वी इग्नाइट नेशन र होप फोर किड्सको आर्थिक सहयोगमा सुर्खेतको वीरेन्द्रनगर–१३ गुमानटारमा रहेको सरस्वती आधारभूत विद्यालयको नयाँ भवन हस्तान्तरण भएको छ। भड्याङसहितको तीन कोठे यो भवन ५० लाख रुपैयाँमा बनेको हो। वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालको उपस्थितिमा भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ।
वी इग्नाइट नेशनका नेपाल निर्देशक प्रतिक विष्ट ‘अमर’ले यो वर्ष भवनमा तला थप्ने योजना सुनाए। ‘विद्यार्थीको संख्या बढ्दै गएको छ, माथिल्लो तलामा थप पाँच कक्षा कोठा बनाउँदैछौं,’ उनले भने, ‘साथै तीन कोठे प्रशासनिक भवन पनि निर्माणको काम चलिरहेको छ।’
२०४६ सालमा स्थापना भएको यो विद्यालयमा पहिले भौतिक सुविधाको अभाव थियो। टिनका खानाले कक्षा कोठामा पानी छेक्न सकेका थिएनन्। ‘नयाँ भवन बनेपछि यो वर्षदेखि कक्षा आठसम्म पढाइ सुरु गर्दैछौं,’ व्यवस्थापन समितिका अध्यक्ष चित्रानन्द योगीले भने, ‘विद्यार्थी संख्या पनि बढ्ने अपेक्षा छ।’ उनको बुझाइ छ, यो वर्ष विद्यालयको शैक्षिक नतिजामा पनि सुधार आएको छ।
मेयर मोहनमाया ढकालले वीरेन्द्रनगरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर क्रमशः बढ्दै गएको बताइन्। उनले जानकारी दिइन्, वीरेन्द्रनगरमा ६० सामुदायिक र १०० संस्थागत विद्यालय छन्। ‘भौतिक सुविधा भएपछि मात्र गुणस्तरीय शिक्षामा ध्यान दिन सकिन्छ,’ उनको तर्क छ, ‘त्यसैले हामी अहिले पूर्वाधारमा केन्द्रित छौं।’ उनका अनुसार, वीरेन्द्रनगरमा करिब ७० हजार विद्यार्थी मावि तहमा पढ्छन्।

‘३० प्रतिशत विद्यार्थी वीरेन्द्रनगरकै हुन्, बाँकी बाहिर र पहाडी जिल्लाबाट आएका छन्,’ उनले भनिन्, ‘अहिले यहाँका सामुदायिक विद्यालयमा पूर्वाधार अभावले भर्ना नपाउने अवस्था छ।’ उनले नगरपालिकाको नीति स्पष्ट पारिन्, ‘जहाँ विद्यालय छ, त्यहाँ शिक्षक र जहाँ विद्यार्थी छन्, त्यहाँ भवन बनाउँछौं।’
उनले संस्थागत विद्यालयमा अभिभावकले सिधै लगानी गर्ने भएकाले चासो बढी राख्ने गरेको उल्लेख गरिन्। तर, सामुदायिकमा अभिभावकको लगानी झन् धेरै हुने उनको भनाइ छ। ‘निजीमा एक बच्चाको मासिक खर्च चार हजार हुन्छ, सामुदायिकमा छ हजार हुन्छ,’ उनले भनिन्, ‘यो छ हजार तपाईंको करबाटै खर्च हुन्छ, त्यसैले सामुदायिक विद्यालयमा ध्यान दिनुपर्छ।’
कार्यक्रममा एसओएस हर्मन माइनर स्कुलका प्रधानाध्यापक हरिहर बस्नेतले सरस्वती आधारभूतसहित १० सामुदायिक विद्यालय एसओएसले जिम्मा लिएको बताए। ‘हामीले यो विद्यालय गत वर्षदेखि हेरेर विभिन्न काम गरिरहेका छौं,’ उनले भने, ‘नयाँ भवनले काम गर्न सजिलो हुनेछ।’
उनले थपे, एसओएसले जिम्मा लिएका विद्यालयमा फर्निचर, दिवा खाजा, विद्यार्थी क्लब, स्वयम्सेवी शिक्षक आदान–प्रदान, विद्यार्थीमैत्री शौचालय, साइबर सुरक्षा र अभिभावक शिक्षामा सहयोग गरिरहेको छ। ढिलो सिक्ने बालबालिकाका लागि थप कक्षा पनि चलाउने योजना रहेको उनको भनाइ छ।
प्रकाशित: २५ चैत्र २०८१ १३:५२ सोमबार