१६ चैत्र २०८० शुक्रबार
राजनीति

ठाकुर पक्षलाई सहमतिभन्दा पनि बढी मन्त्री

जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका आधाभन्दा बढी सांसद मन्त्री भएका छन् । जसपाको ठाकुर पक्षका २० मध्ये ११ सांसद केपी ओली नेतृत्व सरकारका मन्त्री भएका छन् । यसबाट प्रधानमन्त्री केपी शर्मा ओली ठाकुर पक्षलाई निकै महत्व दिएको दिएको बुझिन्छ । ठाकुर पक्षसँग गरिएको सहमतिभन्दा पनि बढी मन्त्रालय ओलीले ठाकुरलाई दिएका छन् ।  

पहिलो लटमा ठाकुर पक्षका ८ मन्त्री र २ राज्य मन्त्री भए । दोस्रो पटकमा राजकिशोर यादव मन्त्री भएका छन् । यसअघि, ठाकुर पक्षका नेता महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्रीसँग गरेको सम्झौतामा ठाकुर पक्षले ८ मन्त्री र २ राज्य मन्त्री पाउने सहमति गरिएको थियो । सुरुमा प्रधानमन्त्री ओलीले ठाकुर पक्षलाई ७ वटाभन्दा बढी मन्त्रालय दिन चाहेका थिएनन । आन्तरिक व्यवस्थापन मिलाउन कम्तीमा १० जना व्यक्तिलाई सरकारमा पठाउनुपर्ने बाध्यता ठाकुरले सुनाएपछि ओलीले ८ वठा मन्त्रालय दिन तयार भएका थिए । ८ वटा मन्त्रालयमा ठाकुर पक्षले सहमति जनाएको थियो ।  

जसपा स्रोतका अनुसार राजकिशोर यादवलाई सुरुमै सरकारमा पठाउने तयारी भएको थियो । तर अन्तिममा उनको नाम काटियो । स्रोत भन्छ, राजेन्द्र महतोले यादवको नाम काटेका थिए । पछिल्लो समय ठाकुर–महतो पक्षलाई यादवको सहयोग पर्याप्त नभएको बुझाइ महतोको थियो । ‘त्यसैले महतोको सिफारिशमा यादवको नाम काटियो,’ महतोनिकट स्रोतले भन्यो । त्यसपछि राजकिशोर यादव रुष्ट भए । आफूलाई सरकारमा नपठाएको विषयलाई उनले प्रतिष्ठाको विषय बनाए । स्रोतका अनुसार उनले उपेन्द्र यादव पक्षका एक शीर्ष नेतासँग पनि उनले सम्पर्क र कुराकानी अघि बढाए ।  

यसको सुइँको ठाकुरलाई भयो । यसैवीच, यादवले बुधबार साँझ प्रधानमन्त्री केपी ओलीलाई एक्लै भेटे । प्रधानमन्त्रीलाई पनि कन्भिन्स गराए । ओलीले ठाकुरको समस्या बुझे । ठाकुर पक्षभित्र आन्तरिक व्यवस्थापन मिलाउन प्रधानमन्त्रीले यादवलाई मन्त्री बनाएको स्रोतको भनाइ छ । राजेन्द्र महतोले चाहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय ओलीले यादवलाई दिएका छन् ।  

प्रतिनिधिसभामा जसपाको ३४ सिट छ । त्यसमध्ये दुईजना सांसद रेशम चौधरी र हरिनायाण रौनियार हाल निलम्बित अवस्थामा छन् । बाँकी ३२ सिटमा पूर्वराजपाको १६ र पूर्व समाजावदीको १६ सिट हो । पूर्वराजपाका अध्यक्ष मण्डल सदस्य तथा सांसद महेन्द्र यादवले कित्ता परिवर्तन गरी यादव पक्षमा पुगेका छन् । तर यादव पक्षका ५ सांसदले कित्ता परिवर्तन गरी ठाकुर पक्षमा पुगेका छन् । यसबाट ठाकुरको पक्षमा २० जना सांसद पुगेका हुन् । 

यादव पक्षबाट कित्ता परिवर्तन गरी ठाकुर पक्षमा पुगेका ५ सासदमा बीमल श्रीवास्ताव, उमाशंकर अरगरैया, रेणुका गुरुङ,रुही नाथ र कल्लुदेवी विश्कर्मा हुन् । यी मध्ये ३ सांसद श्रीवास्तब, अरगरिया, र गुरुङ भएका छन् । कित्ता परिवर्तन गरेर पनि मन्त्री नभएका दुई सांसदलाई पनि ‘चित्त बुझाइएको’ ठाकुर पक्षका एक कार्यकारिणी सदस्यले बताए । कसरी चित्त बुझाइयो भन्ने बारेमा भने उनले खुलाउन चाहेनन् ।  

ठाकुर पक्षमा सक्रिय भएर पनि मन्त्री हुन नपाएका प्रमोद साह असन्तुष्ट भएका छन् । उपेन्द्र यादव पक्षमा अहिले १२ जना सांसद मात्र छन् । तर कार्यकारिणी समितिमा भने यादव बहुमतमा छन् ।

प्रकाशित: २८ जेष्ठ २०७८ ०१:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App