नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. गुणाकर भट्टको नाम टुङ्गिसकेको थियो। हाल कार्यकारी निर्देशक रहेका भट्टले गभर्नर बन्ने पक्कापक्की भइसकेपछि शुक्रबार (आज) पदबाट राजीनामासमेत दिएका थिए।
तर, आजै उनीविरुद्ध सर्वोच्च अदालतमा पूरक निवेदन परेको छ। अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले भट्टको योग्यता नपुग्ने दाबी गर्दै पूरक निवेदन दर्ता गराएका छन्।
उनीहरूले नै दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले ६५ वर्षमाथिका व्यक्तिलाई गर्भनर नियुक्ति नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो। सोही रिटमाथि पूरक निवेदन दिँदै अधिवक्ताद्वय उप्रेती र थापाले भट्टको योग्यता नपुग्ने दाबी गरेका हुन्। निवेदनमा उनीहरूले भट्टको योग्यता नपुग्ने भन्दै गभर्नर नियुक्त नगर्न भनेका छन्।
त्यसो त भट्ट प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसको कोटामा गभर्नर नियुक्त हुने पक्का भएको थियो। तर, उनीविरुद्ध पूरक निवेदन परेको छ, जहाँ उनलाई गभर्नर नियुक्ति नगर्न भनिएको छ।
उसो त प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गभर्नरको नाम टुङ्ग्याउन निकै 'अटेर' गरेका थिए। तर, सत्ता गठबन्धन नै भत्किनेसम्मको अवस्था देखेपछि उनले कांग्रेसलाई नाम दिन भनेका थिए।
यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले भट्टको नाम दिएका थिए। यद्यपि, एमालेले गभर्नर आफैँसँग राख्ने भनेको थियो। तर, प्याकेजमै सहमति गर्दा गभर्नर कांग्रेसको भागमा पर्यो भने नेपाल प्रहरीको एआईजी बढुवा एमालेको भागमा पर्यो। यहीअनुरूप कांग्रेसले गभर्नरमा भट्टलाई अगाडि बढाउन लागेको हो।
तर, के भनिन्छ भने प्रधानमन्त्री ओलीले अहिले कायममुकायम गभर्नर रहेकी नीलम ढुङ्गानालाई वचन दिइसकेका थिए, त्यसैले उनले अटेर गरिरहेका थिए। अहिले भट्टको नाम अगाडि आउँदा ढुङ्गानाले नै रोक्न खोजेकी छन्। जसै ढुङ्गाना आफैँ पनि गभर्नरको 'क्यू'मा छन्।
यो पनि पढ्नुहोस्
डा.भट्टलाई गभर्नर नियुक्ति नगर्न मागसहित पूरक निवेदन दर्ता
प्रकाशित: ५ वैशाख २०८२ १९:५६ शुक्रबार