८ वैशाख २०८१ शनिबार
राजनीति

चिकित्सकहरु देशव्यापी हडतालमा

डा.गाेविन्द केसीकाे समर्थनमा बुधबार काठमाडाैंकाे हनुमानढाेका दरबार क्षेत्रमा प्रदर्शन गर्दै चिकित्सक ।तस्बीर : दिनेश गाेले / नागरिक

काठमाडौं - अनशनरत डा.गोविन्द केसीको ज्यानै जोखिममा पर्दासमेत निकासका लागि सरकार तत्पर नदेखिएको भन्दै चिकित्सकहरुको साझा संस्था नेपाल चिकित्सक संघले बिहीबार देशभर स्वास्थ्य संस्था बन्द गर्ने घोषणा गरेको छ।

स्वास्थ्य संस्था हडताल गरेर १२ बजे माइतीघर मण्डलामा आउन संघले आह्वान गरेको छ ।डा. केसी अनशन बसेको १९ दिन बितिसक्दा पनि उनका माग सम्बोधन गर्न र जीवनरक्षाका लागि सरकार संवेदनशील नभएको भन्दै संघले देशव्यापी स्वास्थ्य हडताल आह्वान गरेको हो।

संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले १९ दिनसम्म धैर्य गर्दा पनि डा.केसीका जायज मागप्रति सरकार अनुदार भएपछि बाध्य भएर हडतालमा जानुपरेको बताए । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा डा. श्रेष्ठले बिहीबार देशभरका सबै सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङहोम, क्लिनिकलगायतका सम्पूूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवाबाहेकका स्वास्थ्य सेवा बन्द गरेर चिकित्सकहरु माइतीघरमा भेला हुने जानकारी दिए । ‘हामीले प्रधानमन्त्रीदेखि सम्पूर्ण दलका नेतालाई भेटेर यो परिस्थिति आउन नदिन गुहारेकै थियौं,’ उनले भने, ‘सत्तारूढ दल र सरकार संवेदनशील भएनन् ।’

संघले सरकारले केदारभक्त माथेमा कार्यदलको सुझावअनुसार चिकित्सा शिक्षा र स्वास्थ्य सेवा कार्यान्वयन गर्ने वातावरण तयार नगर्दा डा. केसीले जीवन त्याग्नुपर्ने परिस्थिति उत्पन्न भएको भन्दै दुःख व्यक्त गरेको छ । संघले डा. केसीका पक्षमा संघ जस्तोसुकै परिस्थितिको सामना गर्न पछि नहट्ने चेतावनी दिएको छ।

‘हामीले देश चलाउने नेताको दैलो चहारेर डा. केसीको जीवनको भिख माग्दा कुनै नेता पनि संवेदशील भएको पाएनौं,’ डा.श्रेष्ठले भने, ‘सरकारले जसरी हामी आफ्नै सदस्यको मृत्यु कुरेर र टुलुटुल हेरेर बस्न सकेनौं ।’

संघका महासचिव डा. लोचन कार्कीले एकदिने बन्दमार्फत देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीको आवाज सरकारसम्म पुग्ने विश्वास लिएको भन्दै सरकार फेरि पनि संवेदनशील हुने आशा व्यक्त गरे । ‘यति हुँदा पनि सरकार संवेदनशील हामी देशभर आकस्मिक सेवाबाहेका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चितकालसम्म बन्द गर्न बाध्य हुनेछौं,’ डा.कार्कीले भने । संघले देशभरका चिकित्सकलाई काम छोडेर सरकारलाई दबाब दिने आन्दोलनमा सरिक हुन आह्वान गरेको छ ।

संघले सरकारी वार्ताटोलीको ध्यान वार्ताका माध्यमबाट डा. केसीका माग सम्बोधन गर्नु भन्दा उनलाई जबरजस्ती जुम्लाबाट काठमाडौं ल्याउन केन्द्रित भएको ठहर गरेको छ ।आन्दोलनका चरणबद्ध कार्यक्रम घोषणा गर्नुपूर्व संघको टोलीले प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकलम दाहाल, कांगेस सभापति शेरबहादुर देउवासहित पूर्वप्रधानमन्त्री, शिक्षा, स्वास्थ्यमन्त्री र थुपै दलका शीर्ष नेतालाई भेटेको थियो । ‘हामीले देश चलाउने नेताको दैलो चहारेर डा.केसीको जीवनको भिख माग्दा पनि कुन नेता संवेदशील भएको पाएनौं,’ डा.श्रेष्ठले भने, ‘सरकारले जसरी हामी आफ्नै सदस्यको मृत्यु कुरेर र टुलुटुल हेरेर बस्न सकेनौं ।’

सरकारी वार्ता टोलीलाई सरकारले पूर्ण अधिकार नदिएको आरोप संघको छ । ‘टोली डा. केसीलाई जुम्लाबाट जबरजस्ती काठमाडौं ल्याउने परिस्थिति सिर्जना गर्न मात्र वार्तामा उपस्थित भएको हो कि भन्ने शंका हामीलाई लागेको छ,’ संघको विज्ञप्तिमा उल्लेख छ ।अध्यक्ष श्रेष्ठले संविधानले स्वास्थ्यलाई मौलिक हकका रुपमा स्थापित गरेको अवस्थामा आमनागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा र सहज शिक्षाका लािग आफै अग्रसर हुनुपर्नेमा राज्य त्यसलाई दबाउन सक्रिय भएको बताए । संघले विवादास्पद विधयेक फिर्ता लिएर अध्यादेशअनुसारको चिकित्सा शिक्षा विधेयक संसद्मा दर्ता गराउन माग गरेको छ ।

माइतीघर मण्डलामा नेपाल चिकित्सक संघ र प्रजातन्त्रवादी प्राध्यापक संघले सुंक्त रूपमा विरोध प्रदर्शन आयोजना गर्न लागेका हुन् । संघका अध्यक्ष डा. श्रेष्ठ र प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालका अध्यक्ष जगत तिमिल्सिनाले संयुक्त विज्ञप्तिमार्फत प्रदर्शनमा सहभागी हुन चिकित्सक, बुद्धिजीवी, प्राध्यापक, पेसागत संघसंगठन र प्रजातन्त्रमा आस्था राख्ने सबैलाई अपिल गरेका छन्।

प्रकाशित: ३ श्रावण २०७५ ०८:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App