जुम्लाको हिमा गाउँपालिकाका ७ मध्ये ६ वडा बालविवाहमुक्त घोषणा गरिएका छन्। शुक्रबार वडा नं १, २, ३, ४, ५ र ७ लाई बालविवाहमुक्त घोषणा गरिएको हो। गाउँपालिकाले बाँकी एक वडालाई छिट्टै बालविवाहमुक्त बनाउने तयारी गरेको छ।
जुम्लामा १ नगरपालिका र ७ गाउँपालिकासहित ६० वडा छन्। तीमध्ये हालसम्म १४ वडा बालविवाहमुक्त भएका छन्। हिमा गाउँपालिकाका ६ वडासहित सिन्जा गाउँपालिकाका वडा नं २, ४ र ६, कनकासुन्दरी गाउँपालिकाको वडा नं ४, पातारासी गाउँपालिकाको वडा नं ५, तिला गाउँपालिकाको वडा नं ६ र गुठिचौर गाउँपालिकाको वडा नं ४ यसअघि नै बालविवाहमुक्त घोषणा भइसकेका छन्।
हिमा गाउँपालिकाले ‘बिहेवारी २० वर्षपारी, हामी सबैको ऐक्यबद्धता, बालविवाहमुक्त हिमा गाउँपालिकाको प्रतिबद्धता’ नारासहित अभियान चलाएको छ। बालविवाहको असर न्यूनीकरण गर्न गाउँपालिकाले आधारभूत सूचक पूरा गरी सबै वडालाई बालविवाहमुक्त बनाउने लक्ष्य राखेको छ।
स्थानीय तहले बालविवाहसम्बन्धी रणनीति, बाल संरक्षण नीति, अभियान सञ्चालन निर्देशिका लागू गरेका छन्। गाउँपालिका, वडा र विद्यालय स्तरमा बाल अधिकार संरक्षण समिति सक्रिय छन्। यी मापदण्ड पूरा भएपछि वडाहरूलाई बालविवाहमुक्त घोषणा गरिएको हो। गैरसरकारी संस्थाको सहयोगमा स्थानीय तहले यो अभियानलाई तीव्र बनाएका छन्।
मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार बालविवाह गर्नेलाई ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुने व्यवस्था छ।
प्रकाशित: ६ वैशाख २०८२ १९:५२ शनिबार





