८ वैशाख २०८१ शनिबार
राजनीति

स्थानीय तह मत गणना: गठबन्धनलाई प्रारम्भिक अग्रता

स्थानीय तहको निर्वाचनको प्रारम्भिक मतगणनाअनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवारहरूले अधिकांश स्थानमा अग्रता लिएका छन्। शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको सुरुआती मतगणनाअनुसार काठमाडौं महानगरबाहेक अन्यमा गठबन्धनका उम्मेदवार अघि छन्।

काठमाडौं महानगरपालिकामा भने गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेस नेत्री सिर्जना सिंह र नेकपा एमाले उम्मेदवार केशव स्थापितलाई स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले पछि पारेका छन्। गठबन्धनकी उम्मेदवार सिंह दोस्रो हुन एमालेबाट प्रमुखको उम्मेदवार बनेका स्थापितलाई पछ्याइरहेकी छन्। प्रारम्भिक मतगणनामा सिंह शाहभन्दा २ सय बढी मतले पछि छिन् भने स्थापितभन्दा १ सय मतले तल परेकी छन्।

भरतपुर महानगरपालिकामा गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेत्री रेणु दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका दलहरूको सहयोगमा प्रमुखको उम्मेदवार बनेका एमाले नेता विजय सुवेदीलाई केही मतले पछि पारेकी छन्। गठबन्धनलाई चुनौती दिँदै मैदानमा खडा भएका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल तेस्रो स्थानका लागि झिनो मतसहित दाहाल र सुवेदीलाई पछ्याइरहेका छन्।

त्यस्तै,ललितपुर महानगरपालिकामा पनि गठबन्धनका उम्मेदवार कांग्रेस नेता चिरिबाबु महर्जनले प्रारम्भिक अग्रता लिएका छन्। उनको पछिपछि एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकार छन्। पोखरा महानगरपालिकाको प्रारम्भिक मतगणनामा सत्तारूढ पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेता धनराज आचार्यले अग्रता लिएका छन्। एमाले उम्मेदवार थापाले पनि नजिकैबाट पछ्याइरहेका छन्।

वीरगन्ज महानगरपालिकाको प्रमुखमा गठबन्धका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) का नेता राजेशमान सिंहले एमालेका उम्मेदवार विजयकुमार सरावगीलाई पछि पारेका छन्। विराटनगर महानगरमा पनि सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका नागेश कोइरालाले अग्रता लिएका छन्। उनलाई एमाले उम्मेदवार सागरकुमार थापाले पछ्याइरहेका छन्।

त्यस्तै, ११ उपमहानगरको प्रारम्भिक मतगणनामा पनि  गठबन्धनका उम्मेदवारहरूले बहुमत स्थानमा अग्रता कायम गरेका छन्। तुलसीपुरबाहेक १० उपमहानगरपालिकामा जारी मतगणनाको प्रारम्भिक मतगणनाअनुसार ६ उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।

तीन उपमहानगरपालिकामा एमाले उम्मेदवारले अग्रता लिएका छन्। जनकपुर र धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले प्रारम्भिक अग्रता कायम गरेका छन्। जनकपुरमा सत्ता गठबन्धनको विरोधमा कांग्रेसबाट उम्मेदवारी दिएका मनोजकुमार साह सुडीले अग्रता कायम गरेका छन्। उनको पछिपछि एमाले उम्मेदवार शिवशंकर साह छन्। धनगढीमा गठबन्धनका उम्मेदवार नृपबहादुर वडलाई पछि पार्दै गोपाल हमाल अघि लागेका छन्। कांग्रेस नेता वड धनगढी उपमहानगरपालिकाका निवर्तमान उपप्रमुख समेत हुन्।

त्यस्तै, तुलसीपुरमा एमाले उम्मेदवार टीकाराम खड्काले सत्ता गठबन्धनको नेतृत्व गर्दै उम्मेदवार बनेका कांग्रेस नेता गेहेन्द्र गिरीलाई पछि पारेका छन्। कैलालीमा पनि एमाले उम्मेदवार विनोदप्रसाद साहले गठबन्धन उम्मेदवार तथा कांग्रेस नेता राजेश राय यादवलाई पछि पारेका छन्। त्यस्तै, हेटौंडा उपमहानगरपालिकामा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एसकी नेत्री मीनाकुमारी लामालाई एमाले उम्मेदवार अनन्तप्रसाद पौडेलले पछि पारेका छन्।

त्यस्तै सत्ता गठबन्धनबाट उम्मेदवार बनेका खेलराज पाण्डेयले अग्रता लिएका छन्। उनलाई राप्रपाका उम्मेदवार मृगेन्द्रकुमार शेरचनले पछ्याइरहेका छन्। एमाले उम्मेदवार बाबुराम भट्टराईले शेरचनलाई पछ्याउँदैछन्। इटहरी र धरान उपमहानगरपालिकामा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेताहरूले अग्रता लिएका छन्। इटहरीमा कांग्रेस नेता हेमकर्ण पौडेल एमाले उम्मेदवार यामकुमार चुङवाङ सुब्बालाई पछि पारेका छन्। धरानमा कांग्रेस नेता किशोर राईले अग्रता लिएका छन् भने स्वतन्त्र उम्मेदवार हर्कराज राईले किशोरलाई पछ्याउँदैछन्। एमाले उम्मेदवार मञ्जु भण्डारी सुवेदी स्वतन्त्र उम्मेदवारलाई पछ्याउँदै छिन्।

प्रारम्भिक मतगणनाले सत्तारूढ पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनमा गरेको चुनावी तालमेल सकारात्मक ढंगले अघि बढ्न सक्ने संकेत गरेको छ। तर गणना भएको मत संख्या नगण्य हो। शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको पछिल्लो परिणामअनुसार एमालेले ६ पालिका प्रमुख र पाँच उपप्रमुखसहित अग्रता कायम गरेको छ। कांग्रेस दोस्रो स्थानमा छ। उसले चारचार प्रमुख र उपप्रमुखको परिणाम आफ्नो पक्षमा पारेको छ। नेकपा एसले दुई प्रमुख र एक उपप्रमुखको परिणाम आफ्नो पक्षमा पारेको छ भने माओवादी केन्द्रले एक प्रमुख र दुई उपप्रमुख आफ्नो पक्षमा पारेको छ। जुन परिणाम र्निविरोध निर्वाचित भएका प्रमुख र उपप्रमुखसहितको हो।

स्थानीय तहको प्रारम्भिक मतगणनाअनुसार मतगणनाअनुसार कांग्रेस उम्मेदवारले साढे २ सय स्थानीय तहको प्रमुखमा अग्रता लिएका छन् भने झन्डै दुई सयमा उपप्रमुखका उम्मेदवारले अन्य दलका उम्मेदवारलाई पछि पर्दै अग्रता लिएका छन्। दोस्रो स्थानमा एमाले रहेको छ। उसले डेढ सय बढी स्थानीय तहको प्रमुखमा अग्रता लिएको छ भने झन्डै २ सय पालिकाको उपप्रमुखमा अघि छ।

माओवादी केन्द्र झन्डै सय पालिका प्रमुखमा अग्रता लिँदै तेस्रो स्थानमा छ। सो पार्टीले उपप्रमुखमा १ सय २५ को हाराहारीमा अग्रता लिएको छ। नेकपा एसले दर्जन पालिकाको प्रमुख पदमा अग्रता लिएको छ भने डेढ दर्जनको हाराहारीमा उप्रमुखमा पनि अघि छ। जनता समाजवादी पार्टी (जसपा) ले १९ प्रमुख र १६ उपप्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पाँच प्रमुख र चार उपप्रमुखमा अग्रता लिगेका छन्।

त्यसबाहेक निर्वाचनमा सहभागी अन्य राजनीतिक दल र स्वतन्त्र गरी दुई दर्जन बढी उम्मेदवारले प्रमुखमा अग्रता कायम गरेका छन्। झन्डै दुई दर्जन उपप्रमुखमा अन्य दल र स्वतन्त्र उम्मेदवारले अग्रता कायम गरेका छन्। ७७ मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने भएकाले केही स्थानीय तहको मतगणना सुरु हुन सकेको छैन भने केहीमा आन्तरिक विवाद र व्यवस्थापन मिलाउन नसकिँदा शनिबार साँझसम्म गणना सुरु हुन सकेको छैन।

प्रकाशित: १ जेष्ठ २०७९ ००:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App