका छन्। ‘चौतारी अध्यक्ष बस्नेतविरुद्धको उजुरी तत्काल फिर्ता लिन नेपाल सरकारको गृह प्रशासनसमक्ष जोडदार माग गर्दछ। 

साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नसमेत आग्रह गर्दछ,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । चौतारीका महासचिव हीरामान लामाले सत्ता उन्मादमा प्रश्न सोध्न पाउने संवैधानिक जनताको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाएर सरकारले निरंकुशताको अभ्यास गर्न खोजेको भन्दै उजुरी फिर्ता लिएर माफी माग्न भनेका छन् । उनले उजुरी फिर्ता नलिए चौतारीले देशभर सशक्त आन्दोलन चलाउने चेतावनी दिँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा एकजुट हुन सबैलाई अपिल गरेका छन् । प्रेस युनियनका महासचिव दिलीप पौडेलले गृहमन्त्रीले नै अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्नु प्रेस स्वतन्त्रामाथिकै हमला र निन्दनीय कार्य भएको जनाएका छन् । उनले उजुरी फिर्ता लिएर अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न माग गरेका छन् । अध्यक्ष बस्नेतले विमानस्थलबाट एक सय किलो सुन बरामद भएको विषयमा सामाजिक सञ्जालमार्फत प्रश्न उठाएका थिए ।

प्रकाशित: ६ श्रावण २०८० ०६:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App