२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

माघमा साउदीसँग श्रम सम्झौता

नेपाली श्रमिकको प्रमुख गन्तव्य साउदी अरेबियासँग अन्ततः श्रम सम्झौता गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार नेपाल र साउदी अरेबियाबिच यही जनवरी अन्तिम साता सम्झौतामा हस्ताक्षर हुने छ । मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेका अनुसार जनवरी २६ र २७ (माघ १२ र १३) मा साउदी अरेबियामा आयोजना हुने ‘ग्लोबल लेबर मार्केट कन्फरेन्स’ (विश्व श्रम बजार सम्मेलन) को अवसर पारेर श्रम सम्झौतामा हस्ताक्षर हुने तय भएको हो ।

साउदी अरेबियाले सम्मेलनमा सहभागी हुन मन्त्रालयलाई औपचारिक निमन्त्रणा पठाइसकेको छ । नेपालका लागि साउदीका कार्यवाहक राजदूत अब्दुल नासर विन हुसेन अल हार्थिबले श्रममन्त्री राजेन्द्रसिंह भण्डारीलाई भेटेर निम्ता दिइसकेका छन् । ‘अहिले साउदी अरेबिया जाने श्रमिकको संख्या उल्लेख्य रूपमा बढिरहेको छ,’ मन्त्रालयका प्रवक्ता घिमिरेले भने, ‘स्थानीय रोजगार, निर्माण तथा सेवा क्षेत्रको उच्च मागका कारण साउदी अरेबिया नेपाली श्रमिकका लागि वैकल्पिक र प्राथमिक गन्तव्य बन्न थालेको हो । सोही अनुरूप नेपाली श्रमिकको हक, अधिकारको लागि श्रम सम्झौता हुन जरुरी छ ।’

श्रम सम्झौता भएपछि साउदीमा नेपाली श्रमिकले धेरै समस्याबाट मुक्ति पाउने उनले बताए । ‘सम्झौतामा श्रमिकका हक–अधिकार कसरी सुनिश्चित गर्ने भन्ने विषय स्पष्ट रूपमा उल्लेख हुन्छ’, घिमिरेले भने, ‘सम्झौतामा श्रमिकको बिमा, सामाजिक सुरक्षा, पेसागत सुरक्षा, क्षतिपूर्ति तथा दुवै सरकारको जिम्मेवारी स्पष्ट रूपमा समेटिनेछ ।’

साउदीसँग औपचारिक श्रम सम्झौता नभए पनि वर्षौंदेखि नेपाली श्रमिक त्यहाँ गइरहेका छन् । साउदीमा निर्माण, सुरक्षा गार्ड, सरसफाइलगायतका क्षेत्रमा ठुलो संख्यामा नेपाली कार्यरत छन् । त्यसरी कार्यरत नेपालीले दुई देशबिच श्रम सम्झौता नहुँदा विभिन्न समस्या झेल्नु परेको छ । साउदीमा अत्यधिक गर्मीमा काम गर्नुपर्ने, व्यवसायजन्य रोग, कार्यस्थल दुर्घटना, करारअनुसार काम र तलब नपाउने, उचित उपचार र क्षतिपूर्ति नपाउने, काम गर्ने समयको टुंगो नहुने र काम गर्ने कम्पनीमा खाने–बस्ने सुविधा अभाव जस्ता गुनासो श्रमिकले गर्दै आएका छन् ।

साउदीले राहत तथा क्षतिपूर्तिका लागि बिमा कार्यक्रम लागू गर्ने बताए पनि अधिकांश नेपाली श्रमिक त्यसको पहुँचबाहिर छन् । रोजगारदातालाई जिम्मेवार बनाउन २४ घन्टे बिमा, सामाजिक सुरक्षा र क्षतिपूर्तिसम्बन्धी स्पष्ट व्यवस्था नहुँदा श्रमिक मारमा परेको श्रमिक अधिकारकर्मी बताउँछन् ।

एक दशकभन्दा लामो प्रयासपछि अहिले आएर नेपाल र साउदीबिच श्रम सम्झौता हुन लागेको हो । नेपालले सन् २०१० अघिदेखि नै साउदीसँग दुई पक्षीय श्रम सम्झौताको प्रस्ताव राख्दै आएको थियो । विशेषतः श्रमिक भर्ना प्रक्रियाको सम्पूर्ण शुल्क रोजगारदाताले बेहोर्ने गरी शून्य लागतमा श्रमिक लैजाने व्यवस्था मिलाउने प्रस्ताव नेपालले गर्दै आएको थियो । तर साउदी पक्षले लामो समयसम्म यसमा चासो नदिँदा सम्झौता हुन सेकेको थिएन । पछिल्ला वर्षहरूमा साउदीले अन्य क्षेत्रसँगै घरेलु श्रमिकसम्बन्धी सम्झौता पनि एकसाथ गर्नुपर्ने अडान राख्दै आएको थियो । तर नेपालले २०७२ सालदेखि घरेलु श्रमिकलाई साउदीसहित खाडी मुलुक पठाउन प्रतिबन्ध लगाएकाले प्रक्रिया अवरुद्ध भएको थियो ।

‘अहिले नेपालीहरूको प्रमुख गन्तव्य मुलुक भनेकै साउदी अरेबिया हो’, वैदेशिक रोजगार विभागका निर्देशक टीकाराम ढकालले भने, ‘नेपाल र साउदीबिच पहिलो पटक श्रम सम्झौता हुन लागेको छ । नेपालले सम्झौतामा श्रमिकको न्यूनतम तलब, बिमा, स्वास्थ्य सुविधा र सामाजिक सुरक्षाका विषयमा जोड दिएको छ ।’ सम्झौता भएपछि नेपाली श्रमिकका अधिकार कानुनी रूपमा सुनिश्चित हुने विश्वास लिइएको छ । हाल नेपाली श्रमिकको वैदेशिक गन्तव्य साउदीकेन्द्रित बन्दै गएको उनले बताए ।

ढकालका अनुसार कतार, कुवेत, बहराइन र ओमानभन्दा ठुलो देश साउदी हो । त्यहाँ विदेशी कामदारको माग बढेपछि नेपाली श्रमिकले त्यतैतिर ध्यान दिएका हुन् । संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाली कामदार भित्र्याउन कडाइ गरेपछि साउदी जाने नेपालीको संख्या बढेको छ । साउदीको भिसा प्रक्रियामा गरिएको सहजता, रोजगारीको स्थिरता र भुक्तानीमा आएको सुधारले पनि धेरै नेपाली त्यहाँ उत्साहित भएको ढकालले बताए ।

सन् २०२१ अघि साउदीको काफला प्रणालीका कारण आप्रवासी श्रमिकहरू निकै पीडित थिए । रोजगारदाताको अनुमतिबिना कम्पनी परिवर्तन गर्न वा स्वदेश फर्किन नपाइने अवस्था थियो । अहिले दुई वर्षको करार अवधि सकिएपछि कम्पनी परिवर्तन र स्वदेश फर्किन अनुमति लिनु नपर्ने व्यवस्था भए पनि व्यवहारमा समस्या अझै कायम रहेको गुनासो छ । राहदानी रोजगारदाताकै नियन्त्रणमा रहने, श्रमिकभन्दा रोजगारदाता बलियो हुने र सजिलै कामबाट निकाल्न सक्ने अवस्था अझै हट्न नसकेको भन्दै श्रमविज्ञहरूले आलोचना गर्दै आएका छन् । नेपाल र साउदीबिच हुन लागेको दुई पक्षीय श्रम सम्झौताले यी समस्या सम्बोधन गर्छ या गर्दैन भन्ने प्रश्न उठाइएको छ । श्रम मन्त्रालयका अधिकारीहरू भने सम्झौतामार्फत श्रमिकको हकहित, मानव तथा श्रमिक अधिकार सुनिश्चित हुनेमा विश्वस्त देखिन्छन् ।

अहिलेको अवस्था हेर्ने हो भने नेपाली श्रमिकको गन्तव्य मुलुक साउदी बनेको छ । युएईतर्फको श्रम प्रवाह घट्दै जाँदा साउदीतर्फ बढेको छ । पछिल्ला महिनाहरूमा साउदी अरेबिया जाने श्रमिकको संख्या वृद्धि भएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । गत साउनमा ९, भदौमा १०, असोजमा ९, कात्तिकमा १६ र मंसिरमा १४ हजार नेपालीले साउदीका लागि श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ ।

साउदीलाई हाल ठुलो संख्यामा कामदार चाहिएको छ । सन् २०३४ को फिफा विश्वकप आयोजना गर्ने जिम्मा साउदीले पाएकाले रंगशाला, होटेल, सडक, रेल, विमानस्थललगायत भौतिक संरचना निर्माणका लागि धेरै जनशक्ति आवश्यक परेको हो । यो कारणले पनि नेपालीहरू साउदी गइरहेको विभागका निर्देशक ढकालले बताए ।

आर्थिक वर्ष २०७८/७९ मा १ लाख ८८ हजार ६९२ जनाले साउदीका लागि श्रम स्वीकृति लिएका थिए । त्यसैगरी २०७९/८० मा १ लाख १२ हजार, ८०/८१ मा १ लाख ४१ हजार र ८१/८२ मा १ लाख ५२ हजारले साउदी अरेबियाको लागि श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ ।

प्रकाशित: २० पुस २०८२ २१:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App