चुनाव सकिएको छ। मतगणना टुङ्गिएको छ। सरकार गठनको कसरत सुरु भइसकेको छ। तर, एउटा कुरा अझै समाप्त भएको छैन– ‘बालेन लहर’। बरु, त्यो झनै प्रस्ट, झनै प्रभावशाली र झनै गहिरो बनेर देखिएको छ।
चुनावी मैदानमा जम्माजम्मी २७ मिनेट मात्र सार्वजनिक मन्तव्य दिएका बालेन्द्र शाह अहिले मौन छन्। तर यो मौनता शून्य होइन, एक प्रकारको राजनीतिक भाष्य बनेको छ। उनका शब्दभन्दा बढी उनका सङ्केतहरू बोलिरहेका छन्। ती सङ्केतहरूले नै अहिलेको सत्ता–समीकरणलाई प्रभावित गरिरहेका छन्।
राजनीतिमा प्रायः लहरहरू चुनावसँगै उठ्छन् र परिणामसँगै हराउँछन्। तर यस पटकको ‘बालेन लहर’ त्यो सामान्य चक्रबाट बाहिर देखिएको छ। पराजित दलका नेतादेखि विजयी शक्तिका शीर्ष नेतासम्मले स्वीकार गरेको एउटा यथार्थ हो–यो चुनाव केवल दलहरूबिचको प्रतिस्पर्धा थिएन, यो एउटा ‘लहर’सँगको सङ्घर्ष थियो।
नेपाली कांग्रेसका नेता उदयशम्सेर राणाले भनेझैँ–‘हामीले रास्वपासँग होइन, बालेन लहरसँग चुनाव लडेका थियौँ।’ यो भनाइ सामान्य राजनीतिक प्रतिक्रिया मात्र होइन, हारको कारण खोज्ने क्रममा आएको एक गहिरो स्वीकारोक्ति हो। कुनै एक व्यक्तिको प्रभावले सिङ्गो देशभर चुनावी परिणामलाई प्रभावित पार्नु, नेपाली राजनीतिमा विरलै देखिएको परिघटना हो।
चुनावको नतिजा हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय ८२ सिट जितेको छ। यो आँकडा आफैँमा ऐतिहासिक छ। तर अचम्म के छ भने, पार्टीको यस्तो विशाल सफलता हुँदाहुँदै पनि चर्चा पार्टीभन्दा बढी एक व्यक्तिको भइरहेको छ । ती हुन् बालेन्द्र शाह।
यसले नेपाली राजनीतिमा ‘व्यक्तित्व बनाम पार्टी’को बहसलाई पुनः केन्द्रमा ल्याउने खालको छ। के रास्वपाको जित पार्टीको सङ्गठन, विचार र नीति कारण भएको हो? वा त्यो जित ‘बालेन’ नामक ब्रान्डको परिणाम हो?
यस प्रश्नको उत्तर सजिलो छैन। तर चुनावी अभियानको शैली, जनतासँगको प्रत्यक्ष संवादको कमी हुँदाहुँदै पनि देखिएको लोकप्रियता, र परम्परागत भाषण शैलीभन्दा फरक प्रस्तुति यी सबैले एउटा कुरा प्रस्ट पार्छन्– त्यो हो बालेनले परम्परागत राजनीतिक सूत्रहरू भत्काएका छन्।
उनले धेरै बोलेनन्, तर धेरै सुनिए। उनले भीडमा धेरै समय बिताएनन्, तर भीड उनको नाममा उर्लियो। यो ‘एण्टि–पोलिटिक्स’ शैली हो, जहाँ नेताले आफूलाई सामान्य राजनीतिज्ञभन्दा फरक रूपमा प्रस्तुत गर्छ।
चुनावपछि पनि बालेनको मौनता जारी छ। सांस्कृतिक पर्वमा दिएका एक दुई शुभकामना बाहेक उनी सामाजिक सञ्जालमा पनि मौन छन्। पार्टीका अन्तक्र्रिया कार्यक्रमहरूमा उनी अनुपस्थित छन्। सार्वजनिक अभिव्यक्ति कम छन्। तर यसको अर्थ उनी निष्क्रिय छन् भन्ने होइन। स्रोतहरूका अनुसार उनी नयाँ मन्त्रिपरिषद् गठनको गृहकार्यमा व्यस्त छन्।
यो मौनता धेरै कोणबाट विश्लेषण भइरहेको छ। केहीले यसलाई रणनीतिक मौनता मान्छन्। जहाँ नेता कम बोल्छ, तर निर्णयमा बलियो देखिन्छ। केहीले यसलाई व्यक्तित्वगत शैली मान्छन् । जहाँ उनी भीडभन्दा टाढा बसेर काम गर्न रुचाउँछन्।
तर राजनीतिक दृष्टिले हेर्दा, यो मौनताले उनको ‘मिस्टिक’ अर्थात् रहस्यमय छवि निर्माण गरेको छ। जनताले उनलाई बुझ्न खोजिरहेका छन्, र यही खोजीले उनको लोकप्रियता अझ बढाइरहेको छ।चुनावपछि सबैभन्दा चासोको विषय हो, सरकार गठनको प्रक्रिया। यसमा पनि बालेनको प्रभाव स्पष्ट देखिएको छ।
प्रधानमन्त्री बन्ने तयारीमा रहेका बालेनले १६ मन्त्रालयको प्रस्ताव अघि सारेका छन्। तर पार्टी सभापति रवि लामिछाने भने १८ मन्त्रालयकै पक्षमा छन्। यो मतभेद सामान्य देखिए पनि, यसको अर्थ गहिरो छ। पार्टीभित्र शक्ति सन्तुलन कसरी बन्दै छ भन्ने।
उपसभापति डीपी अर्यालजस्ता नेताहरू पनि अहिले रक्षात्मक अवस्थामा देखिएका छन्। गृहमन्त्रीको दाबेदार मानिएका उनी आफ्नै पद सुरक्षित गर्न सङ्घर्षरत छन्। बालेनका सहयोगी सुनिल लम्सालसँगको प्रतिस्पर्धामा उनी कमजोर देखिएका छन्।यो अवस्थाले देखाउँछ। बालेन केवल चुनाव जिताउने नेता मात्र होइनन्, उनी सत्ताको संरचना निर्माण गर्ने केन्द्रबिन्दु बन्दैछन्।
किन यस्तो भयो त ?, विगतका दशकहरूमा जनतामा परम्परागत दलहरूप्रति निराशा बढ्दै गएको थियो। यी सबैले जनतामा ‘परिवर्तन’को खोजी बढाएको थियो।बालेनले यही मनोविज्ञानलाई समाते। उनले आफूलाई ‘व्यवस्थाभित्रको बाहिरी’ रूपमा प्रस्तुत गरे। उनी पूर्णतः बाहिरी पनि होइनन्, किनकि उनी प्रणालीभित्रै छन्। तर पूर्णतः परम्परागत पनि होइनन्।
‘हामीले सोचेका थियौ यो लहर काठमाडौँसम्म सीमित होला,’ राजेन्द्र महतो भन्छन्, ‘ तर गाउँ–गाउँमा, मधेसदेखि पहाडसम्म, बालेनको नामले हावा चलेको देखियो।’ अन्य क्षेत्रका व्यक्तीको पनि यस्तै प्रतिक्रिया छ । ‘हामीले आफ्ना कार्यकर्तालाई मत हाल्न आग्रह ग¥यौँ, ’टिकापुरमा अशोक चौधरी भन्छन्, ‘तर उनीहरू आफैँ बालेनको नाममा प्रभावित भए ।’ यी भनाइहरूले देखाउँछ, यो केवल राजनीतिक लहर होइन, यो सामाजिक र मनोवैज्ञानिक परिवर्तनको सङ्केत हो।
सामान्यतया, चुनावमा पराजित पक्षले विजेताको आलोचना गर्छ। तर यस पटकको विशेषता के छ भने, विरोधीहरू पनि बालेनको प्रभावबाट प्रभावित देखिएका छन्।केहीले खुलेर प्रशंसा गरेका छन्, केहीले परोक्ष रूपमा स्वीकार गरेका छन्। तर एउटा कुरा साझा छ–कसैले पनि ‘बालेन लहर’लाई नकार्न सकेका छैनन्। यो अवस्था कुनै पनि लोकतन्त्रमा दुर्लभ हुन्छ।
इतिहासले देखाउँछ, लहरहरू स्थायी हुँदैनन्। तिनीहरू समयसँगै कमजोर हुन्छन्। तर केही लहरहरू संस्थागत परिवर्तनमा परिणत हुन्छन्।
वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले जनमत कहिल्यै पनि एक ठाउँमा नबस्ने बताउँदै कसैले पनि घमण्ड गर्नु नहुने बताएका छन्। विगतका विजेताहरू वर्तमानमा कमजोर अवस्था रहेको देखाउँदै उनले यस्तो भनेका हुन्।
‘२०१६ सालमा नेपाली कांग्रेस दुई तिहाइमा थियो। २०४८ मा गिरिजाप्रसादले एकल सरकार गठन गर्नुभयो, आखिर पार्टी नै फुट्यो,’ नागरिकसँगको कुराकानीमा ज्ञवालीले भने, ‘त्यतिखेर पनि संसद् विघटन हुन पुग्यो। अर्को निर्वाचन भयो, अल्पमतको सरकार भयो। फेरि जनमत अर्कोतिर गयो।’ त्यस्तै २०६४ सालमा माओवादीले ६०१ मध्ये २२० सिट प्राप्त गर्ने माओवादीको अवस्था अहिले यस्तो भएको देखाउँदै उनले जनताको पक्षमा काम नगरे जनमत फेरिने सुनाए।
यदि बालेनले आफ्नो लोकप्रियतालाई नीतिगत सुधार, प्रभावकारी शासन र पारदर्शितामा रूपान्तरण गर्न सके भने, यो लहर दीर्घकालीन परिवर्तनको आधार बन्न सक्छ। तर यदि यो केवल व्यक्तित्वमा सीमित रह्यो भने, समयसँगै यसको प्रभाव घट्न सक्छ।
आजको अवस्थामा हेर्दा, बालेन लहर केवल चुनावी घटना होइन । यो नेपाली राजनीतिको नयाँ अध्यायको सङ्केत हो। जहाँ परम्परागत भाषणभन्दा मौनता प्रभावशाली छ। सङ्गठनभन्दा व्यक्तित्व बलियो छ । र पुराना समीकरणभन्दा नयाँ प्रयोगहरू निर्णायक छन्।
चुनाव सकिएको छ, तर कथा सकिएको छैन। सायद यो त सुरुवात मात्र हो। एक यस्तो राजनीतिक यात्राको, जहाँ एउटा व्यक्तिले सिङ्गो प्रणालीलाई चुनौती दिएको छ। अब हेर्न बाँकी छ –यो लहर किनारामा पुगेर रोकिन्छ, वा सागरमा परिणत हुन्छ।
प्रकाशित: १० चैत्र २०८२ ०९:१५ मंगलबार




