१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

गृहमन्त्रीले भने- ढुक्क भएर मतदान गर्नुस्, सुरक्षा व्यवस्था कडा छ

गृहमन्त्री ओमप्रकाश अर्यालले मंगलबार ललितपुरका विभिन्न मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरेका छन्।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा मन्त्री अर्यालसहित गृहसचिव राजकुमार श्रेष्ठ र प्रवक्ता आनन्द काफ्लेको टोलीले ललितपुरका बुङमती, लेले, नल्लु र ठेचो क्षेत्रमा पुगेर तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिएको हो।

निरीक्षणका क्रममा मन्त्री अर्यालले सुरक्षा व्यवस्था मजबुत बनाइएकाले निर्धक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरे। उनले भने, ‘स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ, त्यसैले मतदाताहरूलाई ढुक्क भएर आफ्नो मताधिकारको प्रयोग गर्न आह्वान गर्दछु।’

मन्त्री अर्यालले निर्वाचनमा कुनै पनि किसिमको गैरकानुनी क्रियाकलाप सह्य नहुने चेतावनी दिए। उनले भने, ‘गडबडी गर्ने वा गराउने जोकोहीलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गरिनेछ।’

उनले मतदान स्थलमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई मतपेटिकाको सुरक्षामा विशेष ध्यान दिन र आफ्नो जिम्मेवारी कुशलतापूर्वक पूरा गर्न निर्देशन दिए।

गृहमन्त्री अर्यालले उपत्यका मात्र नभई देशका अन्य जिल्लाहरूमा पनि सुरक्षा अनुगमनलाई तीव्रता दिएका छन्। यसअघि आइतबार मन्त्री अर्याल, गृहसचिव श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहितको टोलीले बाँके, अछाम, बझाङ, बाजुरा र कैलाली पुगेर सुरक्षा व्यवस्थाको निरीक्षण गरेको थियो।

त्यस्तै, फागुन १५ गते मन्त्री अर्याल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको टोलीले दोलखा, ओखलढुंगा, मोरङ, रौतहट र पर्सामा पुगेर जिल्ला सुरक्षा समिति तथा सरोकारवालाहरूसँग छलफल गरेको थियो।

गृह मन्त्रालयले निर्वाचन सुरक्षाका लागि दैनिक केन्द्रीय सुरक्षा समितिको बैठक बसी समीक्षा र रणनीति तय गरिरहेको छ।

मन्त्रालयले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ कार्यान्वयनमा ल्याएको छ। यस योजनाअनुसार निर्वाचन अघि, निर्वाचन अवधि र मतगणनासम्मको चरणमा मतपत्र ढुवानी तथा सुरक्षा व्यवस्थापनलाई चुस्त बनाइएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १९ फाल्गुन २०८२ १८:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App