शनिबार दिउँसो घाँस काट्ने क्रममा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ। त्रियुगा नगरपालिका-१४ साउने पुङमाङका ४८ वर्षीय रामकुमार थापा मगरको चिउरीको रुखमा घाँस काट्दा लडेर ज्यान गएको हो।
घरनजिकैको रुखमा घाँस काट्ने क्रममा उनी अचानक लडे र गम्भीर घाइते भएका थिए। समयमा उद्धार र उपचार नहुँदा उनको घटनास्थलमै मृत्यु भएको हुन सक्ने वडाध्यक्ष हिमराज मगरले बताए। उनले भने, ‘लडेर घाइते भएको खबर स्थानीयले दिएपछि साउने प्रहरी चौकीबाट टोली खटिएको थियो। तर, प्रहरी पुग्दा उनको मृत्यु भइसकेको थियो।’
घटनास्थलमा साउने प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवको मुचुल्का उठाएको छ। शवलाई पोस्टमार्टमका लागि साँझ जिल्ला अस्पताल उदयपुर ल्याइएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केदारमान दोङले बताए।
प्रकाशित: ६ वैशाख २०८२ २०:३६ शनिबार




