१६ चैत्र २०८० शुक्रबार
राजनीति

स्थानीय निर्वाचन २०७९ः देशभरि उत्साहजनक मनोनयन लाखभन्दा बढी उम्मेदवार

काठमाडौं महानगरपालिकाको प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयतर्फ जाने क्रममा नेकपा एमालेका केशव स्थापित र गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सिर्जना सिंह। तस्बिरः विजय राई/नागरिक

स्थानीय तहको चुनावका लागि देशैभरिबाट ७९ वटा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्। आगामी पाँच वर्षका लागि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार राति साढे १० बजेसम्मको ‘अपडेट’ अनुसार ९९ हजार ६४६ जनाले मनोनयन दर्ता गराएका छन्।

७ सय ५३ स्थानीय तहका लागि भएको उम्मेदवारी मनोनयन दर्ताको अन्तिम विवरण आउन बाँकी रहेको जनाउँदै निर्वाचन आयोगले नगर प्रमुखका लागि २ हजार ६४६, अध्यक्षका लागि २ हजार ८६३, उपप्रमुखका लागि १ हजार ६४६, उपाध्यक्षका लागि १ हजार ९५६, वडाध्यक्षका लागि २४ हजार ११८, महिला सदस्यका लागि १६ हजार ६५५, दलित महिला सदस्यका लागि १४ हजार ९६९ र खुला सदस्यका लागि ३४ हजार ७९३ जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार अन्तिम विवरण आउँदा उम्मेदवारको संख्या १ लाखभन्दा बढी हुने देखिएको छ। आयोगले स्थानीय तहका ३५ हजार २२१ पदका लागि उम्मेदवारी दर्ता गराउन आइतबार र सोमबार गरी दुई दिन तोकेको थियो।  

यस्तै मंगलबार उम्मेदवारको विरोधमा उजुरी दिन पाइनेछ। बुधबार र बिहीबार मनोनयनपत्र जाँच, उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने आयोगको कार्यक्रम छ। त्यसैगरी वैशाख १५ मा उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ मा नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, १७ मा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ।

६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० वटा गाउँपालिका, ७७ जिल्ला समन्वय समिति र ६ हजार ७४३ वडामा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ। निर्वाचनमा २०७९ वैशाख २९ सम्म १८ वर्ष पूरा भएका मतदाताले मत दिन पाउनेछन्। यसपटक कुल मतदाताको संख्या १ करोड ७७ लाख ३३ हजार ७२३ छ। तीमध्ये ८७ लाख ४१ हजार ५३० जना महिला, ८९ लाख ९२ हजार १० जना पुरुष र अन्य लिंगका १८३ जना मतदाता छन्।

राष्ट्रिय मान्यता प्राप्त दललगायत अन्य साना दलले पनि चुनावमा भाग लिएका छन्। सत्तारुढ गठबन्धन दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले महानगरपालिका र उपमहानगरपालिकामा केन्द्रबाट नै गठबन्धन गर्ने निर्णय गरेका छन्।

गठबन्धनको निर्णयअनुसार महानगर र उपमहानगरपालिकामा संयुक्त उम्मेदवारी दिइएको छ। सबै नगरपालिका, गाउँपालिकामा गठबन्धन दलले तालमेल गर्न सकेका छैनन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले छिटपुट तालमेलबाहेक एकल रुपमा चुनावी मैदानमा उत्रिएको छ। स्थानीय चुनावका लागि निर्वाचन आयोगमा ७९ दलले आबद्धता जनाएका छन्। चुनाव आउन १७ दिन बाँकी हुँदा निर्वाचन आयोगले ७७ वटै जिल्लामा निर्वाचन सामग्री पठाइसकिएको बताएको छ।

वैशाख १३ देखि मतपत्र ढुवानी सुरु गर्ने तयारी छ। यसअघि २०७४ सालमा भएको स्थानीय चुनावमा देशभरि गरी १ लाख ४८ हजार ३६४ जनाको उम्मेदवारी परेको थियो। त्यसमध्ये ५७ हजार ८४३ जना महिला, ९० हजार ५१९ जना पुरुष र २ जना तेस्रो लिंगी उम्मेदवार बनेका थिए। सबैभन्दा बढी प्रदेश २ मा ३७ हजार २४८ जनाले उम्मेदवारी दिएका थिए।

सबैभन्दा कम १२ हजार ४०२ जना कर्णाली प्रदेशमा उम्मेदवारी दिएका थिए। अघिल्लो चुनावमा १ करोड ४० लाख ७२ हजार ४२४ जना मतदाता रहेका थिए भने चुनावमा ८० दलले भाग लिएका थिए। २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा ८६०, विराटनगर महानगरपालिकामा ७०३ र वीरगञ्ज महागरपालिकामा १०२५ जनाले मनोनयन दर्ता गरेका थिए।

आचारसंहिता कार्यान्वयनमा जोड

निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आचारसंहिता कार्यान्वयन गर्न पटकपटक आग्रह गर्दै आएको छ। चुनाव स्वच्छ, स्वतन्त्र, भयरहित, पारदर्शी बनाउन आयोगले आह्वान गर्दै आएको छ। आचारसंहिताविपरीत हुनेगरी कुनै दलको झण्डा, चिन्ह राखिएको भए सम्बन्धित दलले तत्काल हटाउन, राजनीतिक दल वा उम्मेदवारबाट हुने कुनै पनि आमसभा, जुलुस, र्‍याली, भेला, बैठक, घरदैलो, उम्मेदवारी दर्ता कार्यक्रम आदिमा र निर्वाचन अधिकृतको अनुमतिमा उम्मेदवारले प्रयोग गर्ने सवारीसाधनमा ३–३ फिट साइजको दलको एउटा झन्डा राख्न पाइने आचारसंहितामा उल्लेख छ।

एउटा चुनाव चिन्ह, उम्मेदवारको पहिचान खुलेको एफोर साइजको सादा विवरण बाहेक अन्य कुनै सामग्री प्रयोग नगर्न नगराउन आयोगले आग्रह गर्दै आएको छ। आचारसंहिता उल्लंघन भएमा उम्मेदवारलाई कारबाही हुने भन्दै सचेत रहन आयोगले आग्रह गर्दै आएको छ।

प्रकाशित: १३ वैशाख २०७९ ००:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App