४ वैशाख २०८२ बिहीबार
image/svg+xml ५:१९ पूर्वाह्न
समाज

मल्लकालीन परिवारको झल्को दिने नवदुर्गाको ‘ङालाकेगु’ जात्रा

भक्तपुरको ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको नवदुर्गा देवगणको ‘ङालाकेगु’ (माछा मार्ने) जात्रा मल्लकालीन परिवारको पहिचान झल्काउने परम्परा हो। तान्त्रिक विधिबाट मनाइने यो जात्राले मल्लकालमा नेवार समुदायको संयुक्त परिवारमा सबैसँग मिलेर बस्ने, काम गर्ने, ठूलालाई सम्मान र सानालाई माया गर्ने चलन, सामाजिक मर्यादा, रीतिरिवाज, वेशभूषा, रहनसहन र खानपिनको चित्रण गर्छ।  

इतिहास र संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार, तान्त्रिक विधिमार्फत मानव शरीरमा देवत्व स्थापित गरेर बोलेरभन्दा भाव र सङ्केतबाट संवाद गर्ने यो जात्रा मल्लकालीन संयुक्त परिवारको प्रतीक हो। उनले भने, ‘नेवार समुदायमा शक्तिशाली पारिवारिक अनुशासनको सङ्केत यो नाचमा देखिन्छ। देवगणलाई देवगृहमा भित्र्याउने र निष्कासन गर्ने जिम्मेवारीसँगै जन्मदेखि मृत्युसम्मका संस्कारमा घरमूली (नंकी) ले भूमिका निभाउने भाव यो जात्रामा छ। मल्लकालमा नंकीको महत्व झल्काउने मूल सन्देश यसले बोकेको छ।’  

नवदुर्गा देवगणमा पित्तलको सानो मन्दिरलाई सिफोद्यः (महालक्ष्मी) को प्रतीक मानिन्छ। नाचमा भैरव, महाकाली, बाराही, ब्रह्मायणी, महेश्वरी, कुमारी, भद्रकाली, इन्द्रायणी, गणेश, महादेव, श्वेतभैरव, सिम्हदुम्ह (नन्दीभृङ्गी) गरी १३ मुकुण्डो प्रयोग हुन्छ। साथै, खिं बाजा, तः बाजा, कायँः बाजा, महापात्र र नकींसहित १९ जनाको समूह हुन्छ। नाचमा दैत्यको संहार गरेर रगत थाप्ने विशेष महापात्र (खप्पर) लाई त्रिपुरासुन्दरीको प्रतीक मानिन्छ।
  
नाचमा सुँगुरको बलिको रगतमा चिउरा मिसाएर बनाइएको ‘धौबजी’ लाई प्रसादका रूपमा देवगणले लिन्छन्। यो काम भैरव र महाकालीले गर्छन्, जसलाई गणका आमाबुबाका रूपमा लिइन्छ। महाकालीले धौबजी बाँड्दा महेश्वरीले लिँदैनन्, किनभने उनलाई बर्खी बाँड्ने देवीका रूपमा पूजा गरिन्छ।  

माघे सङ्क्रान्तिको भोलिपल्ट सुजमारीबाट सुरु हुने यो जात्रा भक्तपुरका २१ स्थानका साथै काठमाडौँको जयबागेश्वरी, थिमी, बनेपा, पनौती, साँखु, चाँगुनारायण, साँगा, श्रीखण्डपुर, टोखा र नालामा प्रदर्शन हुन्छ। जात्रा सुरु गर्नुअघि सुजमारी टोल परिक्रमा गरेर राति ‘खःप्याखं’ प्रदर्शन गरी सुँगुरको बलि दिने परम्परा छ।  

जात्रामा प्रदर्शन हुने नाचहरू
भैरवनाथको नाच
जात्रा भैरवनाथको नाचबाट सुरु हुन्छ। गीतको बोल र बाजाको तालमा पारिवारिक रहनसहन, अभिभावकको भूमिका, चेलीबेटीको दुःख, शाकाहारी र मांसाहारी विषयमा नाच देखाइन्छ। भैरवको बाहुलीबाट पूजा गर्ने, बलि दिने र ‘मुबाहा ल्यगु’ (सुँगुर लखेट्ने) नाच सुरु हुन्छ। सुँगुरलाई खुला ठाउँमा छाडेर ‘लियो लियो पायो पायो’ भन्दै लखेटेर समातिन्छ र सिफोद्यः अगाडि बलि दिइन्छ। त्यसपछि भैरव, काली र गणेशको नाच हुन्छ।  
धान रोपाइँ नाच

ब्रह्मायणी, महेश्वरी, कुमारी र भद्रकालीले धान रोपाइँ नाच देखाउँछन्। सृष्टिकर्ता ब्रह्मायणीबाट नाच सुरु हुन्छ। कुमारीले चेलीबेटीको व्यवहार, सरसफाइ, शृङ्गार, खाना पकाउने र बाँड्ने काम देखाउँछन्। अरूलाई बाँडेर खुशी हुने कुमारीलाई भैरवले खाली पात्र दिएकोमा चित्त दुखाउँदै ‘कुमारी तुलेगु’ (विलाप गर्ने) नाच हुन्छ। कुमारीलाई लक्ष्मी र सरस्वतीका रूपमा पनि पूजा गरिन्छ। भद्रकालीले कृषिको प्रतीक नाच देखाउँछन्, जहाँ जीवको बाँच्नका लागि खानपान चाहिन्छ भन्ने भाव छ। महेश्वरीलाई शाकाहारी र शान्तिको प्रतीक गङ्गाजस्तै पवित्र देवीका रूपमा पूजा गरिन्छ।  

बाराही नाच
बाराहीले घरकी महिलाको नाच देखाउँछन्। बेलविवाह, सूर्यविवाह, बुहारीको व्यवहार, नारीको पारिवारिक जिम्मेवारी, आदर र शिष्टता जस्ता विषय समेटिन्छ।  

सिम्हदुम्हको ङालाकेगु जात्रा
सिम्हदुम्हलाई भीमसेन र द्रौपदीका रूपमा पूजा गरिन्छ। दुम्हले बालबालिकाको गतिविधि र भीमसेनको भूमिका देखाउँछ भने सिम्हले द्रौपदीको। टोलमा पैसा मागेर श्रीमान्-श्रीमतीको सदाचारयुक्त दाम्पत्य जीवनको नाच प्रदर्शन हुन्छ। यो नाच टोलमा तीन पटकसम्म गरिन्छ।  

महाकाली नाच
सिम्हदुम्हको नाचपछि महाकालीले युद्ध, नारीको क्रोध र तीन नेत्रको नाच देखाउँछन्। उनलाई सबैभन्दा क्रोधी देवीका रूपमा प्रस्तुत गरिन्छ। महिषासुरलाई स्वर्ग र पातालबाट खोजेर वध गरेको प्रदर्शन हुन्छ। बलि नपाउँदा रिसाएर फर्कने क्रोधी स्वरूप पनि देखाइन्छ।  

श्वेतभैरवको खास्टो लुट्ने र फिर्ता गर्ने नाच
महिषासुर वधपछि रगताम्य महाकालीले वस्त्र सफा गरिरहँदा श्वेतभैरवले सुन्दर नारीको नग्न शरीर हेरेर जिस्किएको देखाइन्छ। महाकालीले खास्टो लुट्छिन्। श्वेतभैरवले मायाले फकाउँदा नमानेपछि बाटोमा पैसा मागेर चढाउँछन्। महाकालीले भाले कुखुरा माग्छिन्। श्वेतभैरवले भाले किनेर बलि चढाउँदा महाकाली खुशी भएर खास्टो फिर्ता गर्छिन्।  

श्वेतभैरवको ङालाकेगु जात्रा
खास्टो फिर्तापछि श्वेतभैरवको पुलुको कुनामा माछा राखेर नाच देखाइन्छ। हावा हम्काई टोलमा तीन पटकसम्म यो जात्रा हुन्छ।  

श्वेतभैरवको पेट दुख्ने नाच
माछा मार्ने नाचपछि श्वेतभैरवलाई पेट दुखेको देखाइन्छ। इन्द्रायणीले अक्षता छरेर निको पार्छिन्। त्यसपछि श्वेतभैरव र इन्द्रायणीको नाच हुन्छ। श्वेतभैरवले सिम्हदुम्हलाई लुगा धुन लगाउँदा फालिदिन्छन्, अनि आफैँ धुने नाच देखाइन्छ।  

समापन नाच
राति हुने समापन नाचमा श्वेतभैरवको नाच देखाइन्छ। सबै देवगणले सामूहिक नाच गर्छन्। बाजागाजा र जयजयकारसहित देवगृहमा पुर्‍याएर जात्रा सकिन्छ।

प्रत्येक वर्ष नवदुर्गाको जन्मसँगै नेवार समुदायमा उत्साह छाउँछ। यसको अन्त्यसँगै बाढीपहिरो र रोगको प्रकोप बढ्ने विश्वास छ। नवदुर्गा व्यवस्थापन संस्थाका सल्लाहकार नारायण वनमालाले यो जात्रा घण्टाकर्णदेखि सिथी नखः सम्म चल्ने बताए। उनका अनुसार, भगस्थीमा देवगण जलमा समावेश भएपछि कठिनाइ सुरु हुन्छ।

भक्तपुरको नालागाउँमा ब्रह्मायणी जोल जङ्गलको मन्दिरबाट नवदुर्गा प्रकट भएर मानिसको भोगबलि लिन्थे। एक सिद्ध तान्त्रिक आचाजुले मन्त्रले देवगणलाई घरमा राखे। उनको मृत्युपछि देवगण फेरि जङ्गलमा फर्किए। पछि सोमराज ब्राह्मणले मन्त्रले देवगणलाई सोमला गल्लीमा ल्याए। तर, उनकी श्रीमतीले ढोका खोल्दा देवगण पूर्वतिर गए। ब्राह्मणले गणखा समुदायलाई नृत्य सिकाएर जात्रा सुरु गरे।

आठ महिना चल्ने यो जात्रा तुलाछे, तुछिमला, इच्छुबाहेक पनौती र बनेपामा बाँकी छ। खाली पेटमा जाँड र रक्सीको भरमा नाङ्गो खुट्टाले नाच्ने कठोर नियम पालना गर्ने वनमाला समुदायको संरक्षणका लागि पूर्वसचिव रत्नमान वनमालाले राज्यबाट विशेष व्यवस्था गर्न माग गरे।
लक्ष्मी गारु/रासस

प्रकाशित: २५ चैत्र २०८१ १३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App