१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले र राप्रपाबीच चुनावी तालमेल केन्द्रित छलफल

नजिकिँदै गरेको स्थानीय तहको चुनावसँगै त्यसभन्दा पछाडि हुने संघ र प्रदेशको चुनावका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशम्शेर राणाबीच छलफल भएको छ।

कर्णालीबाट फर्किने क्रममा एमाले अध्यक्ष ओली र राप्रपाका महामन्त्री राणाबीच बिहीबार राति नेपालगन्जमा भेटघाट भएको हो। उक्त भेटमा समग्र राजनीतिक परिस्थितिसँगै चुनावका विषयमा छलफल भएको थियो।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत पाँच दलीय गठबन्धन निर्माण भएपछि एमाले र राप्रपाबीच हुन सक्ने चुनावी तालमेलका विषयमा छलफल भएको राप्रपाका केन्द्रीय सहायक महामन्त्री ऋषिराज देवकोटाले जनाए।

‘एमाले र राप्रपाबीच चुनावी तालमेलका विषयमा प्रारम्भिक छलफल सुरु भएको छ,’ उनले भने, ‘छलफल सकारात्मक भयो।’ कुनै ठाउँ र क्षेत्र विशेषमात्रै भन्दा पनि देशभरि कसरी चुनावी तालमेल गरेर जान सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित भयो।’

उनका अनुसार स्थानीय तहको चुनावमात्र नभइ संघ र प्रदेशको चुनावमा समेत सँगै जाने विषयमा छलफल केन्द्रित थियो। यसभन्दा पहिला पनि एमाले र राप्रपाका दोस्रो तहका नेताहरुबीच चुनावी तालमेलका विषयमा छलफल भइसकेको उनी बताउँछन्।

तर, अध्यक्षसँग यस विषयमा पहिलोपटक छलफल भएको उनले जनाए। ‘एमाले र राप्रपाबीच अब छलफल प्रारम्भिक भएको छ। यसलाई निरन्तरता पाउने छ,’ उनी भन्छन्, ‘सरकार बाहिर रहेका दलहरुबीच चुनावी तालमेल हुनु अस्वभाविक होइन।’

छलफलका क्रममा एमाले अध्यक्षले यस विषयमा पार्टीमा जानकारी गराउने बताएका थिए भने राप्रपा महामन्त्री राणाले पनि चुनावी तालमेलका विषयमा निरन्तर संवाद हुनुपर्ने बताएका थिए। राप्रपाका सहायक महामन्त्री देवकोटाका अनुसार बाँकेका एमालेका नेताहरुले पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीसँग राणालाई आग्रह गरेका थिए।

राणा नेपालगन्जका मेयरसमेत हुन्। पाँच दलीय गठबन्धन हुने भएपछि एमाले र राप्रपा एक्लाएक्लै चुनावमा जाँदा कमजोर हुने भित्री मानसिकता छ। गठबन्धनलाई धक्का दिन पनि यी चुनावी तालमेल अपरिहार्य भएको यी दलको बुझाइ छ।

प्रकाशित: १८ चैत्र २०७८ ०६:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App