धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन्।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन्। जस्ता र काठको कच्चीघरमा बस्दै आएका उनीहरुलाई आज बिहान ८ बजे स्थानीयवासीले मृत्तावस्थामा फेला पारेको त्रिपुरासुन्दरी–३ का वडाध्यक्ष कमल आलेमगरले जानकारी दिए।
'विष्णुबहादुरको शव घरबाहिर खाटमा उत्तानो परेको अवस्थामा छ, निधारमा र दाँहिने आँखामाथि चोट देखिन्छ, शरिरमा भने कपडा ओडिइराखेको अवस्थामा छ', घटनास्थल पुगेका वडाध्यक्ष आलेमगरले भने , 'निरमाया घरभित्रै देखिन्छ, बाहिरबाट काठको प्वालबाट हेर्दा खुट्टा मात्रै देखिन्छ, हामीभित्र पसेका छैनौंँ।'
मृत भेटिएका दम्पत्तीका एक छोरी र दुई छोरा छन्। छोरा काठमाडौँमा व्यवसाय गर्दै आएको र छोरीको विवाह भएसकेको स्थानीयवासीले जानकारी दिएका छन्। घटनास्थलमा अहिले धादिङको जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ।
प्रकाशित: २६ मंसिर २०७९ ०९:२० सोमबार





