coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘गठबन्धन’ कुहिएको ढोडको लौरो होः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर कांग्रेस नेतृत्वमा बनेको गठबन्धनमा आवद्ध दललाई कुहिएको ढोडको लौराको संज्ञा दिएका छन्।

उनले कांग्रेस जहिले उल्टो बाटोमा हिड्ने गरेको जिकिर गर्दै ढोडको लौरोको बैसाखी टेकेर सगरमाथा चढ्न कल्पना गर्न नसकिए जस्तै गठबन्धन सफल नहुने दाबी गरे। ‘गठबन्धनमा कांग्रेसको झिँगा धपाउने अहंकारी, विभिन्न पार्टीलाई बेहाल बनाएका व्यक्ति छन्,’ अध्यक्ष ओलीले इटहरीमा शनिबार चुनावी सभालाई सम्बोधन गर्दै भने, ‘गठबन्धभित्र बेहाल छ, कुनै हालतमा सफल हुने वाला छैन।’

उनले गठबन्धनलाई टालाटुली बटुलीको संज्ञा दिर्दै कुनै गन्तव्य र के गर्ने उद्देश्य नभएकाले गर्दा औचित्य नभएको जिकिर गरे। गठबन्धनले देश चलाउन कुनै हालतमा नसक्ने पनि जिकिर गरे। ‘वडामा चुनाव लड्न गठबन्धन गर्नेले कसरी देश चलाउन सक्छन?’ ओलीले प्रश्न गरे, ‘वैशाख ३० पछि गठबन्धनलाई एउटै बट्टामा प्याक गरी दिए हुन्छ।’ उनले गठबन्धन गर्नु बाडीचुडी खाने मेलो मात्र भएको बताए।

‘गठबन्धनमा विभिन्न अवसर पाएर सिन्कोसम्म भाँच्न नसकेका राष्ट्रको ढिकुटी चुसेका र अघाएका व्यक्ति छन्,’ अध्यक्ष ओलीले भने, ‘देश र जनताको पक्षमा काम गर्ने कुनै सोच छैन।’ गठबन्धनका उम्मेदवारसँग राजनीतिक मुद्दा नभएकाले गर्दा साम्प्रदायिकता बोकेर आउने गरेको उनले बताए। उनले कांग्रेस पूरानो इतिहास बोकेको पार्टी भएपनि अहिलेसम्म एमालेको कुमसम्म आए पुगेकोमा अब स्थानीय निकायको चुनावमा कम्मरसम्म मात्र आइ पुग्ने जिकिर गरे।

‘संघ र प्रदेशको निर्वाचनमा कांग्रेस एमालेको घुँडासम्म आइपुग्छ,’ ओलीले भने, ‘अस्ति चितवनमा भएको आमसभामा (नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल) 'प्रचण्ड'ले चितनवनमा छोरीलाई भोट नहाले देशमा ठूलो दुर्घटना हुन्छ भनेर धम्क्याएको भोलिपल्ट हिजो काठमाडौंमा कांग्रेसका सभापति शेरबहादुर देउवाले त्रासले रेणु दाहाललाई मैले उठाएको भन्न भ्याएछन्।’

उनले प्रचण्डले धम्क्याउँदा देउवा धामी बाेके जस्तो गरी फाटफाट भन्ने गरेको टिप्पणी गरे। ‘प्रचण्डले चितवनमा रेणुलाई भोट नहाले देश दुर्घटनामा जान्छ भनेर नधम्क्याए हुन्छ, अन्तिममा प्रचण्डले चिसै पानीले नुहाउनुपर्छ,’ ओलीले व्याङ्ग्य गरे। प्रचण्डले आफ्नी छोरी रेणुलाई भोट माग्दा पुरुषले केही गर्न सकेर महिलालाई उम्मेदवार बनाएको भनेर व्यक्त गरेको भनाइप्रति लक्षित गर्दै भारतको लखनउ विवाह गरेर घरजम गर्न गएकी छोरीलाई राजनीतिमा ल्याउनु आफन्त प्रतिको मोह भएको टिप्पणी गरे।

‘पहिला पहिला माओवादी पार्टी जुरो ठडाएर हिड्ने गथ्यो,’ ओलीले भने, ‘छोरी, बुहारी, नातागोता र आफन्तबाहेक पार्टीमा संघर्ष गरेकालाई अवसर नदिँदा अहिले माओवादी पार्टी सानो केन्द्र भएको छ।’ उनले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति इकिंत गर्दै देश चुसेर कलंक लागेकाबाट केही नहुने बताए। ‘कांग्रेसबाट त देशको भलो हुँदैन नै, अर्कोथरी राष्ट्रिय झण्डा बोकेर बुरुक्क, बुरुक्क उफ्रिएर हिड्छन,’ उनले भने, ‘२४० वर्ष देश चुसेर कलंक बनाएकाले अब फेरी राजावादीको नारा लगाउनु भनेको जोगीले फेरी लगाए जस्तो हो, केही हुनेवाला छैन।’

प्रकाशित: २४ वैशाख २०७९ ११:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App