१ वैशाख २०८२ सोमबार
image/svg+xml १२:० अपराह्न
राजनीति

क्याम्पसका कर्मचारीले राजनीति गर्नु हुँदैन : मन्त्री यादव

खानेपानी मन्त्री प्रदीप यादवले विद्यार्थीका अधिकार, भविष्य र समृद्धिका लागि सकारात्मक कदम चाल्न अति आवश्यक रहेको उल्लेख गरेका छन्। आज (सोमबार) वीरगञ्ज महानगरपालिकामा समाजवादी विद्यार्थी युनियनद्वारा आयोजित होली मिलन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन्। 

विद्यार्थीहरूका चाहना, आकांक्षा र भावना अनुरूप नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा उनको जोड थियो। उनले भने, ‘विद्यार्थी राष्ट्र निर्माणका आधारशिला हुन्। उनीहरूको अधिकार, भविष्य र समृद्धिका लागि सकारात्मक कदम चाल्न जरुरी छ।’ कार्यक्रममा मन्त्री यादवले विगतको तुलनामा अहिलेका विद्यार्थी झन् सचेत, जागरुक र परिवर्तनमुखी रहेको हुँदा देश निर्माणमा उनीहरूले महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे। 

देशको भविष्य निर्माण गर्ने र परिवर्तनका संवाहक विद्यार्थीहरूलाई साथ र सहयोग गर्न आफू सँधै तयार रहेको उनको भनाइ थियो। विद्यार्थीहरूका समस्या समाधान गर्न जनता समाजवादी पार्टीसहित आफू व्यक्तिगत रुपमा सँधै प्रतिबद्ध रहेको जिकिर गर्दै उनले भने, ‘तपाईंहरूको समस्या समाधानका लागि जसपा तयार छ। तपाईंहरूलाई के सहयोग गर्नुपर्छ खुलेर जानकारी गराउनु होला। समस्या समाधानका लागि हामी सँधै तयार छौँ।’

वीरगञ्जको ठाकुराम क्याम्पसमा शुद्ध खानेपानीको व्यवस्था गरिने समेत मन्त्री यादवले विश्वास दिलाए। उनले भने, ‘ट्युबेल व्यवस्था गरेर भएपनि यस क्याम्पसमा शुद्ध खानेपानीको व्यवस्था गर्छु, यो मेरो प्रतिवद्धता भयो।’ क्याम्पसका जीर्ण रहेका भौतिक संरचनाहरूको पुर्नः निर्माण गर्ने पनि उनले जानकारी दिएका छन्। 

ठाकुराम क्याम्पसमा विद्यार्थी सँगसँगै कर्मचारीहरू पनि आफ्नो कामको जिम्मेवार हुनुपर्ने उनको भनाइ रहेको थियो। उनले भने, ‘क्याम्पसका कतिपय कर्मचारीहरू राजनीति गर्ने नेताका रुपमा प्रस्तुत हुने गरेका छन्। त्यो गलत हो। कर्मचारीले राजनीति गर्नु हुँदैन।’ क्याम्पसमा वैज्ञानिक शिक्षा प्रणाली लागू हुनु पर्ने मन्त्री यादवको भनाइ थियो। 

उनले ठाकुरराम क्याम्पसमा आउँदो चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न गर्नुपर्ने बताएका छन्। विद्यार्थीहरूलाई विगतका कमजोरी सुधार गर्दै, रिसराग त्यागेर निर्वाचनमा संलग्न हुन मन्त्री यादवको अनुरोध छ। सो अवसरमा उनले रङ्ग र उमङ्गको पर्व होलीको समेत सबैमा शुभकामना पनि व्यक्त गरेका छन्। 

प्रकाशित: २६ फाल्गुन २०८१ १५:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App