गाजामा उद्धारकार्यमा खटिएका आपत्कालीन कामदारहरू मारिएको घटनाका सम्बन्धमा प्यालेस्टिनी रेड क्रिसेन्टले नयाँ प्रमाण सार्वजनिक गरेको छ।
मृतक उद्धारकर्मीको मोबाइलमा भेटिएको भिडियोमा रातको समयमा बत्ती बलिरहेको एम्बुलेन्स र दमकलका गाडीहरूमा अन्धाधुन्ध गोली वर्षाइएको देखिएको छ।

गत मार्च २३ मा इजरायली सेनाको आक्रमणमा १५ जना उद्धारकर्मीको मृत्यु भएको थियो। संयुक्त राष्ट्रसंघ र प्यालेस्टिनी रेड क्रिसेन्टले उक्त पुष्टि गरेका छन्।
इजरायली सेनाले भने आफ्नो सैनिकहरूले ‘आकस्मिक रुपमा’ एम्बुलेन्समाथि हमला नगरेको दाबी गर्दै ‘शङ्कास्पद गाडी’ मा रहेका ‘आतङ्ककारीहरू’ माथि गोली चलाएको बताएको थियो। सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल नदाव शोशानीले बिना समन्वय र बिना बत्ती चलेका गाडीहरूलाई निशाना बनाएको बताएका थिए।

तर शनिबार सार्वजनिक गरिएको भिडियोले इजरायली सेनाको प्रारम्भिक दाबीलाई खण्डन गरेको छ। भिडियामा हेडलाइट र आपत्कालीन बत्ती बालिएका गाडीहरू लगातार गोलीबारीको बीचमा गुडिरहेको देखिन्छ।
छ मिनेट ४२ सेकेन्ड लामो भिडियोलाई सवारी साधनभित्रैबाट खिचिएको बताइएको छ। भिडियामा रातको अँध्यारोमा एउटा रातो दमकल र एम्बुलेन्सहरू गुडिरहेका बेला लगातार स्वचालित हातहतियारबाट गोली चलिरहेको सुन्न सकिन्छ। केही बेरपछि गाडीहरू सडक किनारमा रोकिन्छन् र दुई वर्दीधारी व्यक्ति ओर्लन्छन्।

त्यसक्रममा दुई जना स्वास्थ्यकर्मीको आवाज सुनिन्छ। एकले ‘गाडी, गाडी’ भनेको र अर्काले ‘शायद दुर्घटना जस्तो देखिन्छ’ भन्दै प्रतिक्रिया जनाएका छन्। केही सेकेन्डमै भीषण गोलीबारी सुरु हुन्छ र स्क्रिन कालो हुन्छ।
रेड क्रिसेन्टले मृतक उद्धारकर्मी रिफात रद्वानको मोबाइलबाट उक्त भिडियो भेटिएको जनाएको छ। ‘यो भिडियोले स्पष्ट रूपमा इजरायली सेनाले एम्बुलेन्सलाई लक्ष्य नगरेको र गाडीहरू बिना बत्ती शङ्कास्पद रुपमा आएको भन्ने दाबी गलत सावित गर्छ,’ विज्ञप्तिमा भनिएको छ।
रेड क्रिसेन्टकी प्रवक्ता नबाल फर्साखले पत्रकारहरूलाई जानकारी दिँदै इजरायली सैनिकहरूले ‘उद्धारकर्मीहरूलाई अन्धाधुन्ध र हिस्टेरिकल ढंगले’ गोली चलाएको आरोप लगाइन्।
गोलीबारीका क्रममा सैनिकहरूले हिब्रु भाषामा बोलिरहेको सुन्निएको पनि उनले बताइन्। एक उद्धारकर्मी असदको अवस्था अझै अज्ञात रहेको र उनी पक्राउ परेको आशंका व्यक्त गरिएको छ।
इजरायली सेनाका एक अधिकारीले शनिबार अबेर पत्रकारहरूसँग कुरा गर्दै मार्च २३ को बिहान दुई फरक घटनामा सैनिकहरूले गोली चलाएको जानकारी दिएका छन्।
पहिलो घटना बिहान ४ बजे भएको थियो, जसमा हमासको आन्तरिक सुरक्षाका सदस्यहरू सवार गाडीमा सैनिकहरूले गोली चलाएका थिए। उक्त घटनामा दुई जना मारिएका र एकजना पक्राउ परेका थिए। दोस्रो घटना दुई घण्टा पछि बिहान ६ बजे भएको थियो।
‘हवाई निगरानीबाट एउटा गाडी समूह रातको समयमा शङ्कास्पद ढंगले अघि बढिरहेको देखिएको थियो,’ अधिकारीले बताएका छन्।
उनका अनुसार पहिलो घटनाजस्तै दोस्रो समूह पनि आतंककारी समूह नै भएको ठान्दै सैनिकहरूले टाढाबाट गोली चलाएका थिए। ‘कुनै हात बाँधिएको अवस्था थिएन, नजिकबाट गोली हानिएको थिएन, सैनिकहरूले आतंककारी समूहसँग मुठभेड भएको ठाने,’ उनले भने।
उक्त आक्रमणमा रेड क्रिसेन्टका ८ कर्मचारी, गाजाको सिभिल डिफेन्स एजेन्सीका ६ जना र संयुक्त राष्ट्रसंघीय प्यालेस्टाइन शरणार्थी एजेन्सीका १ कर्मचारीको ज्यान गएको थियो।
उनीहरूको शव गाजाको दक्षिणी शहर राफाह नजिकै एउटा सामूहिक चिहानमा फेला परेको संयुक्त राष्ट्रसंघीय मानव सहायता संयोजन कार्यालयले जनाएको छ। हमासले इजरायली सेनाले अपराध लुकाउन सामूहिक चिहानमा शव गाडेको आरोप लगाएको छ।
उसका अनुसार पहिलो टोलीलाई बिहान आक्रमण गरिएको र त्यसपछि घाइते उद्धारका लागि गएका अन्य टोलीमाथि पनि निरन्तर आक्रमण गरिएको थियो।
भिडियामा एउटा स्वास्थ्यकर्मीलाई इस्लाम धर्मको आस्थाको मन्त्र 'शहादा' दोहोर्याइरहेको सुनिन्छ ‘अल्लाह बाहेक अरू कुनै इश्वर छैन, मोहम्मद अल्लाहका सन्देशवाहक हुन्।’
भयले काँपिरहेको आवाजमा उनले आमा समक्ष माफी माग्दै भनेका छन्, ‘आमा, मलाई माफ गर्नुहोस्, मैले मान्छेहरूको सेवा गर्ने बाटो रोजें।’ भिडियो सकिनु अघिल्लो क्षण उनी डरले भन्छन्, ‘यहूदीहरू आइरहेका छन्, यहूदीहरू आइरहेका छन्,’ र केही सेकेन्डमै भिडियो कालो हुन्छ।
प्रकाशित: २४ चैत्र २०८१ १६:०५ आइतबार