१ वैशाख २०८२ सोमबार
image/svg+xml १६:४४ अपराह्न
राजनीति

संघीयता खारेजको माग गर्दै जनमोर्चा आन्दोलनमा

‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, सङ्घीयता खारेज गरौं’ भन्ने नारासहित राष्ट्रिय जनमोर्चाले आन्दोलन सुरु गरेको छ।

राजसंस्था पुनः स्थापनाको मागसहित आन्दोलन भइरहेका बेला जनमोर्चाले भने गणतन्त्र रक्षा हुनु पर्ने माग गर्दै सडक आन्दोलन थालेको हो।

जनमोर्चाले आइतबार जारी गरेको विज्ञप्तिमा नेपालको परिप्रेक्षकमा सङ्घीयता भने अभिशाप भएको बताएको छ। कमजोर देशका लागि सङ्घीयता देश र जनताको हितमा नभएको दोहोर्‍याउँदै उसले सङ्घीयताको प्रधान पक्ष त्यसको प्रादेशिक संरचना भएको बताएको छ।

जनमोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल जस्तो सानो, पिछडिएको, आर्थिक दृष्टिकोणले धेरै नै कमजोर देशका लागि सङ्घीयता देश र जनताको हितमा नभएको कुरा दिनको उज्यालो झैँ छर्लङ्ग छ। तैपनि विदेशी साम्राज्यवादीहरूको निहित स्वार्थ पूरा गर्न उनीहरूको दबाबमा नै नेपालका विभिन्न राजनीतिक पार्टीहरूले सङ्घीयतालाई नेपालमाथि लादेका हुन्। त्यसले देशलाई राष्ट्रिय विखण्डन, क्षेत्रीय विभाजनको स्थितिको सृजना गर्नुका साथै देशको विकासलाई पनि कुण्ठित गर्ने कुरा प्रस्ट छ। त्यसका साथै सङ्घीयताका कारणले देशमा जातीय विग्रह पैदा हुने र देश टुक्रा टुक्रा हुँदै जाने खतरातिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ।’

स्थानीय निकायलाई थप बलियो र अधिकार सम्पन्न बनाउनुपर्नेमा जनमोर्चाको माग छ। 

आन्दोलन ३० गतेसम्म जारी रहने बताउँदै जनमोर्चाले गणतन्त्र, राष्ट्रियताको रक्षा र सङ्घीयतालाई खारेज गर्नका लागि व्यापक रूपले एकताबद्ध हुन र सङ्घर्षमा उत्रन सबैमा अपिल पनि गरेको छ।

प्रकाशित: २४ चैत्र २०८१ १५:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App