१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

'१३ वर्षीया बालिका बलात्कार प्रकरणको मुद्दा कमजोर बनाउन वकिललाई दबाब'

वर्षाको कारण धनजनको क्षति भएकोले सरकारसँग क्षतिपूर्तिको माग

फाइल तस्बिर।

नेकपा (एमाले) का सांसद कृष्णभक्त पोखरेलले ललितपुर इमाडोलका सुशिल चटौतले आफ्नो घरमा राखिएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको प्रकरणको मुद्दा कमजोर बनाउन महान्यायाधिवक्ताको कार्यालयबाट सरकारी वकिललाई दबाब आएको बताएका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा उनले दबाब नमान्ने सरकारी वकिललाई सरुवा गरिएकोप्रति आपत्ति प्रकट गर्दै यस विषयमा गम्भीर छानविन गर्नुपर्ने माग गरेका हुन्। उनले महिलामाथिको शोषण, दमन र विभेद बढिरहेको बताए। महिलाहरुमाथि यौनजन्य हिंसाहरु बढिरहेको उल्लेख गर्दै उनले प्रभावकारी अनुसन्धान हुन नसकेको बताए।

यस्तै एमालेका सांसद योगेश भट्टराईले प्राकृतिक प्रकोप व्यवस्थापनका लागि पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराएका छन्। उक्त बैठकमा समय माग गरी बोल्दै सांसद भट्टराईले मनुसुनको समयमा बाढी, पहिरो र डुबानको घटनाहरु घट्ने भएकाले यसको व्यवस्थापनको निम्ति पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले गृह मन्त्रालय अन्तरगतको विपद् व्यवस्थापन गर्ने निकायलाई क्रियाशिल अवस्थामा राख्न र मौसम पूर्वानुमान गर्ने निकायहरुले पनि मौसम पूर्वानुमान गरी जोखिमपूर्ण बस्तीहरुलाई सुरक्षित स्थानमा सार्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताए। उनले गएराति ताप्लेजुङ जिल्लामा वर्षाको कारण धनजनको क्षति भएकोले सरकारसँग क्षतिपूर्तिको माग समेत गरे।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद एकवाल मियाले गत वैशाख २९ गते बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ६ निवासी राकेशभक्त पौडेलको हत्या सम्बन्धमा छानविन गर्न उच्चस्तरीय छानविन आयोगको गठन गर्न माग गरे। उनले सत्यतथ्य उजागर गरी अपराधीहरुलाई हदैसम्मको सजाय र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउनु पर्ने बताए।

यसैगरी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भक्तपुरका भुकम्प पीडितले पाउनुपर्ने अनुदानको दोस्रो र तेस्रो किस्ता नपाएको बताए। उनले किस्ता रोकिएको सम्बन्धमा अर्थमन्त्रीको ध्यानाकर्षण गराए।

प्रकाशित: ३ असार २०७९ ०९:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App