१ वैशाख २०८२ सोमबार
image/svg+xml ११:१४ पूर्वाह्न
राजनीति

दाहाल साँच्चिकै हर्क र बालेनलाई आफ्नै मान्छे ठान्छन् ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधवार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई(हर्क साम्पाङ)लाई आफ्नै मान्छे ठानेको बताएका छन्। बुधवार अकस्मात् काठमाडौं हिँडेका दाहाललाई विराटनगर विमानस्थलमा पत्रकारले प्रश्न तेर्स्याउँदा दाहालले यस्तो बताएका हुन्। 

पत्रकार भेटघाटमा दाहाल शासकीय स्वरूप फेर्नुपर्ने प्रसङ्गमा कुराकानी गरिरहेका थिए। ‘यो देशमा साँच्चै भ्रष्टाचार रोक्ने, सुशासन र विकास खोज्ने हो भने यो सिस्टम सुहाउँदो शासकीय स्वरूप चाहिन्छ। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिन्छ,’ दाहालले भने । उनी यसो भनिरहँदा पत्रकारले टुप्लुक्क प्रश्न तेर्स्याए, ‘त्यो हर्क साम्पाङ जस्तो मान्छे जितेर गयो भने नि ?’ धरान उपमहानगरपालिकामा काम र अभिव्यक्तिको शैलीले विवादित रहँदै आएका हर्कको प्रवृत्तितर्फ इङ्गित गर्दै पत्रकारले उक्त प्रश्न सोधेका थिए। 

त्यसपछि दाहालले प्रश्न खस्न नपाउँदै भने, ‘केही फरक पर्दैन, के फरक पर्छ र? हर्क साम्पाङ आए नि केही फरक पर्दैन, बालेन आए नि केही फरक पर्दैन। अरू आए नि फरक पर्दैन ।’ आफूले उनीहरूलाई लोकतन्त्रका फूलबारीका फूल भनी नै सकेको उनले स्मरण गराए। ‘म त्यहाँबाट दायाँबायाँ छैन। त्यसो भएर त म उनीहरूलाई आफ्नै मान्छे ठान्छु,’ दाहालले थपे। 

दाहालले यो बोली बोलेको पहिलो पटक भने होइन। यसअघि दुई पटक उनले यस्तै खाले अभिव्यक्ति दिएका छन्। दुवै पटक उनले राजनीतिक स्वार्थ प्रेरित भएर यो अभिव्यक्ति दिएका थिए। 

पहिलो पटक दाहालले स्थानीय तह निर्वाचन सकिएर बालेन र हर्क जिते लगत्तै २०७९ जेठ १४ गते यही प्रकृतिको अभिव्यक्ति दिएका थिए। 

प्रतिनिधिसभामा सम्बोधन गर्दै त्यो दिन उनले बालेन र हर्कलाई बधाई र धन्यवाद दिँदै राजनीतिक दलसँग सहकार्य गरेर जान आग्रह गर्दै शुभकामना दिएका थिए।

‘मेरो बिचारमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीभित्र काठमाडौँ र धरानमा दुई वटा नयाँ फूलहरू फक्रिएको ठान्छु म,’ दाहालले भनेका थिए,‘फूलबारी सङ्घीय लोकतान्त्रिक गणतन्त्रकै हो । यही संविधानकै फूलबारीभित्र हो ।’ 

दोस्रो पटक दुई वर्षपछि २०८१ असोज २० गते दाहालले फेरि उही कुरा दोहोर्‍याए। त्यो पटक चितवन पुगेर उनले यस्तो बोलेका थिए।‘

‘....त्यो सत्य होइन, एउटा सत्य के हो भने मैले बालेन र हर्कले चुनाव जित्दा लोकतन्त्रका नयाँ फूलहरू हुन यिनलाई संरक्षण गर्नुपर्छ भनेको हुँ। त्यो भनाई प्रति दृढ छु,’ उनले भनेका थिए। 

स्वार्थ प्रेरित बोली 

दाहालले बालेन र हर्कलाई ‘आफ्नो मान्छे’ भन्नु र लोकतन्त्रका फूलहरू भन्नु नयाँ राजनीतिबाट जनताको ध्यान खिचेर विषाक्त पार्नु रहेको अधिवक्ता ओमप्रकाश अर्याल टिप्पणी गर्छन्।  

‘बालेनजी भनेको उहाँ(पुराना नेता)हरुको विषाक्त राजनीतिक विरुद्धको नयाँ आवाज हो,’ अर्यालले भने, ‘आफ्नै हो भन्ने जस्ता बोलीले जनतामा भ्रम सिर्जना गरेर उहाँलाई पनि विषाक्त पार्न सकिन्छ कि भन्ने भ्रममा प्रचण्ड जी सुनिनुभयो।’ 

अधिवक्ता ओमप्रकाश अर्याल

दाहालको उपयोगितावादी सिद्धान्तको नयाँ अभ्यासका रूपमा यी बोलीलाई अधिवक्ता अर्याल अर्थ्याउँछन्। उनी भन्छन्,‘प्रचण्डजीले आफ्नो सत्ता स्वार्थको उपयोगिताका लागि कुनै शक्ति बाँकी राख्नुभएको छैन। भूराजनीतिक शक्तिदेखि, विखण्डनवादी, अपराधी, आततायी शक्तिसँग पनि जोडिनुभयो। अहिले बालेनजीहरुको लोकप्रियताको उपयोग गर्ने नयाँ अभ्यास हुनसक्छ।’ 

‘आफ्नो ठानिएको मान्छेलाई कोही पक्राउ गर्न खोज्छ त ?,’ अधिवक्ता अर्यालले प्रश्न गर्दै भने,‘उहाँले आफू प्रधानमन्त्री हुँदा बालेनजीलाई पक्राउ गर्न खोजेको तथ्य सिके राउतजीले खुलासा गरिसक्नु भएकै छ।’ 

अधिवक्ता अर्यालले भनेजस्तै दाहालका यी बोली उनलाई स्वार्थ आवश्यक परेकै बेला सुनिएका छन्। २०७९ जेठ १४ गतेको अभिव्यक्ति दिँदा नजिक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउँदै थियो। त्यति बेला बालेन र हर्कका पक्षमा सामाजिक सञ्जालमा समर्थनको एक किसिमको उभार थियो। जसको ‘सेन्टिमेन्ट’ बटुल्न नै दाहालले त्यो अभिव्यक्ति दिएका थिए। त्यो बेला ‘लोकतन्त्रको सुन्दर फूल’ भन्ने मिठो अभिव्यक्ति दिँदै उनले ‘राजनीतिक दलसँग सहकार्य गरेर जान’ खुला आग्रह गरेका थिए। 

त्यसपछि दाहालले अर्को अभिव्यक्ति दिँदा उनी सत्ताबाट हुत्तिएर सडकमा पुगेका थिए। जसमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भन्दै नभनेको बुट्टा थपेर ‘हुन त प्रधानमन्त्रीले एक दुई ठाउँमा भन्नु पनि भयो, बालेनलाई रविलाई, दुर्गा प्रसाईँलाई सब प्रचण्डले चलाएको छ भनेर..।’ भन्ने ब्यहोरा जोडेर अभिव्यक्ति दिएका थिए। 

यसमा दाहालले सामाजिक सञ्जालमा ‘लोकप्रियतावाद’को अभ्यास गरिरहेका नेताहरूको आफू समर्थक रहेको जनाउँदै विरोधी भनेको ओली नै हो भन्ने आशय दिन खोजेको सुनिन्छ। 

साँच्चै समर्थक हुन भने..? 

अधिवक्ता अर्यालको बुझाइमा दाहालले साँच्चै बालेनलाई आफ्नो मान्छे ठान्ने भए उनलाई पक्राउको प्रयास नै नगर्ने बताउँछन्। 

‘आफ्नो ठानिएको मान्छेलाई कोही पक्राउ गर्न खोज्छ त ?,’ अधिवक्ता अर्यालले प्रश्न गर्दै भने,‘उहाँले आफू प्रधानमन्त्री हुँदा बालेनजीलाई पक्राउ गर्न खोजेको तथ्य सिके राउतजीले खुलासा गरिसक्नु भएकै छ।’ 

०८० भदौमा मेयर बालेनले ‘सिंहदरबार जलाउने’ भन्ने आशयको अभिव्यक्ति फेसबुकमा राखेका थिए। त्यस बेला प्रधानमन्त्री रहेका दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालेनलाई पक्राउ गर्ने योजना बनाएको एक टेलिभिजन अन्तर्वार्तामा राउतले खुलासा गरेका थिए। 

‘बडो गोप्य तरिकाले बैठक बसेको थियो। एजेन्डा थाहा थिएन । बैठकमा प्रधानसेनापतिदेखि प्रहरी प्रमुख र उपत्यकाका तीनै वटा जिल्ला सिडिओहरू थिए,’ अन्तर्वार्तामा राउतले भनेका छन्, ‘यहाँ पुगेपछि थाहा भयो। काठमाडौंका मेयर बालेन शाहले लेखेको स्ट्याटसका कारण उनलाई पक्राउ गरौँ भनेर बैठक डाकिएको रहेछ।’ त्यति बेला काठमाडौं मेयरलाई कुनै हालतमा पक्राउ गर्न हुँदैन भनेर आफूले सल्लाह दिएको राउतले भनेका छन्। त्यति बेला कांग्रेस सभापति शेरबहादुर देउवाले बालेनलाई पक्राउ गर्न रोकेको उनले खुलाएका छन्। 

‘लोकतन्त्र छ, यस्तो बोलिराख्छन् भनेर देउवाजीले भन्नुभयो। बोल्दैमा कहाँ आगो लगाइदियो त! बोल्दैमा के हुन्छ! बोल्न पाउनुपर्छ भन्ने उहाँको भनाइ थियो,’ राउतले भनेका छन्।

अधिवक्ता अर्याल सत्तामा हुँदा साथ सहयोग नगर्ने, उल्टै पक्राउ खोज्नेले सद्भाव पनि राख्न नसक्ने दाबी गर्छन्। 

उता धरानका मेयर हर्क साम्पाङको अवस्था पनि काठमाडौं भन्दा फरक छैन। उपमहानगरमा हर्कको सबैभन्दा ठुलो द्वन्द्व माओवादी केन्द्रकै जनप्रतिनिधिहरूसँग छ। जहाँ उपमेयर अइन्द्रविक्रम बेघासँगै हर्कको सबैभन्दा ठुलो द्वन्द्व छ।

प्रकाशित: १४ फाल्गुन २०८१ १६:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 25 %
क्रोधित 75 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App