राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा लगिएको छ। उनलाई यति एयरलाइन्सको विमानमार्फत आज बिहान भैरहवा लगिएको हो। लामिछाने शुक्रबार राति आफ्नै निवास काठमाडौँबाट पक्राउ परेका थिए।
आज (शनिबार) र भोलि (आइतबार) सार्वजनिक बिदा भएका कारण अब उनलाई सोमबार मात्र रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइने भएको छ। उनलाई त्यो बेलासम्म जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिने छ।
शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दाका आरोपी लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो। इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले लामिछानेलाई थुनामा पठाउने आदेश गरेका थिए।
यसअघि एक करोड रुपैयाँ धरौटीमा छाड्ने जिल्ला अदालत रूपन्देहीको आदेशलाई उच्च अदालतले बदर गरेको हो।
प्रकाशित: २३ चैत्र २०८१ ०९:५९ शनिबार