१२ पुस २०८२ शनिबार
image/svg+xml
समाज

दुई करोड बढीमा स्तरोन्नति गरिएको प्राकृतिक पोखरी सुकेपछि स्थानीय निराश

खोटेहाङ गाउँपालिका-६ इन्द्रेणीपोखरीमा रहेको पर्यटकीयस्थल ‘इन्द्रेणीपोखरी’ को स्तरोन्नतिका लागि सङ्घ, प्रदेश र स्थानीय तहले रु दुई करोड १२ लाखभन्दा बढी खर्च गरेका छन्। बाह्रै महिना पानी जम्ने यो प्राकृतिक पोखरीलाई पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्तरोन्नति गरिएको थियो। तर, पोखरीको भुइँमा सिमेन्ट र बालुवाले ढलान गरेपछि वर्षौंदेखि जम्मा भएको पानी सुकेको छ।  

परापूर्वकालमा इन्द्रले बाण हानेपछि पानी उम्रिएर पोखरी बनेको पौराणिक कथन छ। प्राकृतिक रूपमै पर्यटकीयस्थल रहेको यस पोखरीको चौतर्फी विकास गर्न भुइँ ढलान, बाल उद्यान, पानीको फोहोरा र संरक्षणका लागि घेराबार निर्माण गरिएको छ। इन्द्रेणीपोखरीका नाममा रहेको २१ रोपनी सार्वजनिक जग्गामा ४८ मिटर लम्बाइ र २६ मिटर चौडाइको कृत्रिम पोखरी बनाइएको छ। इन्द्रेणीको स्वरुप देखाउन फलामको पाताले इन्द्रेणीको आकृति बनाइएको छ, जसमा राज्यकोषको २० लाख खर्च भएको थियो। यो आकृति गत वर्षको हावाहुरीले ढालेपछि पुनः राखिएको छ। 

यो पोखरी जलहाँस र मलेवाको क्रिडास्थल थियो। हरेक नयाँ वर्षमा बृहत् मेला लाग्छ। समुद्री सतहबाट एक हजार ७०० मिटर उचाइमा रहेको यो पोखरीको स्तरोन्नतिका लागि प्रदेश सरकारले ४० लाख, तत्कालीन सांसद विशाल भट्टराईको संसदीय विकास कोषबाट २० लाख र गाउँपालिकाले एक करोड ५२ लाखभन्दा बढी बजेट खर्च गरेको छ। फरक-फरक शीर्षकमा गाउँपालिकाले उपभोक्ता समितिमार्फत काम गरेको हो।  

सगरमाथा, हिमाली शृङ्खला र तराईका फाँट अवलोकन गर्न सकिने यो ठाउँमा आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा थियो। तर, पोखरीको पानी सुकेपछि स्थानीयको खुसी टिकेन। 

स्थानीय इन्द्र नारथुङ्गेले प्राकृतिक संरचनामा सावधानी नअपनाउँदा समस्या भएको गुनासो गरे। उनले भने, ‘राज्यकोषको लगानीमा बन्ने संरचनालाई गुणस्तरीय र उपयोगी बनाउन चासो दिनुपर्छ। इन्द्रेणीपोखरीको स्तरोन्नतिमा सावधानी अपनाउन सकिएन। बिनाअध्ययन संरचना बनाउँदा प्राकृतिक पोखरीको पानी सुकेको छ। यसले पोखरीको ऐतिहासिकता सङ्कटमा परेको छ।’  

इन्द्रेणीपोखरी सडकमार्गले बराहपोखरी, ट्याम्के, सोलढुङ्गा, कपासे र रोक्सिम भञ्ज्याङसँग जोडिएको छ। राष्ट्रिय सडक सञ्जालसँग जोडिएको यो ठाउँमा बाह्रै महिना वनभोज र दृश्यावलोकनका लागि पर्यटक आउँथे। तर, पानी सुकेपछि समस्या भएको स्थानीयले बताए।  

गाउँपालिका प्रमुख उदिमबहादुर राईले पोखरीमा मुहान नभएको र ढलान चिरा-चिरा भएर फुटेको बताए। उनले भने, ‘इन्द्रेणीपोखरीमा कुनै मुहान छैन। प्राकृतिक रूपमा बनेको पोखरीमा पानी सुकेपछि ढलान पनि फुटेको छ। अन्यत्रबाट पानी ल्याउने सम्भावना पनि छैन।’ पानी सुकेपछि पोखरी लामो समयदेखि उपयोगविहीन भएको उनले बताए।  

जिल्लाका १० स्थानीय तहमध्ये अन्य तहले पनि हलेसी, बराहपोखरी, टेम्के, जन्तेढुङ्गा, तावाभञ्ज्याङ, रुपाकोट, मझुवागढी र भुलभुलेलगायतका धार्मिक र पर्यटकीयस्थलको स्तरोन्नति गरिरहेका छन्। यस्ता काममा सतर्कता अपनाउन सरोकारवालाहरूले जोड दिएका छन्। रासस

प्रकाशित: ६ वैशाख २०८२ २१:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App