४ वैशाख २०८२ बिहीबार
image/svg+xml ७:५० पूर्वाह्न
राजनीति

राप्रपाको प्रदर्शन बल्खुमा हुने

राप्रपाले भोलिका लागि आह्वान गरेको प्रदर्शन बल्खुमा गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले बल्खु वा सिफलमा गर्न भनेकामा सोही अनुसार राप्रपाले बल्खुमा प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

उनले प्रशासनले सुरक्षाको कारण देखाउँदै भृकुटीमण्डपमा अनुमति नदिएपछि स्थान परिवर्तन गर्नुपरेको बताएका छन्। उनले भने, 'भोलि चैत २६ गते भृकुटीमण्डपमा हुने भनिएको राप्रपाको बागमती प्रदेश स्तरीय प्रदर्शन र आमसभा बल्खुमा हुनेछ। प्रशासनले सुरक्षाको कारण देखाउँदै भृकुटीमण्डपमा अनुमति नदिएपछि स्थान परिवर्तन गर्नुपरेको हो।'

यसअघि चैत २२ गते अपराह्न राप्रपाले भृकुटीमण्डपमा प्रदर्शन गर्न लागेको भन्दै जिल्ला प्रशासन कार्यालयलाई इमेलमार्फत जानकारी गराएको थियो। तर जिल्ला सुरक्षा समितिको बैठकले भृकुटीमण्डपको सट्टा बल्खु वा सिफल चौरमा सभा गर्न अनुमति दिने निर्णय गरेको थियो। सो निर्णयको जानकारी जिल्ला प्रशासन कार्यालयले पत्रमार्फत् राप्रपालाई दिएको थियो। त्यसपछि राप्रपाले सभास्थल बल्खु रोजेको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत २६ गते गर्न लागेको उक्त प्रदर्शनलाई संयुक्त जनआन्दोलन समितिले समर्थन जनाएको छ। समितिका कार्यवाहक संयोजक जगमान गुरुङले हिजो विज्ञप्ति जारी गर्दै राप्रपाको आन्दोलनमा आफूहरूको समर्थन रहेको जनाएका हुन्। साथै गुरुङले राजसंस्था पुन:स्थापनाका लागि हुने आन्दोलनमा सक्रिय सहभागिताका लागि समेत अपिल गरेका छन्।

यसअघि समितिले चैत १५ गते दुर्गा प्रसाईंले आह्वान गरेको जनप्रदर्शनलाई पनि समर्थन गरेको थियो। उक्त आन्दोलनमा राप्रपाको पनि समर्थन र सहभागिता रहेको थियो।

प्रकाशित: २५ चैत्र २०८१ ११:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App