१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

निर्वाचन प्रचारमा बालबालिका प्रयोग गरे कारबाही

निर्वाचन आयोगले आगामी निर्वाचनलाई मर्यादित र व्यवस्थित बनाउन जारी गरेको आचारसंहितामा बालबालिकाको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा र फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै एक साताअघि जारी ‘निर्वाचन आचारसंहिता, २०८२’ ले प्रचारप्रसारमा बालबालिकाको प्रयोगलाई निषेध गरेको हो।

विगतका निर्वाचनहरूमा राजनीतिक दल तथा उम्मेदवारले ऱ्याली र प्रचारप्रसारमा स्कुले बालबालिकाको दुरुपयोग गरेको व्यापक गुनासो आएपछि आयोगले यसपटक कडाइ गरेको हो।

आचारसंहिताको परिच्छेद २ (६) मा निर्वाचन प्रचारप्रसारमा बालबालिकालाई प्रयोग गर्न वा गराउन नहुने स्पष्ट व्यवस्था गरिएको छ।

आयोगले बालबालिका मात्र नभई शिक्षण संस्थाका शिक्षक, कर्मचारी र प्राध्यापकहरूलाई समेत दलीय प्रचारमा बन्देज लगाएको छ।

आचारसंहिता अनुसार विद्यालय, विश्वविद्यालय र महाविद्यालयका शिक्षक, कर्मचारी तथा प्राध्यापकहरूले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन्।

साथै, शिक्षण संस्थाको हाताभित्र राजनीतिक सभा, गोष्ठी, भेला वा प्रचारप्रसार गर्न पनि पूर्ण निषेध गरिएको छ।

आचारसंहितामा भनिएको छ, ‘कुनै सरकारी, अर्धसरकारी निकाय, विद्यालय वा विश्वविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचार गर्न पाइने छैन।’

शिक्षण संस्थाभित्र वा वरपर राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अङ्कित ज्याकेट, टिसर्ट, टोपी, गम्छा, मास्क, ब्याज, स्टिकर, लोगो, झोला वा ट्याटुजस्ता साङ्केतिक सामग्री उत्पादन, बिक्री, वितरण वा प्रदर्शन गर्न नपाइने व्यवस्था आचारसंहिताले गरेको छ।

निर्वाचन आचारसंहिता लागू भएसँगै शिक्षक, प्राध्यापक र कर्मचारीले कुनै पनि नयाँ योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण वा सम्भाव्यता अध्ययनजस्ता कार्यमा सहभागी हुन पाउने छैनन्।

यसैगरी, निर्वाचनको काममा बाहेक शिक्षण संस्थाका कर्मचारी तथा शिक्षकको सरुवा, बढुवा, पदस्थापन गर्न वा कुनै किसिमको भत्ता वृद्धि र नयाँ पदपूर्ति गर्नसमेत रोक लगाइएको छ।

वार्षिक बजेटमा समावेश कार्यक्रमबाहेक नयाँ नीति तथा कार्यक्रम घोषणा गर्न पाइने छैन। यद्यपि, महामारी वा प्राकृतिक विपद्जस्ता काबुबाहिरको परिस्थितिमा भने आयोगको अनुमति लिएर काम गर्न सकिनेछ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही हुने चेतावनी दिएका छन्।

‘शिक्षक, विद्यार्थी र प्राध्यापकलाई दलको प्रचारमा सहभागी हुन कडाइका साथ रोक लगाइएको छ,’ प्रवक्ता भट्टराईले नागरिकसँग भने, ‘अनुगमनका क्रममा कसैले आचारसंहिता उल्लङ्घन गरेको पाइएमा आयोगले नामनामेसीसहित सार्वजनिक गरी कानुनबमोजिम कारबाही गर्नेछ।’

आयोगको अनुमतिबिना देशको प्रतिनिधित्व गर्नेबाहेक अन्य प्रयोजनका लागि वैदेशिक भ्रमण गर्नसमेत आचारसंहिताले रोक लगाएको छ।

प्रकाशित: २० पुस २०८२ २१:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App