२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

एमाले विधान महाधिवेशनः चार वर्षका लागि पार्टीको नीति तय गर्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान महाधिवेशन शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज केन्द्रमा सुरु हुँदैछ। आठौं र नवौं महाधिवेशनमा नीतिभन्दा बढी नेतृत्वमा रस्साकस्सी भएकाले नीति र विधि टुंग्याउन एमालेले पहिलो पटक विधान महाधिवेशन गर्न लागेको हो।  

विधान महाधिवेशन सकिएपछि एमालेले दसौं महाधिवेशनबाट नेतृत्व चयन गर्ने भएको छ। ‘नीति र विधि टुंग्याएर मात्रै नेतृत्वका लागि दसौं महाधिवेशन हुनेछ’, महाधिवेशन व्यवस्थापन समितिका संयोजक एवं स्थायी कमिटी सदस्य रामबहादुर थापाले भने। दसौं महाधिवेशनपछि पार्टीको नीतिगत स्वरूप कस्तो बनाउने भन्ने मुख्य अजेन्डा र नेतृत्वको स्वरूप निर्धारण गर्नेगरी एमालेकै इतिहासमा पहिलोपटक विधान महाधिवेशन हुन लागेको थापाले बताए।

थापाले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको बताए। उद्घाटन सत्रपछि बन्द सत्रमा केन्द्रीय कमिटीका तर्फबाट अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। यस्तै महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन्।

बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन्।

महाधिवेशनबाट एमालेले आगामी चार वर्षका लागि नीतिगत धारणा पास गर्नेछ। ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन, पोखरेलको संगठनात्मक प्रस्ताव र पौडेलको विधान संशोधन प्रस्ताव महाधिवेशनले पारित गर्नेछ। यी तीनवटै दस्तावेजमाथि एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटीमा छलफल भएको थियो। स्थायी कमिटी र केन्द्रीय कमिटीबाट सुझावसहित पारित प्रतिवेदन महाधिवेशनको हलमा लगिनेछ। महाधिवेशनलाई सफल बनाउन विभिन्न भ्रातृ संगठनबाट स्वयंसेवक परिचालन गरिएको विधान महाधिवेशन आयोजक कमिटी सदस्य एवं मिडिया संयोजक खिमलाल भट्टराईले बताए।  

भट्टराईका अनुसार महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्य, केन्द्रीय निकाय, विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रका प्रतिनिधि, संघीय र प्रदेशका सांसद, स्थानीय तहका प्रमुख तथा उपप्रमुख र केन्द्रले मनोनीत गर्ने १० प्रतिशतसमेत गरी करिब ६ हजार प्रतिनिधि सहभागी हुनेछन्। ‘भूगोल, जनसंगठन, पेसागत संगठन, प्रवास संगठनबाट सहभागी हुने प्रतिनिधि छनोट भएको छ, समावेशी सिद्धान्तका आधारमा महिला, दलित, जनजातिको पनि उल्लेख्य सहभागिता रहनेछ’, उनले भने। उनका अनुसार विभिन्न स्थानमा डिजिटल बोर्डबाट महाधिवेशनका गतिविधि प्रत्यक्ष प्रसारण गरिनेछ। ‘प्रचारप्रसारका लागि अहिले वाल पेन्टिङ गरिएको छैन, डिजिटल बोर्डको प्रयोग गरेर प्रचारप्रसार गरेका छौं। सञ्चार क्षेत्रको सहयोग पनि हुन्छ, भव्य र ऐतिहासिक विधान महाधिवेशन गर्ने हाम्रो लक्ष्य छ। यो ऐतिहासिक रूपमा सम्पन्न गर्ने र यसलाई हाइटेक बनाइनेछ’, भट्टराईले भने।  

यस्तो छ व्यवस्थापन  

महाधिवेशनमा भाग लिन प्रतिनिधिहरू सातदोबाटोसम्म आफैं जानेछन्। बिहानको खाना र दिउँसोको खाजा सम्मेलन केन्द्रमा नै खुवाउने, साँझको खानाचाहिँ प्रतिनिधिहरूले बसेको ठाउँमा खानेछन्। खाना र खाजा खुवाउन क्याटरिङ व्यवसायीलाई जिम्मा दिइएको छ। सम्मेलन केन्द्रमा सहभागीलाई बिहान ९ बजेदेखि ११ बजेसम्म खानाका लागि निर्धारण गरिएको छ। ११ बजेदेखि दिनभर छलफल भएर साँझ ५ बजे सम्पन्न गर्ने कार्यतालिका बनाइएको छ। दिउँसो एक घण्टा भने प्रतिनिधिलाई खाजा खान समय तोकिएको छ।  

प्रतिनिधिहरूको आवासको व्यवस्थापन प्रदेश कमिटीले गर्ने प्रबन्ध मिलाइएको छ। सञ्चारकर्मीलाई पनि छुट्टै बस्ने व्यवस्था गरिएको छ।  

त्यसैगरी विधान महाधिवेशनको मूल हलको अगाडि मञ्चमा एमालेका पदाधिकारी र स्थायी समिति सदस्यमात्र बस्ने व्यवस्था गरिएको छ। प्रत्येक पदाधिकारी तथा स्थायी कमिटी सदस्यको नामसहितको सिट प्लानिङ गरिएको महाधिवेशन व्यवस्थापन समितिले जनाएको छ। मूल हलमा सबै प्रतिनिधि सहभागी हुन सक्नेछैनन्। मूल हलमा ३ हजार प्रतिनिधिलाई मात्रै बस्ने व्यवस्था गरिएको छ। त्यस्तै मूल हलको दायाँबायाँका हलमा एकएक हजार प्रतिनिधि बस्ने व्यवस्था मिलाइएको छ। बाँकीलाई हलको दायाँबायाँका प्यासेजमा माथिल्लो खाली भागमा टेन्ट टाँगेर बस्ने व्यवस्था मिलाइएको छ।

जबज अब सिद्धान्त  

एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले समाजवादसम्म पुग्ने मूलबाटो जनताको बहुदलीय जनवाद (जबज) भएको बताएका छन्। पाँचौं महाधिवेशनमा मदन भण्डारीले प्रस्ताव गरेको जबज नै समाजवादमा पुग्ने आधिकारिक लाइन भएको उनले बताए। ‘पार्टीको वैचारिक लाइन जनताको बहुदलीय जनवाद व्यवहारमा लागु भएर खारिएको छ। व्यावहारिक हिसाबले व्यवहारमा लागु भइसकेकाले अब सिद्धान्त भइसकेको छ’, स्थायी कमिटी सदस्य थापाले भने। उनले पार्टीभित्र अझै सिद्धान्त कि कार्यक्रम भन्ने वैचारिक बहस भइरहेको बताउँदै जनवादी क्रान्ति पछि सिद्धान्तमा रूपान्तरण भएको दाबी समेत गरे।  

‘जबज मदन भण्डारीको परिकल्पना थियो, अहिले जनवादी क्रान्ति सम्पन्न भएपछि त्यो व्यवहारले नै सिद्धान्त थियो भन्ने पुष्टि भयो’, थापाले भने, ‘यो विषयमा पार्टीभित्र ‘मदनवाद’ विचारधारा भनेर जाने कि भन्ने पनि छ। यो कार्यक्रममात्र हो, सिद्धान्तको व्याख्या भएको छैन भन्ने पनि आएको छ तर पार्टीको वैचारिक लाइन भनेको जबज नै हो।’ माओवादी धारबाट एमालेमा आएका थापाले पार्टीको शीर्ष नेतृत्वमै रहेर जबजको व्याख्या गरे। उनी आगामी महाधिवेशनबाट पार्टीको उपाध्यक्ष हुने सम्भावनासमेत रहेको छ। जबज आधिकारिक लाइन हो भन्दै गर्दा थापाले जबजलाई अब नयाँ ढंगले थप संश्लेषण गर्दै अघि बढ्नुपर्ने पनि बताए।

प्रकाशित: १५ आश्विन २०७८ ०१:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App